दमक, २४ माघ। दमक नगरपालिका कार्यालयले विभिन्न प्रतियोगितामा उपाधि जित्न सफल आफ्नो क्षेत्रका भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ । पछिल्लो समय ४ स्थानका प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई नगरपालिकाको तर्फबाट एकै कार्यक्रमको आयोजना गरेर नगर प्रमुख राम कुमार थापाको अगुवाईमा नगद सहितले सम्मानित गरिएको हो । सो अवसरमा खेलाडीहरुले ती प्रतियोगितामा हात पारेका कप र ट्रफी नगरपालिकालाइ हस्तान्तरण समेत गरेका छन् ।
दमकका खेलाडीहरुले भोजपुरमा माघ ९ देखि १२ गतेसम्म संचालित प्रदेशस्तरीय अन्तरपालिका आमन्त्रण भलिबल र कार्तिक २० देखि २८ सम्म संखुवासभा सिलिङ्गचोङ्ग गाउँपालिकामा प्रदेशको पालिकास्तरीय भलिबल प्रतियोगितामा प्रथमस्थान हाँसिल गरेका थिए । त्यस्तै, तेह्रथुम जिल्ला आठराई गाउँपालिकामा असोज ७ देखि ९ सम्मको प्रदेशस्तरीय पालिका भलिबल प्रतियोगतिमा समेत दमकले प्रथम स्थान हाँसिल गरेको थियो । यसैगरी, झापा भद्रपुरमा कार्तिक १५ देखि १८ सम्म जिल्लाको पालिकास्तरीय भलिबलमा दमकको टिमले दोश्रो स्थान हाँसिल गरेको थियो । पुरस्कार प्रदान गर्दै नगरप्रमुख थापाले नगरको खेलकुदमा पालिकाले सधैं साथसहयोग प्रदान गरी खेलप्रति प्रोत्साहित गर्ने बताउँदै सवैलाई बधाई ज्ञापन गरे ।