कमल/ झापाको कमल गाउँपालिका–३ स्थित केर्खामा रहेको रतुवामाई वृक्षारोपण आयोजना कर्मचारीहरुले महिनौंदिनदेखि तलव भत्ता लिन नपाएको खुल्न आएको छ । समयमा काठ दाउरा विक्री नभएकाले र परियोजना केन्द्रीय सरकारले हेर्ने भएको हुँदा माथिबाट रकम निकासा नहुँदा तलब भत्ता पाउन नसकिएको परियोजना कार्यालय स्रोतले बताएको छ । मानिसहरुले काठ, दाउराको विकल्पमा फलामका सामग्री जस्तै ग्रील, आलुमिनियम, सिसा, पकाउनका लागि ग्यास चुल्हो प्रयोग गर्न थालेपछि काठ दाउराको विक्रीमा कमी आएको र आवश्यक रकम संकलन हुन नसकेकाले पनि तलब भत्ता अपुग हुँदा सो समस्या आइपरेको बताइएको छ ।
सो आयोजनामा हाल ९ जना स्थायी र ज्यालादारीका गरी ४३ जना कर्मचारी रहेका छन् । उनीहरुका लागि मासिक १६ लाख जति रकम तलबभत्तामा खर्च हुने गर्दछ । तर त्यो रकम बराबरको आम्दानी नहुँदा आयोजनाका कर्मचारीहरुलाई तलब भत्ताको रकम दिन नसकिएको रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख भक्ति गौतमले स्वीकार गरे । आयोजना स्वायत्त निकाय हो, यसलाई केन्द्र या अन्य कुनै पनि तहको सकारबाट तलब भत्ताको लागि रकम निकासा हुने गरेको छैन र त्यो प्रावधान पनि छैन । तैपनि अघिल्लो आर्थिक वर्षमा संघीय सरकारको वन मन्त्रालय अन्तर्गत कर्मचारीको तलब भत्ताका लागि अनुदान रकम आएको थियो ।
यसपाली भने कतैबाट पनि अनुदान नआएको र आयोजनाको आफ्नो आम्दानी पनि न्यून भएका कारण समस्या भएको आयोजना प्रमुख गौतमले जनाएका छन् । आयोजनाका कर्मचारीहरुले विगत ६ महिनाभन्दा बढीदेखिको तलब भत्ता नपाउँदा उनीहरु समेत निराश हुन थालेको बुझिएको छ ।
