मुख्य स्थानीय

दमक महोत्सवको तीव्र तयारी

दमक, २४ माघ। दमक उद्योग वाणिज्य संघले यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म दमकमा सञ्चालन हुने प्रदेशस्तरीय पाँचौ दमक महोत्सवको तयारीमा तीव्रता दिएको छ ।

महोत्सवको समय नजिकिएसँगै संघले प्रचारात्मक कार्यलाई तीव्रता दिनुका साथैं महोत्सवस्थलको तयारीका कामहरु धमाधम भइरहेको आयोजक संस्था दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागार्इंले जानकारी दिए । महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा किनारमा हुने छ । महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईले बताएका छन् ।

महोत्सवमा औद्योगिक व्यापार, पर्यटन, प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुनेछ । महोत्सव सफल बनाउन संघले बरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक खड्काले महोत्सव सफल बनाउन सरोकारवालाहरुसँग अन्तरकृया समेत गरिएको बताए । राजनीतिक दल, सामाजिक संघसंस्था तथा आदिवासी जनजातिका अगुवाहरुसंग महोत्सवका सन्दर्भमा छलफल गरिएको उनले जनाए ।

महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईंले जनाए । महोत्सवको बचत रकम निर्माणाधिन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने छ ।

Author

You may also like