दमक, १३ फागुन। झापाका १५ वटै स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकन रिपोट अनुसार नगरपालिकामध्ये बिर्तामोड र गाउँपालिकामध्ये हल्दिबारीको कार्य सम्पादन मूल्यांकन उत्कृष्ट रहेको पाइएको छ । बिर्तामोडले ३७ दशमलव ४३ अंक र हल्दिबारीले ३२ दशमलव ३९ अंक प्राप्त गरेको छ ।
कार्य सम्पादन मूल्याङ्कन अंकमा हेर्दा कचनकवल गाउँपालिका १७ दशमलव ४४ अंकका साथ सबै भन्दा पछि रहेको छ । स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो । संघीय सरकारले विना सर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ । यस्तो सिफारिस गर्दा आयोगले सूत्र बनाउँछ । जसमध्ये एक मापक कार्य सम्पादन मूल्याङ्कन हो ।
पालिकाको कार्य सम्पादन मूल्याङ्कन अनुसार मेचीनगर– २७ दशमलव ४६ प्रतिशत, बुद्धशान्ति– २८ दशमलव ९८ प्रतिशत, अर्जुनधारा– २६ दशमलव २६ प्रतिशत, कनकाई– २३ दशमलव ९४प्रतिशत, शिवसताक्षी– ३५ दशमलव ८५ प्रतिशत, कमल– २७ दशमलव ६६ प्रतिशत, दमक– ३६ दशमलव ५७ प्रतिशत, गौरादह– ३१ दशमलव ९ प्रतिशत, गौरीगञ्ज– २० दशमलव ६५ प्रतिशत, झापा–२५ दशमलव ८ प्रतिशत, बाह्रदशी– २१ प्रतिशत, बिर्तामोड– ३७ दशमलव ४३ प्रतिशत, हल्दिबारी –३२ दशमलव ३९ प्रतिशत, भद्रपुर– ३० दशमलव ४७ प्रतिशत, र कचनकवल– १७ दशमलव ४४ प्रतिशतमा रहेको तथ्यांकले देखाएको छ ।