दमक/ पार्टी विभाजनपछि राजनीतिक प्रतिष्पर्धीसमेत भईसकेका राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरणको प्रसँग निस्किएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको तीन वर्ष पुग्न लागेका बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूसँग संवादमा जुटेका छन् । पृथ्वीजयन्ती नजिकिएका बेला अध्यक्ष थापाले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद बढाएका हुन् ।
नजिकिएको पृथ्वी जयन्तीको कार्यक्रम दुवै पक्षबाट फरक फरक गर्ने गरी तय भए पनि त्यसकै सेरोफेरोमा एकताको सन्देशसहितका सकारात्मक कुरा बाहिर आउनुले समग्र राजा, हिन्दु राज्यको पक्षमा उभिएका आम नेता र कार्यकर्तालाई उत्साहित बनाएको छ । विभिन्न समयमा टुट, फुट र जुटको नीति अख्तियार गर्दै आएका यि शक्तिबीच पुनः एकताको पक्षमा वकालत गर्दै राप्रपा नेपालका कमल थापाले अगुवाई गरेको बताउँछन् ।
बुधबार मिडियासँग कुराकानी गर्दै अध्यक्ष थापाले आफूले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद गरेको बताएका हुन् । अध्यक्ष थापाले पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, उत्तम पौडेल, मोहन श्रेष्ठलगायत नेताहरूसँग पार्टी एकतालगायत विषयमा कुराकानी गरेका हुन् ।
‘मैले राजेन्द्र लिङ्देनजीलगायत नेताहरूलाई भेटेर पार्टी एकता गर्न ढिलो नगरौं, अहिले परिस्थिति अनुकूल भएको छ,’ अध्यक्ष थापाले सञ्चारमाध्यमलाई बताए । उनले भने– ‘राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू छरिएर रहँदा हाम्रो जनाधार कमजोर हुँदैछ, त्यसकारण एकताको पहल गरौं भनेर मैले कुराकानी गरेको हुँ।’ आफूले राप्रपा नेताहरूसँग पार्टी एकताबारे कुरा गर्दा जबाफ सकारात्मक आएको पनि थापाले जानकारी दिए । ‘कुराकानी सकारात्मक नै छन् तर उहाँहरूले स्पष्ट जबाफ दिनुभएको छैन,’ अध्यक्ष थापाले भने ।
पार्टी एकताको दिशामा ठोस प्रयास गर्न भने बाँकी नै रहेको उनको भनाइ छ। यसबारे राप्रपाका नेताहरूसँग कुराकानी गर्दा दुई पार्टीका नेताहरूबीच संवाद अघि जानकारी आएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि ‘विचार मिल्ने शक्ति राप्रपा नेपालमात्र होइन, अन्य समूह वा व्यक्तिहरूसँग पनि राप्रपाको संवाद भइरहेको छ,’ श्रेष्ठले भने, ‘राप्रपाको गत भदौकै केन्द्रीय समितिले विचार मिल्नेसँग एकता र सहकार्यको निर्णय गरिसकेको थियो ।’
प्रवक्ता श्रेष्ठले पनि आफूहरू राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरूसँग मिल्दै अघि बढ्ने पक्षमा रहेको बताएका छन् । २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी भएका थिए । अध्यक्षमा पराजित भएपछि २०७८ माघ २५ गते थापाले गृहजिल्ला मकवानपुर पुगेर ’अत्यन्त भारी मन र पीडाबोधका साथ राप्रपाबाट अलग हुने निर्णय गरेको’ भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । राप्रपा अध्यक्षमा पराजित हुनुमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका देखाउँदै असन्तुष्टि जनाएका थिए। महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले चलखेल गर्दा आफू पराजित भएको त्यसबेला थापाको भनाइ थियो । त्यसको एक सातामै थापाले राप्रपा नेपाल पार्टी ब्युँत्याएर अध्यक्ष बने । त्यसबेला राप्रपा नेपालले राजसंस्था पुनस्र्थापनालाई पार्टीको कार्यनीति नै बनाएनन् । २०७८ फागुन १ गते थापाले राप्रपा नेपाल ब्युँताउँदै राजसंस्थाको एजेन्डा छाडेर हिन्दुराष्ट, सुशासन र समृद्धिलाई पार्टीको मूल एजेन्डा घोषणा गरेका थिए । तर यसबीचमा भएका स्थानीय, प्रदेश र संघीय चुनावमा राप्रपा नेपालले राम्रो मत ल्याउन सकेन। २०७९ मंसिरमा भएको संघीय चुनावमा देशैभरबाट समानुपातिकतर्फ राप्रपा नेपाललाई करिब ११ हजार मत मात्रै आएको थियो भने लिङ्देन नेतृत्वको राप्रपाले प्रतिनिधि सभामा १४ सिट ल्यायो । राप्रपा नेपालका अध्यक्षसहित सिंगो पार्टी नै राप्रपासँग एकताका लागि सकारात्मक देखिए पनि राप्रपाभित्र भने फरक–फरक धारणा भएकोले निर्णयमा पुग्न सकेको छैन । राप्रपाका एक पदाधिकारीका अनुसार विचार मिल्नेहरूसँग एकता गर्ने भए पनि नेता व्यवस्थापनलगायत विषय पेचिलो हुने देखिन्छ ।