मुख्य लेख विचार/वहस

अनुभूति ःदुई साता गाउँ (मोरंग) बस्दा

अरुण बराल

१. मिडिया ः गाउँमा राष्ट्रिय मिडियाको प्रभाव शून्यमा झरेछ । केन्द्रका सूचना सामाजिक सञ्जाल (युट्युब र फेसबुक) बाट अनि स्थानीय सूचना स्थानीय अनलाइनबाट उपभोग हुने गरेको पाइयो । औपचारिक मिडियालाई अनौपचारिक मिडियाले क्वाप्पै खाएछ । राष्ट्रिय मिडियाको दम्भ क्रमशः काठमाडौंमा खुम्चँदो देखियो । राष्ट्रिय मिडियाको अनुपस्थिति र स्थानीय सरकारसँग स्थानीय मिडियाको सहवरणले समग्र आम सञ्चार क्षेत्रमा जोखिम निम्त्याएको पाइयो ।
२. वैचारिक पक्ष ः गाउँघरमा सामाजिक सञ्जालले नै ‘ओपनियन मेकर’ को भूमिका खेलेको भेटियो । फलतः चोक र चिया पसलहरुमा दुर्गा प्रसाई, तारा बरालहरुको चर्चा हुँदोरहेछ । सोसल मिडियाको एकछत्र प्रभावले धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा क्रमशः जनमत बन्दै जान थालेको पाइयो । नश्लवादसमेत बढेको पाइयो । फलतः गाउँमा सिंगै राजनीतिक व्यवस्थामाथि नै अविश्वास बढ्न थालेछ ।
३. स्थानीय सत्ता ः स्वार्थ बाझिने ठेकदार र बिचौलियाको प्रभावमा परेर स्थानीय सरकार निरीह बनेको पाइयो । स्थानीय सरकारको विरोधमा बोल्ने आँट क्रमशः हराउँदै गएर प्रतिपक्षपविहीन स्थिति देखियो । पालिकालाई करोडौं आम्दानी दिने खोलाहरु ठेक्कामा नलगाउने तर रातारात ढुंगा गिटी बेच्ने कार्यले पालिकाको राजस्व व्यक्तिको गोजी गएको पाइयो । प्राकृतिक स्रोतले धनी पालिकासमेत घाटा बजेटमा चलिरहेको पाइयो । गाउँका सहकारीहरु पनि संकटमा देखिए । कर्मचारी र दलका नेताहरु मिलेर स्थानीय तहमा भ्रष्टाचार र नातावाद मौलाउँदा व्यवस्थामाथिको जनविश्वास झन् झन् खस्कँदो पाइयो ।
४. विकास ः गाउँमा केही सकारात्मक परिवर्तनहरु पनि पाइए । दूध डेरीमा एकाबिहानै देखिने किसानको भिडले इलमी मानिसको व्यवसायिकता झल्कन्छ । विदेशमा रोजगारी गरेर कमाउनेहरुले गाउँमै धमाधम पक्की घरहरु बनाउन थालेछन् । यातायातको सहजता, बाटोघाटो र पुल पुलेसा, बिजुली, इन्टरनेट आदिको विस्तारका कारण गाउँको जनजीवन सहज बनेको पाइयो । वडा कार्यालयले पाएको अधिकारका कारण मानिसहरु पालिकासम्म पनि पुग्नु परेन । इलाका प्रशासनको विस्तारले सिडियो कार्यालयको चाप घटाएछ । गाउँमा सिंहदरबार पुगेकै रहेछ ।

५. राजनीतिक दल ः माओवादीमा चरम निराशा र विचलन, एमालेमा दम्भ अनि कांग्रेसमा आन्तरिक कलह र किंकर्तव्यविमूढता पाइयो । रवि लामिछानेप्रति बढ्दै गएको आकर्षण क्रमशः दुर्गा प्रसाईतिर बाँडिन थालेको पाइयो ।
६. आर्थिक सामाजिक एवं सांस्कृतिक पक्ष ः सबैभन्दा बढी जोखिम वालवालिका र किशोरपुस्तामा देखियो । प्रौढ र समाजका अगुवा भन्नेहरुमा तासजन्य विकृति बढेको पाइयो । टिप्परले उडाउने धुलोदेखि पारिवारिक अशान्ति र गरिबीले बालवालिकाको मानसिक विकासमा त असर पारेको छ नै, उनीको पढाइ र सभ्यताको सिकाइमा पनि समस्या पारेको देखियो । किशोरहरुमा व्याप्त बेरोजगारी, निराशा र डिप्रेसनसँगै लागूऔषधको समेत प्रयोग हुन थालेको पाइयो ।
गाउँको मनोविज्ञान हेर्दा यस्तो लाग्यो, सिंगै देश ’मास फ्रस्टेसन’ तर्फ गइरहेको छ । तर, यो स्थितिलाई रोक्ने न कुनै आर्थिक-सामाजिक कार्यक्रम छ, न कुनै संयन्त्र । यस्तै स्थिति रहि रहे नेपाली समाज कहाँ पुग्ला ? बहसको खाँचो देखियो ।

You may also like