दमक । एमालेभित्र कुनै गुट छैन, विशुद्ध एमाले छ भन्ने अध्यक्ष केपी शर्मा ओलीको उद्घोषले फेल खाएको छ । मोरङ जिल्लाको १० औं अधिवेशनले देखाएको परिणाम र मध्यपश्चिम हिमाली जिल्ला रसुवाका एमाले जिल्ला अध्यक्षले राजीनामाले एमालेभित्र भित्रै गुटको राजनीति उत्कर्षमा पुगेको बुझ्न कठिन पर्दैन । आन्तरिक तिक्तता र द्वन्द्व उत्तिकै देखिएको नेकपा एमाले मोरङको दशौं महाधिवेशनमा केपी शर्मा ओली पक्षलाई हराएर विनोद ढकाल पक्षले जिल्लामा कब्जा जमाएको छ भने उता पश्चिममा पार्टीले अत्याधिक दुःख दिएको भन्दै रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले राजीनामा दिएका छन् ।
यो एउटा संयोग पनि हुनसक्ला तर नेकपा एमालेले भटाभट विरोध गर्नेहरुलाई पार्टीबाट निस्कासनले विरोध नसकिने प्रमाण पनि जुटाएको छ । पार्टी सञ्चालनमा सच्चिएर अगाडि बढ्न मार्गदर्शन गर्ने प्रतिनिधिमूलक घटना यिनै बन्न सक्दछन् ।
जसमा अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका छन् ।
संस्थापन पक्ष सत्ता र शक्तिको दुरुपयोग गर्दै अर्को पक्षलाई रोक्न खोज्दा पनि मोरङमा असफल हुँदाको सन्देश के हो? आफ्नो समूहका उम्मेद्वारहरु विजयी बनेपछि नेता विनोद ढकालले नवौँ महाधिवेशन पछिको अवधिमा नेताहरूले गरेको गलत क्रियाकलापको जवाफ कार्यकर्ताले दिएको प्रतिक्रिया दिए ।
‘नेता कसले छान्ने, कार्यकर्ताले कि नेताले? नेतालाई कार्यकर्ताले छान्नुपर्छ भन्ने मान्यताले जितेको छ,’ उनले भने– ‘नवौँ अधिवेशन यताको अहिलेसम्मको अवधिमा एमाले मोरङमा विभिन्न प्रश्न उठेका छन् । कार्यकर्तालाई विभेद भयो, अन्याय भयो । यो सबै कुराको एकमुष्ट जवाफ कार्यकर्ताले निर्वाचनमार्फत दिए ।’
उनले स्पष्ट रूपमै आफूले अजम्बर राईलाई सहयोग गरेको बताए । अब मोरङको पार्टी एक ढिक्का हुने उनको भनाइ थियो । उता, अध्यक्षमा निर्वाचित अध्यक्ष अजम्बर राईले अब पार्टीलाई एक ढिक्का बनाउँदै छरिएर रहेका एमाले कार्यकर्तालाई एकत्रित अघि बढ्ने बताए । उनले पार्टीलाई विधि र नीतिको आधारमा चलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
निर्वाचित उपाध्यक्ष सागर थापाले भने आफूलाई कार्यकर्ताले न्याय दिएको बताए । ‘मलाई अन्याय गरिएको थियो । मैले गर्दै नगरेको कामको सजाय मलाई दिइएको थियो । त्यसका विरुद्धमा आम कार्यकर्ताहरू सङ्गठित भएर लाग्नु भयो र मलाई न्याय दिनुभयो,’ थापाले भने, ‘यो लडाई पार्टी बिगार्ने र सपार्ने बिचको लडाईं पनि हो । अब हामी पार्टी निर्माणमा लाग्छौँ ।’
उनले कोही नेतालाई भेट गरेकै आधारमा कारबाही गर्ने दिन गएको पनि बताए । ‘कार्यकर्ता साथीहरू नेताको घरमा जाँदा कारबाही हुने दिन गए । कार्यकर्तालाई सम्मान गर्ने दिनको सुरुवात भयो । म माथि गरेको कारबाही व्यक्तिगत थियो । आज सिङ्गो पार्टी कमिटीमा हेपिएका र अन्यायमा परेकाहरूले जितेका छन्,’ उनले भने । एमाले मोरङमा ओली समूहले नेता विनोद ढकाल समूहलाई पेल्दै आएको थियो । उक्त समूहका नेता तथा कार्यकर्तालाई बोलेकै भरमा कारबाही गर्ने, जिम्मेवारीविहीन बनाउने लगायतका काम भएको थियो ।