कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित सावित्रा चौक जग्गा काण्ड झन पेचिलो बन्दै गइरहेको छ । शुरुका जग्गाधनी भनिएका जयनारायण ढुंगानालाई ३ कठ्ठा र निजकी छोरीका नाममा ५ कठ्ठा जग्गाको पुर्जा वितरण भएको पाइएपछि अहिले सावित्रा चौकको सो जग्गामा वर्षौंदेखि बस्दै आएका २५ घर भूमिहीन सुकुम्बासी भने मर्कामा परेका छन् । ढुंगानालाई धनीपुर्जा मिल्दा भूमिहीन सुकुम्बासी भने रित्तो हात बस्नुपरेको छ ।
तिलक पाण्डेको अध्यक्षतामा रहेको भूमि आयोग झापाले ८ कठ्ठा जग्गा ढुंगाना र निजकी छोरीको नाममा धनीपुर्जा दिएर सुकुम्बासीहरुले पाउनुपर्ने जम्मा १९ कठ्ठामध्येको ११ कठ्ठा जग्गालाई सरकारको नाममा राखेपछि थप अन्यौलता बढेको छ । सुकुम्बासीहरुका नाममा भूमि आयोगबाट जग्गा नापजाँच भइ फिल्डबुक समेत भएको थियो । वडा कार्यालयको प्रतिनिधिका रुपमा वडा सदस्य ओम कुमार प्रधानको रोहवर र भूमि आयोगका तर्फबाट अमिन मनोज यादवले जग्गा नापजाँचको काम गरीसकेपछि फिल्डबुकको काम सम्पन्न भएको थियो । तर सोहीअनुसार वडा कार्यालयबाट सुकुम्बासीको नाममा जग्गा धनीपुर्जा दिन सिफारिस भइसकेको बेलामा पाण्डे अध्यक्ष रहेको आयोग विघटन भएपछि सुकुम्बासीहरुले पुर्जा नपाएको जानकारहरु बताउँछन् ।
२०७९ साल कार्तिक २९ गते कमल–५ का वडाध्यक्ष लाल बहादुर (एलबी) विष्टले भूमि आयोग झापालाई २५ घर परिवार सुकुम्बासी रहेको भन्दै तिनीहरुका नाममा जग्गा धनीपुर्जा दिन सिफारिस गरेका थिए । तर सो सिफारिस भूमि आयोग झापा नपुग्दै र कारवाहीको काम हुन नपाउँदै आयोग विघटन भएपछि सुकुम्बासीहरु धनीपुर्जा पाउने कार्यबाट विमुख भएका हुन् । सो ठाउँमा रहेको साविक तोपगाछी ४ प कित्ता नम्वर ७७ को १९ कठ्ठा १ धुर जग्गाको बाँडफाँट व्यवस्थापन गर्ने सम्झौता २०७३ साल माघ २० गतेका दिन साविकको लखनपुर गाविसका तत्कालिन सचिव राजकुमार शाक्यको अध्यक्षतामा बसेको स्थानीय राजनीतिक दल, बुद्धिजीवी र जग्गाधनीबीचको आपसी छलफल र बैठकबाट भएको थियो । तर सोअनुसार पाण्डे आयोगबाट ढुंगाना परिवारको नाममा मात्र ८ कठ्ठा जग्गाको धनीपुर्जा आउनु तर सुकुम्बासीहरुको नाममा पुर्जा नआउनुले निराशा मात्र दिएको स्थानीय सुकुम्बासीहरुले जनाएका छन् । कमल–५ का वडाध्यक्ष विष्ट भने बाँकी रहेको ११ कठ्ठा जग्गा सरकारको नाममा गएकाले अब अहिले बनेको नयाँ आयोग जुन एमाले जिल्ला नेता मदन अधिकारीको अध्यक्षतामा बन्दैछ, त्यसबाट सम्बन्धित सुकुम्बासीहरुको नाममा ल्याउन सहज हुने बताउँछन् । अब भने सुकुम्बासीहरुले सरकारलाई बुझाउनुपर्ने राजश्व रकम समेत बुझाउनु नपर्ने या बुझाउनुपरे पनि न्यून मात्र दिनुपर्ने भएकाले झन सहज भएको उनको भनाई छ । त्यसका लागि वडा कार्यालयले सिफारिसका लागि सबै कार्य सकेकाले पुनः उनीहरुका नाममा आयोगले काम थालेपछि जतिसक्दो चाँडो सिफारिस गरिने बताए । बाँकी रहेको ११ कठ्ठा जग्गा २५ घर सुकुम्बासीहरुका नाममा पार्न र सकेजति चाँडो धनीपुर्जा दिलाउने कार्यमा आफूहरु समेतले पहल गर्ने वडाध्यक्ष विष्टले प्रष्ट पारे ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले भने वास्तविक सुकुम्बासीले प्रकृयाअनुसार जग्गा पाउने तर कसैले धनीपुर्जा दिलाईदिन्छु भनेर पैसाको लेनदेन गरे कारवाही गरिने चेतावनी दिएका छन् । सुकुम्बासीहरुलाई न्यायोचित रुपमा नियमअनुसार जग्गाको धनीपुर्जा दिने काम भूमि आयोगले गर्ने कुरामा विश्वस्त हुन पनि उनले आग्रह गरे । सावित्रा चौकको सो जग्गा काण्ड निकै पुरानो जग्गा व्यवस्थापानको काण्ड हो । जयनारायण ढुंगानाको नाममा रहेको भनिएको सो जग्गामा वर्षौंदेखि सुकुम्बासीहरु बसोबास गर्दै आएका छन् । ढुंगानाले आफ्नो भाग पाएपछि बाँकी रहेको जग्गा स्वतः सुकुम्बासीले पाउनुपर्ने र त्यसका लागि प्रक्रिया अघि बढाउन पनि बाटो सहज भएको कतिपयको भनाई छ । तर ढुंगाना र निजकी छोरीको नाममा जग्गाको धनीपुर्जा दिने आयोगले सम्बन्धित सुकुम्बासीहरुलाई जग्गा दिने कुरामा किन ढिलाइ ग¥यो यो भने प्रश्नको विषय बनेको छ ।
यहाँको जग्गा प्रति सुकुम्बासी कम्तीमा ६ धुरका दरले पाउने गरी भाग पनि लगाइसकिएको छ । त्यसैले अब अधिकारी आयोगले सकेजति चाँडो स्थानीय सरकारको सिफारिस लिएर सुकुम्बासीहरुलाई जग्गाको धनीपुर्जा दिने कामलाई तदारुकताका साथ अघि बढाउनुपर्ने जानकारहरुको भनाई छ ।