दमक/ झापाको दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या देखिएकोमा मंगलबारदेखि सो उपकरण मर्मत भइ प्रयोगशाला संचालनमा आएको छ । प्रयोगशालामा उपलब्ध रगत परीक्षणमा प्रयोग हुने एउटा उपकरणमा खराबी आएपछि केही दिनदेखि अस्पतालबाट नियमित रुपमा उपलब्ध हुने प्रयोगशालाको काम अवरुद्ध हुँदै आएको थियो । तर प्राविधिकहरुले सो मेशिन बनाएपछि अस्पतालका सबै सेवा संचालनमा आएको दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी गराइन् । नियमित सेवा उपलब्ध गराउन नसक्दा रक्त परीक्षणका लागि सेवा लिन आउने बिरामी मर्कामा नपर्ने उनले बताइन् । रगत जाँच गर्ने उपकरणमा समस्या देखिएपछि काठमाडौँबाट प्राविधिक इन्जिनियर बोलाएर मर्मत गरिएको जानकारीमा आएको छ । दमक अस्पतालको प्रयोगशालामा दैनिक तीन सयदेखि चार सयसम्म रगतको नमुना परीक्षण गर्नुपर्छ । ल्याबमा एक पटकमा ४० नमुना परीक्षण गर्न सकिन्छ भने परीक्षणका लागि दुई घण्टा लाग्छ ।