देश–समाज विचार/वहस स्थानीय

सनातन हिन्दू धर्ममा लैङ्गिकताको प्रभाव

हिन्दूत्वको सनातन विचारधाराको प्रारम्भ भारतवर्षको सिन्धु नदीबाट सनातनकालदेखि नै यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरूबाट हुँदै आएको छ। भारतवर्षकै विभिन्न ठाउँ र क्षेत्रहरूबाट बसाइसरी अन्य देशहरूमा गएका परिवारहरूले पनि विश्वभरि नै हिन्दु सनातन धर्मको परम्परालाई पालना गरिरहेको देखिन्छ। विश्वभरि नै छरिएर रहेका यस्ता समुदायहरू जसले वेदमा विश्वास गर्दछन् तथा वेदलाई नै हिन्दु धर्मको प्रमुख स्रोत मानेका छन् सबै सनातनी हिन्दू हुन् । हिन्दू सनातन धर्ममा चार वर्ण र चारवटा वेद तथा चारवटा जीवनका अवस्थाहरू लाई मानव धर्मसँग जोडिएर सामाजिक र धार्मिक रीतिथिति मूल्यमान्यता परम्पराहरूलाई निर्वाह गर्ने परम्परा रहँदै आएको छ। सनातन हिन्दू धर्म विश्वका प्रमुख धर्महरू भित्र पर्दछन्। विश्वका सवा सय करोड सनातन हिन्दु धर्मावलम्बीहरूले अनेकौं ऋषिमुनिहरू साधुसन्तहरु गुरुजनहरू तथा ब्राह्मणहरूको विचारलाई आफ्नो जीवनको प्रमुख विचार र जीवनशैली रुपमा आत्मसात गरेका हुन्छन् । ईशापूर्व १५०० वर्ष पूर्व देखि हिन्दू धर्म सनातन विचार र धर्मको प्रचलनको अभिछिन्न इतिहास रहँदै आएको देखिन्छ । हिन्दू धर्म का मानिसहरूले के कुराहरू सोच्दछन् भन्ने कुरा उनले गरेको कर्महरूबाट झल्किन्छ । भगवत गीतामा भनिएको छ,, मानिसहरूको कर्ममा मात्र अधिकार छ, कर्मफलको आशामा होइन।, कर्मन्ये वाधिकारस्य मा फलेसु कदाचन, हिन्दुहरूका धार्मिक अभ्यासहरू हिन्दुहरूले गर्ने धार्मिक विश्वासहरूमा निर्भर हुन्छ । प्रायजसो सबै हिन्दुहरुले धार्मिक महत्वका कुराहरूलाई ठूलो आस्था विश्वास र पवित्रताका साथ प्रयोग गरिरहेका भेटिन्छन् । वेद जान्ने ब्राह्मण अति पवित्र र आदरणीय तथा श्रद्धाका पात्र हुन्छन् ,भने गौ माता लाई पनि असिम श्रद्धाका साथ हिन्दुहरूले पूजा गर्दछन् । गौ मांस भक्षणलाई हिन्दुहरूले अधम र पापपूर्ण कार्यको रूपमा मानिएको हुनाले सनातन हिन्दु धर्मावलम्बीहरूले त्यसलाई पूर्णरूपमा निषेध गरेका हुन्छ। सनातन हिन्दू धर्मावलम्बीहरूले प्रायजसो आफ्नै जातीय व्यवस्थाभित्र बिहेबारी गर्ने गर्दछन्, तथा आफ्ना उत्तराधिकारी सन्तानहरुलाई जन्म दिने गर्दछन्। अधिकांश सनातन हिन्दू धर्मावलम्बीहरूले भगवान शिव ,भगवान विष्णु र देवीहरूको पूजा गर्दछन् तर तिनीहरूले अन्य थुप्रै देवी देवताहरूको पनि पूजाआजा गर्ने प्रचलन रहेको छ । सनातन हिन्दु धर्मावलम्बीहरूको बस्तीमा आज पनि घर पिछै कुलदेवतालाई पूजाआराधना गर्ने प्रचलन छ । घर बाहिर वा गाउँ बाहिर पूजा गर्नु पर्दा ग्राम देवता वा ब्रह्मदेवतालाई पूजाआजा गर्ने प्रचलन छ ।त्यस्तै राष्टू देवता को रूपमा पनि श्रद्धा र पूजा गर्ने प्रचलन रहेको छ । नेपालमा आज पनि राष्टू देवताको रुपमा भगवान पशुपतिनाथलाई र देवी को रूपमा दुर्गा भवानीलाई उच्च सम्मान प्राप्त छ । किसिम किसिमका पूजाआजा पद्धति भएपनि समष्टिगत रूपमा सबै हिन्दूहरूले वेदलाई मानेका हुन्छन् । ऋग्वेद सबैभन्दा प्राचीन धार्मिक ग्रन्थको रूपमा रहेको छ। संस्कृत भाषामा लेखिएको ऋग्वेद ईशापूर्व १०० देखि एक हजार ५०० वर्ष पूर्व लेखिएको हुन सक्ने अनुमान गरिएको छ । ऋग्वेदमा १०२८ भन्दा बढी श्लोकहरू तथा मन्त्र हरू रहेका छन् । ईश्वरको प्रार्थनाको रूपमा लेखिएको श्लोकहरू लाई कण्ठस्त गर्ने प्रचलन अत्यन्त नै प्राचीन कालदेखि रहँदै आएको छ। आज पनि वेदका मन्त्रहरूलाई गुरुकुलहरूमा शिष्यहरुलाई कण्ठस्थ गराउने प्रचलन जीवित रहेको छ। दुईवटा अन्य वेदहरू यजुर्वेद र सामवेद ऋग्वेदलाईकै परिपूरकको रूपमा रहेको छ । चौथो वेद जसलाई अथर्ववेद भनिन्छ यसको रचना काल ईश्वी पूर्व ९०० रहेको छ ।
हिन्दू सनातन धर्मका विचारहरूलाई अभ्यास गर्ने क्रममा स्मृतिहरुलाई पनि आधार बनाइँदै आएको छ। स्मृति भनेको पूर्वजहरूले निर्धारण गरेका मूल्य मान्यता परम्परा र रीतिथितिहरुलाई सतत अभ्यास गर्दै जाने क्रममा एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान पूर्वजहरूले भनेका र पूर्वजहरूबाट सुनिएका कुराहरुलाई जस्ताको त्यस्तै व्यवहारमा उतार्ने कार्यलाई श्रुति वा स्मृतिको रुपमा लिइन्छ । हिन्दु सनातन धर्ममा १८ वटा पुराणहरू पनि रहेको छ। यसबाहेक अनेकौं धर्मशास्त्रहरू पनि रहेका छन्। सनातन हिन्दू विचारधारामा यो विश्व ब्रह्माण्ड अत्यन्त महान र अनेकौं ग्रह पिण्ड तथा वातावरण हरूले युक्त रहेको छ । स्वर्गलोक, नर्कलोक जस्ता अनेकौं लोकहरू तथा भव सागर र महासागरहरूको परिकल्पना पनि गरिएको छ । हिन्दू धर्ममा ८४ लाख योनीमा मानिसले चक्रिय रुपमा कर्मको आधारमा बारम्बार जन्म धारण गर्नुपर्ने हुन्छ। मानिसको मृत्यु भएपछि आत्माले शरीर परित्याग गर्दछ तथा केही समयपछि पुन अर्को शरीर धारण गर्दछ । नयाँ जन्म धारण गर्दा मानिसले मानवकै रूपमा अथवा जनावरको रुपमा अथवा अन्य दृश्य र अदृश्य वनस्पति खनिज र जीवनको रुपमा जन्म लिन सक्दछन् ।
विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको मानिएको इसाई धर्ममा ईश्वर वा गडलाई पुरुष ईसा मसिहको रुपमा मान्ने गरिन्छ भने विश्वको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको इस्लाम धर्ममा पनि ईश्वरको रुपमा वा अल्लाह को रुपमा पुरुषलाई नै जनाइएको छ। लैङ्गिकताको आधारमा इसाई र इस्लाम धर्म गड र अल्लाह भनेको पुरुष हुन् तर सनातन हिन्दु धर्म र संस्कृतिमा ईश्वरका नारी स्वरूप हरूसँग सम्बन्धित थुप्रै धर्मग्रन्थ रहेको देखिन्छ । हिन्दुहरूमा पुरुषको रूपमा रहेका प्रमुख ईश्वरको रूपमा ब्रह्मा विष्णु महेश छन् । राम, कृष्ण, शिव प्रमुख पुरुषप्रतिक ईश्वरको रूपमा रहेका छन् । भने अर्कोतिर पुरुष को रुपमा रहेका ईश्वरहरूभन्दा अत्यन्त शक्तिशाली मानिने दुर्गा काली सरस्वती लक्ष्मी गायत्री लगायतका देवी शक्तिहरू ले नै सम्पूर्ण संसारको निर्माण, पालनपोषण र संहारको निर्णायक शक्तिको रूपमा रहेकी छिन् । देवीको शक्ति बाट नै सबै देवलोक चलायमान छ । सबै देवहरूमा देवी नै प्रमुख सञ्चालिका देवी हुन् ।देवीले नै सबै पुरुष ईश्वरहरूलाई जन्म दिने र निर्माण तथा विनाशको लागि उत्प्रेरित गराउनुहुन्छ ।
हिन्दु सनातन संस्कृतिमा नारी शक्तिलाई नै ईश्वरको प्रमुख शक्तिको रुपमा स्वीकार गरिएको हुनाले प्राचीनकालदेखि नै समाजमा नारी शक्तिलाई देवी शक्तिको रुपमा आदर र सम्मान दिने परम्परा रहँदै आएको छ। यही कारणले घरपरिवारमा छोरीहरूको जन्म हुँदा छोरीको नाम सँगै कुमारी जोडिएको हुन्छ तथा छोरीको विवाह भएर जोडी बाँधिएपछि विवाहित छोरीको नाम अगाडि देवी भनेर सम्बोधन गरिएको हुन्छ यस्तो परम्पराले के देखाउँछ भने साँच्चिकै अर्थमा नारी शक्ति नै ईश्वरका प्रतिरुप हुन् नारीलाई सम्मान गर्नुपर्दछ। नारीलाई कुनै पनि अवस्थामा अपमान गर्नु हुँदैन नारीमाथि हातपात गर्नु हुँदैन नारीमाथि दुष्टता र नराम्रो दृष्टि राख्नु हुँदैन यदि कसैले नारीमाथि नराम्रो दृष्टिले हेर्छ भने त्यो अधम हो। त्यो पापी हो त्यो दुष्ट हो र त्यो मानिस दण्डको पात्र हो। ऋग्वेदमा भनिएको छ। यत्र नारियस्तु पूज्यन्ते रमन्ते तत्र देवता। अर्थात् जहाँ नारीको पूजा हुन्छ । त्यहाँ देवता हरू विचरण गर्दछन् ।, मनु स्मृतिमा भनिएको छ जुन घरमा नारीको अपमान गरिन्छ नारीको सम्मान गरिँदैन त्यो घर मा सधैं झगडा र कलह भइरहन्छ तथा अशान्ति ले गर्दा त्यो घर छिटै विनाश हुन पुग्दछ तर जुन घरमा नारीको सम्मान गरिन्छ त्यो घरको प्रतिष्ठामा वृद्धि हुन्छ र त्यस घरको उन्नति र प्रगति शीघ्र हुन्छ । उपनिषद्हरूमा भनिएको छ नारीहरूलाई दाजुभाइले, ससुराले, जेठानले, श्रीमानले सम्मान गर्दछन भने त्यस्तो घरमा छिटो समृद्धि आउँछ र त्यो घरका मानिसले हाँसी हाँसी जीवन बिताउँछन्। यो दार्शनिक विचार मात्र होइन यसभित्र रहेको शब्द हरूको गुढ अर्थ बुझेमा मात्र हामीले एउटा व्यावहारिक सनातन संस्कृतिलाई सम्मान गर्ने पात्रको भागी बन्न सक्दछौं ।
प्रसिद्ध अमेरिकन इतिहासकार र लेखक डुरान्टले आफ्नो प्रसिद्ध पुस्तक स्टोरी अफ सिभिलाइजेसन मा लेखेका छन् कि वैदिक कालमा र त्यसपछि पनि सनातन हिन्दु धर्मावलम्बी परिवारका महिलाहरूले अत्यन्त स्वतन्त्रताका साथ आनन्दपूर्वक जीवनयापन गर्ने अधिकार प्राप्त गरेको थियो ।महिलाहरूलाई आफ्नो जीवनसाथी छनोट गर्ने पूर्ण स्वतन्त्रता थियो। महिलाहरूले स्वतन्त्रतापूर्वक सामाजिक कार्यक्रमहरू जस्तै भोजहरूमा, नृत्यहरुमा सामूहिक पूजापाठहरुमा ,विद्यालयहरूमा ,धार्मिक कार्यक्रमहरूमा भाग लिन पाउने अधिकार थियो ।
गंगा, यमुना, सरस्वती, सिन्धु, नर्मदा, कमला, कोशी, बागमती यी सबै नदीहरु नारी शक्तिको रुपमा हाम्रो देशमा निरन्तर प्रवाहित भइरहेको हामी देख्दछौं ती सबै नारी शक्तिका प्रतिक हुन् र सबैको आदर र सम्मानको पात्र पनि छन् ।

Author

You may also like