
दमक/ झापामा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या बढ्दै गएको छ । दमकमा मात्रै २२ सय भन्दा वढी लागुऔषध प्रयोगकता रहेको तथ्यांक छ । भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा दैनिकजसो लागुऔषध कारोबारी पक्राउ परिरहेका छन् । झापाका काँकडभिट्टा, चन्द्रगढी, भद्रपुर, बिर्तामोड, दमकजस्ता ठूला सहरमा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या धेरै भएको प्रहरीको तथ्यांक छ ।
यसैविच जिल्ला प्रहरी कार्यालय झापाले दमक नगरपालिकाको सम्वन्वयमा लागू औषध न्यूनिकरण गर्ने अभियान अन्तरगत दमकका विद्यालयहरुलाई सचेतनामूलक पोष्टर वितरण गर्नुकासाथै बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार दमक नपाको सभाहलमा नीजि विद्यालयका प्रतिनिधी तथा प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बोल्ने अधिकांश बक्ताहरुले दमकमा लागुऔषध प्रयोगकर्ता बढिरहेको बताएका छन् ।
झापा जिल्लामा लागू औषध प्रयोगकर्ता र कारोबार दैनिक बढिरहेकाले अभियान नै सञ्चालन गरेर नियन्त्रणमा लाग्नु परेको झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताइन् । अभियानका बारेमा बताउँदै प्रहरी प्रमुख खड्काले समुदायलाई समेत साथमा लिएर विभिन्न तरिकाबाट आगूऔषध नियन्त्रणको काम भइरहेको भएपनि प्रहरीबाटमात्रै लागुऔषध नियन्त्रण गर्न नसकिने बताइन् । जोखिममा रहेका युवा र विद्यार्थी लक्षित जनचेतना र परामर्शको काम गरी उनीहरुको व्यवहार परिवर्तन गराउने योजनाकासाथ प्रहरी लागिपरेको बताइन् । उनले प्रारम्भिक पहिचान, परामर्श, सुधार केन्द्रसंग समन्वय, उपचारमा प्रभावकारिता र समाजमा पुर्नस्थापना आवश्यक रहेको बताइन् ।
कार्यक्रमा दमक नगरपालिका प्रमुख रामकुमार थापाले दमकमा लागुऔषध नियन्त्रण गर्न विभिन्न उपाय अपनाइए पनि नियन्त्रण गर्न नसकिएको बताए । उनले भने–‘हरपल सचेतना गरिरहेका छौं, तर, स्थिति नियन्त्रणबाहिर छ, सबैको साथ र सहयोगविना नियन्त्रण सम्भव छैन ।’ मेयर थापाले सचेत नागरिकहरुबाट पटक पटक विद्यालय क्षेत्रमा सूर्तीजन्य पदार्थ र मदिरा, गुट्खाजस्ता पदार्थ विक्रिवितरण भइरहेको र यसलाई नियन्त्रण गर्न नगरपालिकामा सुझाव आइरहेकोले अब सम्बन्धित क्षेत्रका विद्यालय र विद्यार्थीहरुमार्फत नै विक्रि वितरण बन्द गराउने अभियान चलाउनुको विकल्लप नभएको बताए । उनले भने–‘नगरले विद्यालय आसपासमा सूर्ती र मदिराजन्य सामग्री विक्रि वितरण गर्न यसअघि पनि पहल गरेको हो तर, भोट विग्रिने आसयमा दलका स्थानीय नेताहरुनै लचिलो भइदिँदा हामी असफल भयौं, अब नगरले कडाई गर्छ । नगर बनाउने हाम्रो अभियान अघि बढ्छ, चाहे भोट विग्रिए विग्रियोस् । उनले भने ।
मेयर थापाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाईँले दमकमा भइरहेको लागुऔषधको लतमा कलिला बालबालिका समेत फसिरहेको कहालीलाग्दो अवस्थाको उजागर गरिन् । उनले भनिन्– ‘बडो दुःख लागेर आउँछ, कलिला पढ्ने उमेरका बालिकाहरु फसिरहेका छन्, कयौं सुधारगृहमा पठाइएका छन् । उदाहरणमा भन्नुपर्दा एउटी बालिकाले लागेको लत छोड्न नसक्दा लागुऔषध किन्न देह ब्यापार गर्दै गरेको सुनाइन्, यसले मुलुकको चित्र देखाएको छ ।’ उनले भनिन् यस्ता कयौं घटना छन्, लागुऔषध नियन्त्रण गर्न समुदाय र परिवार नै सचेत हुन जरुरी छ ।
कार्यक्रममा उपश्थित शिक्षकहरुले विद्यालय प्रशासन र अभिभावकविच लागुऔषधका कारण दुरी बढ्दै गएको गुनासो गरेका छन् । अधिकांश शिक्षकहरुले संघीय सरकारले स्पष्ट योजना नदिँदा अनुशासनमा विद्यार्थीलाई बन्देज गर्न नसकिएको यथार्थ उजागर गरेका छन् । एक शिक्षकले भने–‘हामी विद्यार्थीलाई कपाल काटेर आउ भन्छौं, उनीहरु कपालले पढ्ने हो कि मैले भनेर जवाफ दिन्छन्,’ उनले गुनासो पोखे । विद्यालयमा मोवाइल प्रयोग नगर्ने नियम थियो, विद्यार्थीले लिएर पढाएको समयमा गेम खेलिरहेको थियो, मैले मोवाइल खोसेँ, अभिभावक सहित आएर छोराले मर्छु भन्यो बरु मोवाइल दिनु भने, स्पष्ट नीति नहुँदा विद्यालय प्रशासन पनि लाचार बन्नु परेको तीतो यथार्थ उनले सुनाए ।
यस्तै अर्का शिक्षकले बाल अधिकारका नाममा बाहिरका विद्यार्थीहरु आएर शिक्षकलाई नै हप्काएर माफि मगाउँदा नजर ढल्यो, आँशु बग्यो तर विद्यार्थीले गाली गर्न नछाडेको तीतो यथार्थ सुनाए । यो सुनिरहँदा हलमा उपश्थित शिक्षकहरुले शिक्षकप्रति सहानुभुतिले मुण्टो हल्लाइरहेका थिए । हलमा उपश्थित अधिकांश क्षिक्षकहरुले स्पष्ट शिक्षा नीतिको खाँचो रहेको र यसप्रति सरकार उदासिन देखिएको बताएका छन् ।
कार्यक्रममा सञ्चारकर्मी र शिक्षकहरुले प्रत्येक घरघरमा अभिभावकले आफ्ना छोराछोरीको निगरानी बढाउँनु र गलत संगतबाट जोगाउन सजक रहनु नै लागुऔषध नियन्त्रणको एकमात्रै विकल्प भएकोले अभिभावकमैत्री कार्यक्रम ल्याउन सुझाव दिएका छन् । अब, जिल्लाका सबै विद्यालयहरुमा सचेतनामूलक पोष्टर टाँसिने अभियान अन्तरगत दमकका विद्यालयहरुमा पनि पोष्टर टाँसिने छ । सामाजिक सञ्जालमार्फत निरन्तर सन्देश प्रवाह गरिने छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले विभिन्न फुटबल क्लवहरु मार्फत समेत सूचना आदान प्रदान गर्ने योजना बनाएको छ । प्रहरी प्रमुख खड्काका अनुसार प्रहरी र स्थानीय युवाहरुबीच मैत्रीपुर्ण खेलकुदमार्फत सामिप्यता बढाउने र सूचना आदान प्रदान गर्ने कार्यक्रमलाई तिव्रता दिइने छ । अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको जनाइएको छ । कार्यक्रममा लागुऔंषधसम्बन्धी १७ मिनेट लामो बृत्तचित्र प्रश्तुत गरिएको थियो । कार्यक्रमको सहजिकरण अधिकृत केशवप्रसाद प्रसाईँले गरेका थिए भने कार्यक्रममा प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेत, प्रहरी निरिक्षक प्रमोद खड्का, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपश्थिति थियो ।