विपत बाजा बजाएर आउने कुरा होइन । भलबाढी वर्षा, हावाहुरी, भुकम्प जस्ता विषय भवितब्य हुन् । मानिसले यस्ता विपत चाहेर पनि रोक्न सकिन्न । तर यस्ता विपतबाट हुने क्षति र थप क्षति नहोस् भनेर जोगिने पूर्व तयारी भने गर्न सकिन्छ । क्षति भइसकेपछि उद्धार सहायताको निम्ति सामुहिकताको खाँचो अनिवार्य छ ।
शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्प र लगातारका परकम्पबाट खास गरी जाजरकोट र रुकुमपश्चिममा अकल्पनीय मानवीय एवं भौतिक क्षति भएको छ । एकसय पचास भन्दा बढी मानिसको ज्यान गयो भने सयौ घाइते भएका छन् । दुर्गम क्षेत्रमा घर भत्किए, धैरैको विजोक भयो । करोडौँको भौतिक संरचना क्षति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार एकाबिहानै स्वास्थ्यकर्मी र उपचार सामग्रीसहित भूकम्पले क्षति गरेको क्षेत्रमा पुगे । अन्य राजनीतिक दलहरु र सामाजिक संघसंस्था यतिबेला भूकम्प पीडित क्षेत्रमा राहत सामग्री लिएर पुगेका छन् । राहत बाँड्न र सबै क्षेत्रबाट सहयोग जुटाएर उद्धारमा लाग्न सरकारले आग्रह गरेको छ । पार्टीहरुले आफ्ना नियमित र घोषित कार्यक्रम स्थगन गरेर राहत र सहयोगमा जुट्न कार्यकर्ता र पार्टी पंङ्तिमा सर्कुलर समेत गरिरहेकै छन् ।
भूकम्पपीडित क्षेत्रमा उद्धार र राहतको अझै प्रभावपूणर् वितरण र सहयोग कमी नै छ । कणर्ाली प्रदेशको भूबनोट, पूर्वाधार अभाव, मौसम आदिका कारण राति नै पीडितको उद्धार, उपचारमा कठिनाइ भयो । स्थानीय राज्य निकाय, जनप्रतिनिधि, युवाले यथाशक्य जो जहाँ छ, त्यहीँ उद्धार उपचारमा क्रियाशीलता देखाए । प्रधानमन्त्री स्वयम् पीडित नागरिकसामु शीघ्र पुगेर उद्धार, उपचार, राहत र पुनस्र्थापनाका लागि देखाएको सक्रियता र राजनीतिक दलहरुको क्रियाशीलताले पीडित नागरिकको मनोबल बढाएको छ, यो सकारात्मक पाटो हो । यसमाथि आपतविपतका बेला सँगसँगै हुने नेपाली संस्कार परम्परा अनुसार विभिन्न राजनीतिक दल, संघ संस्था र नागरिक प्राथमिक कार्यमा जुट्नुले नेपाली समुदायबीको एकत्व र सद्भावलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ ।
विसं २०७२ को भूकम्पपछि हालसम्मका भूकम्प निरन्तरतामा सबैभन्दा ठूलो क्षति अहिले भएको छ । यसको दुःखद आयामप्रति संवेदनशील भएर सरकार र सरकारका सम्बद्ध श्रोतहरु घटनास्थलमा पुगी घाइते, पीडितहरूको घाउमा मलहमपट्टी लगाउने कार्य नै नेपालीपन हो । विचल्लीमा परेकाहरुको खोजी, उपचार अत्यावश्यक सामग्रीहरूको व्यवस्थापनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत उद्धारकर्मीको सक्रिय परिचालन देखिएको छ । तथापि यी कार्यमा स्थानीय राज्य संयन्त्रका सबै जनशक्ति, स्थानीय समुदाय, छिमेकी जिल्ला अनि देशभरका नागरिकको साथ सहयोग जुटिरहेको छ । मित्रराष्ट्रहरूबाट पनि सहानुभूति, संवेदना र आवश्यक सहयोगका सन्देश प्राप्त भएका छन् ।
दुखद पक्ष के छ भने नेपालको पश्चिम क्षेत्रमा पटक पटक भूकम्प आइरहेका छन् । गत एक वर्षको अवधिमा त्यस क्षेत्रमा ६ म्याग्निच्युडभन्दा माथिको तीव्रता भएका चार वटा भूकम्प गए । अधिकांश ढुङ्गामाटो निर्मित आवासीय संरचना रहेको त्यस क्षेत्रका घर पटक पटकका भूकम्पले चर्काएका हुँदा अब कम मापनका धक्कामा पनि ढल्न सक्ने छन् । यस क्षेत्रमा सुरक्षित आवास संरचना निर्माण अभियान नै चलाइएमा भविष्यमा सम्भावित क्षति न्यूनीकरण गर्न सकिने छ । जोखिम पूर्वसूचना प्रणाली र भूकम्प प्रतिकार्य क्षमता सुदृढ गर्नु जरुरी छ ।