एकछिन यो समयरेखामा उभिएर टक्क अडिएर हेर्दा एउटा स्पष्ट चित्र आउँदो रहेछ समयको । त्यो राजनीतिको समय पनि हो । त्यो जीवनका हरेक आयामहरूको समय पनि हो । त्यो देश, व्यक्ति, समाज, मुलुक र समग्र विश्वको समय पनि हो । यो समयले एउटा शास्वत रंग बोकेर आएको छ । त्यो रंग भनेको कुनै बनाइएको आदर्शको रंग होइन, कुनै व्याख्याकार वा दार्शनिकले बनाएको रंग पनि होइन । त्यो त हाम्रैै दनन्दिनीहरूबाट निस्किएका बाछिटाहरू हुन् ।
अनिश्चित संसारमा मानव भएर अस्तित्वमा रहनुको अर्थ खोजिरहँदारहछौं हामी । पाइन्छ कि पाइँदैन, थाहा छैन । तर खोजिरहन्छौं, त्यसैमा जीवन व्यतित गर्छौं । यो घनचक्करमा हाम्रो पूरै जीवन फसेको छ । यही घाचक्करलाई अस्थित्ववाद भनेर नाम दिइएको छ । यो घनचक्करमा फसेपछि व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत उत्तरदायित्व र एक प्रकारले उदासीन देखिने ब्रह्माण्डमा अर्थको खोजी गरिरहन्छ । तर अर्थ भने कहिल्यै भेट्दैन । अनि उसको बूताले भेट्टाएको एउटा भ्रमलाई सत्य भनिरहन्छ बिचरा मान्छे ! भ्रमलाई सत्य मान्न बाध्य पनि छ मान्छे । कुनै बिकल्प नै छैनन् ।
यो घनचक्कर एक यस्तो दृष्टिकोण हो जसले व्यक्तिको, सोच, चिन्तन र जीवन्त अनुभूतिलाई केन्द्रमा राख्छ । यसले सार्वभौमिक सत्य वा स्थिर सिद्धान्तहरूमा निर्भर रहनुभन्दा, प्रत्येक व्यक्तिले आफ्ना निर्णय र क्रियामार्फत आफ्नै अर्थ सिर्जना गर्नुपर्ने हुन्छ । सत्य भेट्टाउनु पर्ने हुन्छ । जाँ–पल सात्र्रले पनि भनेका थिए, “अस्तित्व सारभन्दा अगाडि आउँछ” । अर्थात् मानिस जन्मँदै निश्चित उद्देश्य लिएर आउँदैन; बरु उसले आफ्ना जीवन निर्णयमार्फत आफूलाई परिभाषित गर्छ । व्याख्या गर्छ । त्यसको बचाउ गर्छ । त्यसको रक्षा गर्न ऊ आन्दोलन गर्छ । तर हामी देखिरहेका छौं, मानिसहरू कुनै एउटा विचार, भ्रम जे भने पनि लाई बाँचुञ्जेल अँगालिरहन्छ । उसलाई यो पनि थाहा छैन कि आजको यो समय न त हिजोकै जस्तो ठ्याक्कै छ, न त भोलि नै आजको जस्तै ठ्याक्कै हुनो छ । तर मान्छे आँपूm बाँचुञ्जेलको समय ‘एउटै हुन्छ’ वा ‘एउटै हो’ भनिरहन्छन् । हजुरबादेखि एउटै पार्टीमा भोट हालेका मान्छेहरूलाई हेरे पुग्छु । तिनिहरूको अनुहार देख्दा तपाइलाई तिनीहरूप्रति दया लाग्दैन ?
यो घनचक्करमा मानव पूर्ण रूपमा स्वतन्त्र छ आफ्ना निर्णयहरू गर्न । यो स्वतन्त्रता एकातिर शक्तिशाली बनाउने तत्व हो भने अर्कोतिर उत्तरदायित्वको भार पनि बोकेको हुन्छ । जस्तो कि कुनै विद्यार्थीले आफ्नो पेशागत मार्ग रोज्दा उसले सम्पूर्ण रूपमा समाज वा भाग्यलाई दोष दिन सक्दैन र पाउँदैन पनि; अन्ततः त्यो उसको आफ्नै छनोटको प्रतिफल हो सफल असफल दुवै अवस्थामा । यो सफल जीवनमार्गको बाटो हो । यो अर्थशास्त्रको ‘सिक्सेवल थ्योरी अफ प्रोफिट’ जस्तै हो । तर त्यो छनोटको स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य रूपमा आउँछ । व्यक्तिले आफ्ना कर्मका परिणामहरू स्वीकार गर्नुपर्छ । भरै छैन नस्वीकारी । यदि कसैले बेइमानीको बाटो रोज्छ भने उसले व्यक्तिगत ग्लानि र सामाजिक दुष्परिणाम दुवै भोग्नुपर्छ । अहिले धमाधम खोरमा छिर्दै गरेका हिजोका ‘महान महानुभावहरू’ हेरे पुग्छ नि । फल तिनेले जे रोपेका थिए त्यही फलेको हो ।
यो घनभक्करको अर्को विशेषता के हो भने जीवनमा कुनै पूर्वनिर्धारित अर्थ हुँदैन, जसले विसङ्गतिको अनुभूति जन्माउँछ—अर्थको खोजी गर्ने हाम्रो चाहना र मौन ब्रह्माण्डबीचको द्वन्द्व । अल्बेयर कामुद्वारा “विसङ्गत अवस्था” को व्याख्यामा सशक्त रूपमा प्रस्तुत गरिएको छ यो कुरा । जस्तो कि मानिसहरूले स्थायी सफलता वा सुखको खोजी गर्छन्, तर जीवन अनिश्चित र प्रायः अप्रत्याशित हुन्छ । म जेल जान्छु भन्ने हिजो पटक पटक प्रधानमन्त्री भइसकेका मानिसलाई थियो त ? थिएन, तर त्यस्तै भयो । राज्य संयन्त्र मुठ्ठीमा लिएर देश उजिल्याउनेहरूलाई यस्तो बहुमतको सरकार आउला र यस्तो सजाय पाइएला भन्ने थियो त ? थिएन नि ।
यो घनचक्करमा फसेपछि प्रामाणिक जीवन, स्वपहिचान बनाउन बाध्य हुनुपर्छ । सामाजिक अपेक्षाहरूको अन्धानुकरण नगरी आफ्नै सत्यतामा अडिग रहनु पर्छ । परिवारले “सुरक्षित” र पैपा कम्मिने पेशा रोज्न दबाब दिँदा पनि कला क्षेत्रमा लागिरहने छोराछोरी प्रामाणिक जीवन जिउँछन् । तिनले आप्mनै पहिचान बनाउन बाध्य हुन्छन् । भ्रष्टाचारमा पक्राउ परेका मानिसहरूको जसरी अहिले पहिचान खुल्दै छ ।
यो घनचक्करले चिन्ता, एक्लोपन र अनिश्चिततालाई मानव जीवनका स्वाभाविक पक्षका रूपमा स्वीकार गर्छ । रमेश लेखक पक्राउ पर्दा कुनै कांग्रेसजन सडकमा आएनन् । हिजो उनले गरेको ‘कर्म’ को फल भोग्न बाध्यता पनि छ, त्यसले उनलाई कति चिन्तित, कति एक्लोपना, कति अनिश्चितताको भूमरी चलिरहेको होला मनमा ?
डेनिस दार्शनिक सोरेन कियरकेगार्दले स्वतन्त्रताको अपरिहार्य अवस्था नै चिन्ता हो भन्ने कुरा जोड दिएका छन् , जुन हामी सबैमा लागू हुन्छ ।
यो घनचक्कर केवल सैद्धान्तिक विचार मात्र होइन; यो दैनिक जीवनमा प्रत्यक्ष लागू हुन्छ । व्यक्तिगत खुशी र सामाजिक स्वीकृतिबीच आप्mना कर्महरूको छनोट गरिरहेका हुन्छौं हामी । त्यो छनोट कुनै निश्चित नियमबिना नै नैतिक निर्णय गरिरहेका हुन्छौं । पेशा, सम्बन्ध र पहिचानमा अनिश्चितताको सामना गरिरहेका हुन्छौं । जस्तो कि कडा संस्थागत नियमहरू हुँदाहुँदै पनि कक्षाकोठामा नवीनता ल्याउने शिक्षकले अस्तित्ववादी साहस र प्रामाणिकता प्रदर्शन गर्छ । उसले नवीनताको लागि संघर्ष गर्छ ।
आधुनिक विश्वमा पनि यो घनचक्करको सान्दर्भिकता अधिक छ । आजको तीव्र परिवर्तनशील संसारमा मानिसहरूले आप्mनो पहिचान, उद्देश्य र स्वतन्त्रतासम्बन्धी प्रश्नहरूको निरन्तर सामना गरिरहेका छन् । बाह्य शक्तिलाई दोष दिनुभन्दा आफ्नै जीवनको स्वामित्व लिन प्रेरित गर्छ । यसले साहसको आह्वान गर्छ—छनोट गर्ने, कर्म गर्ने, र उत्तरदायित्व स्वीकार गर्ने साहस । त्यसैले अहिले सुदन गुरूङ्गको निसानामा प¥यौं भन्नेहरूले आप्mना हिजोका सबैखाले ‘कुकर्म’ तथा ‘सुकर्म’ हरूलाई अंगीकार गर्नुको अर्को बिकल्प पनि छैन । यो घनचक्कर मानव गरिमाको दर्शन हो । यसले भन्छ—जीवनसँग पूर्वनिर्धारित अर्थ नआए पनि प्रत्येक व्यक्तिसँग आफ्नै अर्थ सिर्जना गर्ने शक्ति मात्र होइन, कर्तव्य पनि छ । अनिश्चितताले भरिएको संसारमा यो घनचक्करले एउटा सशक्त सन्देश दिन्छः हामी नै आफ्नै जीवनका स्रष्टा हौँ । मेरो बर्तमान मेरै बुद्धि र कर्मको फल हो । मेरो भविष्य पनि मेरै बुद्धि र कर्मको फल हुने छ । यो घनचक्करलाई बिसौं शताब्दीका युरोपेली दार्शनिकहरूले ‘एक्जिस्टेन्सियालिज्म ÷ अस्थित्ववाद ’ भनेर नामकरण गरिदिए । दमक, झापा