उर्लाबारी. ११ फागुन । कार्यसम्पादन मूल्यांकनमा मोरङका नगरपालिकामध्ये उर्लाबारी नगरपालिका उत्कृष्ट बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याकंन गरी अंक प्रदान गरि सार्वजनिक गरिएको छ । जम्मा १६ वटा सूचकहरु मार्फत प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।
उर्लाबारी नगरपालिका मोरङका महानगरपालिका र नगरपालिकाहरु मध्ये सबैभन्दा उत्कृष्ट भएको छ भने गाउँपालिकाहरु सहितको तुलनामा केराबारी गाउँपालिका सबैभन्दा उत्कृष्ट भएको छ । उर्लाबारी नगरपालिकाले ३५.१८ अंक प्राप्त गरेको छ भने केराबारी गाउँपालिका बाहेक अन्य पालिकाहरुले उर्लाबारी नगरपालिकाभन्दा कमजोर अंक हासिल गरेका छन् । गत आर्थिक वर्षमासमेत उर्लाबारी नगरपालिका जिल्लाकैउत्कृष्ट पालिकाको रुपमा आयोगले अंक प्रदान गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिका ६१.८१ अंक प्राप्त गर्दै नेपालकै उत्कृष्ट बन्न सफल भएको छ ।
सूर्योदय र रोङ प्रथम
इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिका कार्यसम्पादन मूल्यांकनमा इलामका स्थानीय तहमध्ये पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकन नतिजामा सूर्योदय ४१.८५ अंकसहित जिल्लाको पहिलो भएको हो ।
जिल्लाको दोस्रो भएको देउमाई नगरपालिकाले ३८.९ अंक ल्याएको छ । नजिताअनुसार रोङ गाउँपालिका ३८.३६ अंकसहित तेस्रो र जिल्लाका गाउँपालिकामध्ये पहिलो भएको छ । जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका ३७.५९ अंकसहित चौथो भएको छ भने ३४.१७ अंकसहित सन्दकपुर गाउँपालिका पाँचौं भएको छ । माइजोगमाई गाउँपालिका ३३.७८ अंक ल्याएर छैटौं हुँदा ३३.४२ अंक ल्याएको माङ्सेबुङ गाउँपालिका सातौं स्थानमा छ । चुलाचुली गाउँपालिका ३१.८६, फाकफोकथुम गाउँपालिका ३०.९४ र माई नगरपालिका २८.३ अंकसहित क्रमशः आठौं, नवौं र १०औं भएका छन् ।
केही महिनाअघि सार्वजनिक तथ्यांकअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिजामा पनि सूर्योदय नगरपालिका ९६ प्रतिशत अंकसहित जिल्लाको उत्कृष्ट भएको थियो ।