दमक/ खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परेपछि दमक नगरपालिकाले ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित गर्न सरोकारवालासँग छलफल गर्दै अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको छलफलमा ग्यासको नियमित आपूर्ति नहुँदा दैनिक जीवन प्रभावित भएको भन्दै कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि तत्काल कदम चाल्ने सहमति भएको हो । नगरपालिकाले व्यवसायीलाई आफूले प्राप्त गरेको ग्यास सिलिण्डर सहज रूपमा उपभोक्तालाई वितरण गर्न निर्देशनसमेत दिएको छ ।
नगर प्रमुख थापाले ग्यासको अभावका कारण विशेषगरी डेरामा बस्ने विद्यार्थी, बिरामी तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएको गुनासो आउने गरेको बताउनुभयो । उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्ति सहज
बनाउन स्थानीय तहले चासो दिनुपरेको उनको भनाइ छ । “ग्यासको नियमित र सहज आपूर्ति नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको गुनासो आएको छ । त्यसैले समस्या कहाँबाट भइरहेको छ भन्ने पहिचान गरी समाधानका लागि सबै पक्षसँग छलफल गरेका हौँ,” उनले भने ।
छलफलमा ग्यास व्यवसायीहरूले भने बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन आफूहरूले मात्र चाहेर सम्भव नहुने बताएका छन् । उद्योगबाटै अपेक्षित मात्रामा ग्यास आपूर्ति हुन नसकेको उनीहरूको भनाइ छ । ग्यास विक्रेता संघ झापाका उपाध्यक्ष टंक ढकाल र दमकका अध्यक्ष तिलक डाँगीले आपूर्ति तहमा देखिएको समस्याका कारण डिलर तथा व्यवसायीसमेत अप्ठ्यारोमा परेको बताए । व्यवसायीहरूले कतिपय अवस्थामा पहुँचका आधारमा ग्यास उपलब्ध गराउन दबाब आउने गरेको समेत बताएका छन् । उनीहरूले उद्योगदेखि डिलर हुँदै उपभोक्तासम्म ग्यास पुग्ने प्रणाली पारदर्शी र व्यवस्थित बनाउनुपर्ने माग गरेका छन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले ग्यास अभावलाई व्यवसायीको मात्र समस्या भनेर बुझ्न नहुने बताए । उद्योग, आपूर्तिकर्ता, व्यवसायी, प्रशासन र स्थानीय तहबीच प्रभावकारी समन्वय भएमा मात्र समस्या समाधान गर्न सकिनेमा उनको जोड थियो । नगरपालिकाले साउन २७ गतेदेखि सरोकारवाला निकायसँग समन्वय गरी ग्यास वितरणको अनुगमन गर्ने निर्णय गरेको छ । व्यवसायीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै, ग्यास अनावश्यक रूपमा भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र प्रयोग गर्न नगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ । उत्पादक कम्पनीलाई यस क्षेत्रका डिलरलाई नियमित रूपमा सिलिण्डर उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।
उत्पादक कम्पनीले डिलरबाहेक अनधिकृत व्यक्तिलाई ग्यास उपलब्ध गराएको पाइएमा सम्बन्धित कम्पनीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णयसमेत गरिएको छ ।
छलफलमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, दमक उद्योग वाणिज्य संघ, ग्यास व्यवसायी संघ, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीलगायत सरोकारवालाको सहभागिता थियो । नगरपालिकाले ग्यासको आपूर्ति र वितरणमा देखिएको समस्या समाधान गर्दै उपभोक्ताले सहज रूपमा सिलिण्डर पाउने अवस्था बनाउन सबै पक्षसँग सहकार्य गर्ने जनाएको छ ।
कम तौल भेटिए पछि झण्डै तीन लाख जरिवाना
देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएका बेला मोरङको बुधिगंगास्थित कोशी ग्यास उद्योगमा कम तौलका सिलिण्डर भेटिएपछि उद्योगलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ । बजारमा ग्यास नपाएर उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेकै बेला गरिएको अनुगमनमा उद्योगमै कम तौलको ग्यास भेटिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार बुधिगंगा गाउँपालिका–४ स्थित उद्योगमा रहेका १४३ भरिएका सिलिण्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा १३.७४४ किलोमात्र ग्यास भेटिएको थियो । कम तौलको ग्यास बिक्री वितरण गरेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो । बाँकी ६३ सिलिण्डरको हकमा समेत कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ ।
अनुगमनका क्रममा १० वटा खाली सिलिण्डरको तौल परीक्षण गर्दा नौ वटामा तोकिएकोभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौल भेटिएको थियो । प्रशासनले यसबाट उद्योगबाट उत्पादित तथा वितरण गरिएका सिलिण्डरमा कम तौलको ग्यास राखिएको हुनसक्ने जनाएको छ ।
देशका अन्य क्षेत्रमा पनि ग्यास लुकाउने, बढी मूल्यमा बिक्री गर्ने तथा अनावश्यक रूपमा सिलिण्डर भण्डारण गर्ने गतिविधि भेटिएका छन् । बाँकेको नेपालगन्ज–११ मा १३ वटा ग्यास सिलिण्डर लुकाएर राखेको भेटिएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । भक्तपुरको दुवाकोटमा प्रतिसिलिण्डर ७ हजार रुपैयाँसम्ममा ग्यास बिक्री गरेको आरोपमा एक पसल सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा पनि बजार अनुगमन तीव्र पारिएको छ । ललितपुर र काठमाडौंका विभिन्न पसललाई कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी रोक्न तथा ग्यास सहज रूपमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।
यता नेपाल आयल निगमले भने ग्यासको आयात नियमित रहेको जनाएको छ । निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । चालु साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ, जुन गत वर्षको सोही अवधिको ४४ हजार ३१८ मेट्रिक टनभन्दा बढी हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार बजारमा ग्यासको अभाव देखिनुको प्रमुख कारणमध्ये उपभोक्ताले एकैपटक बढी ग्यास भरेर राख्नु पनि रहेको छ । होटल तथा रेस्टुराँमा भने नियमित ग्राहकका नाममा ठूलो मात्रामा ग्यास उपलब्ध हुने गरेको अनुगमनमा पाइएको विभागले जनाएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले पनि पर्याप्त आयात भइरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । संघका अनुसार अनावश्यक रूपमा सिलिण्डर ‘होल्ड’ नगर्ने हो भने बजारमा देखिएको अभाव तत्काल कम हुनसक्छ । यसैबीच प्रशासनले ग्यासको तौल, आपूर्ति, भण्डारण र बिक्री वितरणमा अनुगमन बढाएको छ । कम तौलमा बिक्री गर्ने, लुकाएर राख्ने वा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योग तथा व्यवसायीमाथि कारबाही गरिने सम्बन्धित निकायले चेतावनी दिएका छन् ।