मुख्य समाचार

तास खेलिरहेका १२ जना पक्राउ

विराटनगर, जेठ २५ गते / विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट अढाई लाख रुपियाँभन्दा बढी नगद बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–११, जनपथ टोलस्थित महेश अग्रवालको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले उक्त जानकारी दिनुभयो।
पक्राउ पर्नेहरूमा विराटनगर–६ का ४० वर्षीय दिलीप साह, विराटनगर–९ का १९ वर्षीय राधे कामत, सुरज शर्मा, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी, विराटनगर–११ का ७१ वर्षीय मेहिनीप्रसाद प्रसाईं, ३९ वर्षीय पोषण सहनी तथा विराटनगर–१२ का ४२ वर्षीय भरतकुमार राई रहनुभएको छ।
त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–५ का ३३ वर्षीय रञ्जित साह, बुढीगङ्गा गाउँपालिका–२ का ४६ वर्षीय ओमनाथ ढकाल, कटहरी गाउँपालिका–४ का ४७ वर्षीय रामु कामत तथा उदयपुरको गाईघाटका ४६ वर्षीय लोकचन्द्र कार्की पनि पक्राउ परेका डिएसपी मिश्रले बताउनुभयो।
प्रहरीले घटनास्थलबाट दुई लाख ५७ हजार ४ सय रुपियाँ नगद, २२ बुक तास तथा १४ वटा मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

You may also like