दमक। दमकको ब्यस्त बजारभित्रका सडकहरु समयमा नबन्दा स्थानीयले सास्ती ब्यहोर्नु परेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ठेक्का र नगरको सम्वन्वयमा यसअघि सम्पन्न गरिसक्नुपर्ने निर्माण योजनामा ढिलासुस्ती गरेपछि सडकहरु अस्तब्यस्त र धुलाम्मे अवस्थामा रहेका छन्, जसका कारण स्थानीय समस्यामा परेका हुन् ।
दमक नगरपालिकाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरलाई परिपत्र जारी गर्दै योजना अघि बढाउँन माग गरेको छ । दमक नगरपालिका प्रमुख रामकुमार थापाद्वारा हस्ताक्षरित पत्रमा यथासिघ्र काम अगाडी बढाएर निर्माण कार्य दु्रत गतिमा सम्पन्न गर्न आग्रह गरिएको छ ।
जारी पत्रका भनिएको छ– ‘दमक नगरपालिका क्षेत्रभित्रका सडकहरु आयोजनाको समन्वयमा ठेक्का प्रक्रियाद्वारा सेवरेज ढल (क्भधभचबनभ म्चबष्ल) को निर्माण परियोजना सञ्चालनमा रहेको सन्दर्भमा, उक्त परियोजनाबाट यस नगरका मुख्य र व्यस्त सडकहरु प्रभावित भएको तथा आयोजना निर्माण कार्यमा ढिलासुस्ती हुँदा बाटोमुनि ह्युमपाइप बिच्छ्याउने लगायतका कार्यका लागि अवरोध भएको छ । ’
सडकहरु खनिएकोमा सो माथिबाट कालोपत्रे गर्ने कार्य अलपत्र रुपमा छोड्दा दूर्घटनाको जोखिम बढेको, धुवाँ, धुलोका कारण नगरबासीको स्वास्थ्यमा प्रतिकूल असर परेको तथा बाटोहरुको आसपासका बासिन्दाको दैनिक जनजीवनमा नकारात्मक असर परेको जस्ता विषयहरु पत्रमा उल्लेख गरिएको छ ।
मेयर थापाले पूर्वसन्देससँग कुरा गर्दै भने– ‘समयमा काम नसकिँदा नगरवासीले आपत्ती जनाउँन थालेका छन् । जनगुनासो बढेर गएको छ, अब दिनदिनै वर्षायाम शुरु हुन्छ, वर्षायाममा गरिएको काम प्रभावकारी नहुने भएकाले हामीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हौं । उनले थपे– ब्यस्त बजारकै बाटाहरु धुलाम्मे छन्, भत्किएर आवागमनमा समस्या बढ्दै गएको छ, हामीले पटक पटक चाँडै काम सम्पन्न गरिदिन आग्रह गरिरहेका छौं ।’
पछिल्लो समय दैनिक आवतजावतमा समेत अत्यन्तै कठिनाई व्यहोर्नु परिरहेको व्यापक रुपमा जनगुनासो सामाजिक सञ्जालमा समेत आउन थालेको छ ।
दमकको पशुहाटदेखि हिमावि जाने बाटो, जेसिज चोकबाट शंखधर चोक, शंखधर चोकबाट भृकुटी चोक र देवकोटा चोक उत्तर हुँदै पुरानो आई ओ एमसम्मको करिब ४ किलो मिटर बाटो मर्मत नहुँदा थप समस्या भएको नगर प्रमुख थापाको भनाई छ ।
झापाको दमकमा घरबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरि विद्युत तथा मल उत्पादन गर्ने योजना सुरु गर्न मिति २०७७ आसोज २६ गते देखि काम शुरु गर्ने गरि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्र्तगत दमक नगरपालिका ढल निर्माण योजनाको काम अघि बढाइएको थियो । सोही योजना समयमा सम्पन्न नहुँदा भत्काइएका बाटाहरु पुन निर्माण हुन सकेका छैनन् ।
यो योजना देशका ठूला शहरमा सफल भएका कारण अन्य क्षेत्रमा समेत विस्तार गर्न थालिएको भन्दै दमकमा योजना शुरु गरिएको थियो । दमकमा अढाइ मेघावाट विद्युत उत्पादन हुनसक्ने अनुमान सहित यो योजना अघि बढाउँदा ढल निर्माण गर्न सहरभित्रका बाटाहरु भत्काइएका थिए ।
संघीय सरकारको योजना रहेकाले कति प्रतिशत काम भयो र अब कति बाँकी छ भन्न आफूलाई अप्ठ्यारो भएको दमक नगरपालिका इन्जिनियर अनन्त सेनेहाङले बताए । उनले भने– योजना ढिलो हुँदा साइडका अरु काम गर्नसमेत असजिलो भइरहेको छ, सम्बन्धित पक्षले काम छिटो सम्पन्न गर्न जरुरी देखिन्छ । जनगुनासो पनि यही छ ।