मुख्य स्थानीय

सडक व्यवस्थापनमा नगरको सक्रियता

विमल लामिछाने,

दमक, २५ माघ। दमक नगरपालिकाले बढ्दो सहरीकरणसँगै सडक व्यवस्थापनका लागि एशियाली विकास बैंक (एडीबी) सँगको विशेष योजनाकालागि कार्यक्रम प्रस्ताव अघि बढाएको छ ।

आरयूडीपी अन्तर्गत पूर्वी सहरी करिडोर आयोजनामार्फत सडक योजना कार्यान्वयनका लागि दमक नगरपालिकाले सडकको स्तरोन्नती सहितको व्यवस्थापनमा विशेष योजना प्रस्ताव अघि बढाएको हो । विभिन्न सहरमा लगानीका लागि दातृनिकायले चासो लिएसँगै एशियाली विकास बैंकले ऋण सहयोगमा लगानी गर्ने भएपछि दमक नगरभित्र साढे ४५ किलो मिटर बढी बाटो कालोपत्रे गर्ने प्रश्ताव पेश गर्न तयारी भएको छ ।

नगरले प्रस्ताव गरेका ३२ वटा सडकमध्ये वडा नम्बर ६ र ७ बाहेकका सबै ८ वटा वडा समेटिने गरी २६ वटा सडक योजनाका लागि प्रस्तावका रुपमा अघि सारेको हो । जसको मापदण्ड पूरा गर्न नगरले काम अगाडी बढाएको छ । योजनाका लागि सडक क्षेत्रको स्थलगत अवलोकन अध्ययन (प्रि फिजिविलिटी सर्भे) सकेर अव डीपीआर बनाउने कामको तयारी गर्दै गरेको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए । उनका अनुसार अब तोकिएको मापदण्ड पूरा गर्नसके सरकारसँग एशियाली विकास बैंकले ऋण सम्झौता गरेपछि कालोपत्रेको काम शुरु हुनेछ । ‘पूर्वी सहरी करिडोरले कोशी प्रदेशका ६ वटा पालिकासहित दमकलाई पनि छनौट गरी डीपीआर पठाउन भनेको हो । यो नगरवासीका लागि राम्रै उपलब्धी बन्ने विश्वास छ । डीपीआर पठाएपछि अध्ययन गरेर योजनाको निर्णय गर्नेछ ।’– इन्जिनियर सेनेहाङले पूर्वसन्देशसँग भने । उनका अनुसार दमक ६ र ७ मा भने पूर्वी सहरी करिडोरको मापदण्डभित्र पर्नसक्ने सडक हाल नभएकाले योजनामा पर्न नसकेको हो । योजनामा परेका सडकहरुमा अहिले रुख कटान र बाटोले छुने टहराहरु हटाउने काम भइरहेको छ ।

योजना अनुसार दमकमा दुई किसिमका सडक बन्नेछन् । फुटपाथ, साइकल लेन र सडक बत्ती सहितको ५० फुटे सडक पहिलो प्राथमिकतामा र सडक बत्ती सहितको सडक दोस्रो प्राथमिकतामा रहने छन् ।

सहरीकरणको उचित व्यवस्थापनका लागि सडकको स्तरोन्नतीमा पछिल्लो समय दातृनिकायले लगानी गर्न इच्छा राखेपछि दमक नगरपालिकाको पहलमा योजना प्रस्ताव पेश गर्नकालागि नगरले अवसर पाएको दमक नगरपालिका प्रमुख रामकुमार थापाले जानकारी दिए । उनले भने– ‘यो योजना अनुसार माघ २० सम्ममा सडक क्षेत्रभित्र पर्ने रुख विरुवा र टहरा हटाउने काम भयो । अब, हाम्रो योजना पर्ने हिसावले मापदण्ड पुरा गरेर योजना ल्याउने कुरामा हामी लागिपरेका छौं ।’

प्रमुख थापाका अनुसार यी ठूला योजनाका साथै नगरभित्र सडकका साना योजना र ढलले विगारेकादेखि विभिन्न कारणले भत्किएका बाटाहरु पुननिर्माण गर्ने, मर्मत गर्ने लगायतका कामहरु भइरहेका छन् ।

कति छन् निर्माणाधिन अवस्थाका सडक ?

दमक नगरका सहरीक्षेत्र अन्तरगत ८६ दशमलव ८० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने १२४ किलोमिटर ग्राभेल रहेको छ । ग्रामिण क्षेत्र अन्तरगत १६ दशमलव ४० किलो मिटर कालोपत्रे र ३ दशमलव ४ किलोमिटर ग्राभेल रहेको छ भने ४२ किलो मिटर ‘माटे सडक’ रहेको छ ।

दमक नपाको योजना शाखा सह इन्जिनियर कमलप्रसाद दाहालका अनुसार चालु आर्थिक वर्ष ०८०÷८१ मा दमक नपामा १३ वटा सडकहरु निर्माणाधिन अवस्थामा रहेका छन् । जस अनुसार वडा नम्बर १ को हवल्दार चोक उत्तर, २ को सरस्वती मार्गको सडकको काम ८० प्रतिशत सकिएको छ । वडा नम्बर ३ को चुलाचुली मावा, ४ को मालपोतबाट उत्तर, ५ को धनेश्वर मार्ग, ५ कै यलम्बर चोकबाट मालपोत ( प्रदेश सरकारको समपुरक अनुदानमा), ६ को थानाचोक फुटपाथबाट मेची सहकारी हुँदै जेसीज चोकसम्म, ७ को नव श्रृजना मार्ग, ८ को मुक्तीघाट मार्गको काम सुरु हुने चरणमा छ । ९ को पाणीनी माविबाट पश्चिम, ९ कै कञ्चन क्रियाशील मार्ग र १० को संगम चोकबाट रतुवा जाने बाटो निर्माणाधिन अवस्थामा रहेका छन् । यसैगरी तारावारी डिपुचोक मार्ग विश्वबैंकको लगानीमा बहुवर्षे योजना अन्तरगत रहेको छ ।

Author

You may also like