कक्षा १२ पढिसक्दा युवा पलायन हुने क्रमले क्याम्पसहरु संकटमा पुगेको प्रसंग धेरैको मुखमा हरेक दिन जपेकै हुन्छन् । उनीहरुले यो पनि भन्ने गरेका छन् कि देशमा भएका संभावनालाई उजागर गर्दै युवाशक्तिलाई स्वदेशमै केही गर्न उत्प्रेरित गर्न आवश्यक छ । अर्को तथ्य के पनि छ भने नेपालमा राजगारदाताहरुले युवा शक्तिलाई रोजगारी दिने क्रममा स्किल म्यान पावर नपाउने गरेको गुनासो पनि गरेका छन् । एकातिर दक्षता छैन, दक्षता विनै विदेश पलायनको डरलाग्दो चित्र देखिएको छ भने अर्कोतिर स्वदेशभित्र स्किल रोजगार पाउँदैन भनेपछि यहाँ कमिकमजोरी कहाँ छ भन्ने हेक्का हुन जरुरी देखिन्छ । योग्यता अनुसारको रोजगारी र सोही अनुसारको पारिश्रमिक पाइएन भनेर विदेश पलायन हुनेको भिड हरेक दिन बढ्दो छ भने अर्कोतिर नेपालमा स्किल म्यानपावरको अभाव रहेको उद्यामी व्यवसायीको भनाई रहेको छ । यस्तो दोबाटोमा उभिएको नेपालको रोजगारलाई सहि लिकमा ल्याएर नेपालमा आवश्यकता अनुसारको म्यानपवरले काम गर्न सक्ने क्षमताको विकासमा कसरी कमी भएको छ । उनीहरुलाई नेपालभित्र रोजगारी पाउन र रोजगारदातालाई स्किल म्यान पावर पाउन किन कठिनाई भईरहेको छ भन्ने कुराको टुंगा लगाएर सोही अनुसारको प्राविधिक तालिम वा विद्यालय र विश्वविद्यालयस्तरका शैक्षिक रुपान्तरणमा पनि सोच्ने पो हो कि ?
फेरी अर्को तथ्य पनि छ । केही दिन अगाडि एमबीबीएस डाक्टरहरुले नेपालमा ठूलो लगानीमा अध्ययन पुरा गरेपछिको उनीहरुको रोजगारीको गन्तव्य सयप्रतिशत नै विदेश जाने भन्ने निस्केको समाचार सुन्नमा आएको थियो । डाक्टर, नर्स, इन्जिनियर, पाइलटलगायत दर्जनौं स्किल पदहरु जो राज्यका निम्ति अति आवश्यक देखिन्छ त्यस्ता पदमा पनि रोजगारी पाउने तर उनीहरुको चाहना र इच्छा विदेश जाने नै हुनुमा कमजोरी कसको छ ? राज्य, शिक्षा, वा व्यक्तिमा त्यो पनि निक्र्योल गर्न आवश्यक देखिन्छ । शैक्षिक क्षेत्रबाट र अबौं रकम बाहिरिएका तथ्य बाहिरिएको छ । त्यो रकम किन गयो । गएको रकमको सदुपयोग कहाँ भईरहेको छ । शैक्षिक क्षेत्रमा लगानी गरेर गएकामध्ये कतिले लक्ष्य पुरा गरेका छन र कतिले अधकल्चो शैक्षिक स्तर कायम गरेका छन भन्ने तथ्याङ्क पनि सरकारसँग हुन आवश्यक देखिन्छ । गएकाहरु के कस्ता विषय पढ्न गएका हुन उनीहरुको प्रगति कस्तो छ ? आर्थिक रुपबाट र शैक्षिक रुपबाट त्यसको खोजविन पनि आवश्यक छ । साथै हरेक वर्ष शिक्षाका लागि गएकाहरु कति पलायन (नफर्किने) गरी भए र कति फर्केका छन भन्ने हेक्का वा तथ्याङ्क सरकारसँग हुन आवश्यक छ ।
पछिल्लो समयमा युवाशक्तिमा निराशा झन झन बढ्दै गएको देखिन्छ । अस्थिर राजनीति, आर्थिक संकट र कोरोनाकालदेखि बढ्दै गएका अनेकन समस्याले युवा जोशमा होस देखिँदैन । उनीहरुको एउटै सन्दर्भ हुन्छ विदेश जाने । युवा शक्तिको डरलाग्दो तथ्याङ्क बेला बेला रोजगार विभागले पेश गर्ने गरेको छ । यतिसम्म की चाडपर्वको मुखमा पनि परिवार छोडेर विदेश हिंडेका युवाको लर्को सामाजिक सञ्जालमा भाइरल बनेका छन् । हरेक नेताले हरेक दिन भाषणमा युवाको विदेश मोहको लर्कोलाई उजागर गरेको सुनिन्छ तर यसलाई रोक्ने भिजन र उनीहरुलाई जगाउने आशा कसैबाट आउन सकेको छैन । विदेशबाट फर्किएका केही युवाहरुले कृषिप्रति गरेका सफलताका कथाहरु पनि हामी बेला बेला तिनै युवाहरुमा इच्छाशक्ति जगाउन र उनीहरुमा मातृभूमिप्रतिको मोह जगाउन गरिएका यि सञ्चार माध्यमबाट प्रयत्नहरु नै काफि हुँदैनन । खास गरेर सामान्य मानिस ५०/६० हजार कमाईकै लागि खाडी मुलुक हानिने गर्नु र पढेलेखेका र धेरै खर्च गरेर अध्ययन सकेका विद्यार्थीहरुलाई रोजगारी नहुनु नै उनीहरुको वितृष्णा र नैराश्यताको उपज हो भन्दा अत्युक्ति नहोला । शुक्रबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीका भाषणहरु आइरहेका थिए अब युवाका निम्ति हामी बन्द भएका कलकारखाना खोल्दैछौं । उद्योग धन्दाहरु, आइटीलगायतका विविध क्षेत्रबाट रोजगारी अब नेपालमै पाउने वातावरण दिनेछौं । तर ति गफ सुनेको नेपाली युवाहरुले झण्डै ४ दशक भईसकेको छ । अब व्यवहारमा उतार्ने गरी काम अगाडि बढाउन आवश्यक छ । विदेश पलायन भए भनेर निराशावादी भाषण गरेर मात्र नपुग्ने र यसलाई आशा र उर्जामा परिणत गर्न राज्यको दायित्व महत्वपूर्ण देखिन्छ । त्यसतर्फ राज्यको ध्यान जानु र इच्छाशक्तिका साथ तदारुकता देखाउन आवश्यक छ ।