राजनीति
दमक । देशमा गणतन्त्र आएपछि सरकारद्वारा गरिएका काम कारवाहीले जनतामा असन्तुष्टि अत्याधिक बढाएको छ । भ्रष्टाचार अत्याधिक बढेको, सुशासन कायम गर्न नसकेको अवस्थामा गणतन्त्रमा चुनौति आएको छ । गणतन्त्रको स्थापनामा जनअपेक्षा अनुसारका कामहरु सरकारले गर्न सकेको छैन । राजनैतिक दल, नेता र कर्मचारीतन्त्रको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचारी र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको छ । देश विकसित हुँदै जानुपर्नेमा रसातलतिर लम्कँदैछ। बेरोजगार युवाहरुले देशभित्रै रोजगारी पाउनुको सट्टा हजारौं दैनिक विदेश जान बाध्य पारिएको अवस्था छ । देशमा दिइने सेवा सुविधामा कुनै ‘सिष्टम’ प्रणालीको विकास गर्न नसकेर जनताले सदैव सास्ती भोगिरहनु परेकालगायत सन्दर्भले पनि जनतामा सरकार हुँदै व्यवस्थाप्रति नै वितृष्णा बढ्न गएको देखिन्छ । जनअपेक्षा अनुसारका काम नभएपछि त्यसलाई आधार बनाएर विरोध गर्नेहरुको लर्कौ मात्र लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा ठाउँ ठाउँमा विरोधका नारा लाग्ने गरेका छन् । शासन व्यवस्था राम्रो हुँदा हुँदै पनि सबैलाई अटाएर, समेटेर लैजाने नसक्नु नै सरकराको असक्षमता देखिन्छ । विरोध किन र केका लागि भयो भनेर सोही अनुसारको रणनीति सरकारले बनाउनुको सट्टा सरकारका गतिविधि नै आशंकाको घेरामा पर्न थालेपछि युवा पुस्तालाई अझ आक्रोशित तुल्याएको छ । राज्यको सरकार निष्पक्ष र स्वतन्त्र रहनुपर्नेमा आफ्नो संरक्षण गर्ने अरुलाई जेल हाल्ने जस्ता अप्रजातान्त्रिक, गैरजिम्मेवार र मानवअधिकार विरोधी गतिविधिकै कारणले पनि व्यवस्थाको विरुद्धमा आवज उठेको देखिन्छ । कुशासनको मापदण्ड यति माथि पुग्यो कि राजसंस्था हुँदा भन्दा गणतन्त्रमै ठिक होला कि भनेर थपक्क नारायणहिटी छोडेर हिंडेका राजालाई समेत बोल्न बाध्य पारिएपछि परिस्थिति अर्को बन्न थालेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ का दिन पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि हौसिएर सक्रियतापूर्वक लाग्दै आएको राजावादीहरुका विभिन्न खेमामा विभक्त दल तथा समूहहरु एक ठाउँमा उभिने क्रम बढ्दो छ ।
यतिखेर राजावादीको आन्दोलन र राजाको विषयमा विभिन्न पाटाबाट बहस टिकाटिप्पणी चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसहित अन्य साना ठुला समूहहरु यतिखेर एकत्रित भएर राजालाई गद्दीमा बसाउने उद्देश्यका साथ देश दौडाहामा कार्यक्रम गरिरहेका छन् । त्यसो त पूर्व राजा ज्ञानेन्द्र पनि धार्मिक कार्यक्रमको आधार मानेर काठमाडौं बाहिरै रहेका छन् । उनै पूर्व राजा फागुन २५ गते काठमाडौंमा आउने र त्रिभुुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाटै ‘नारायणहिटी राजदबार’ अर्थात नारायणहिटी दरबार संग्रहालयभित्र पदासिन गराउने उद्देश्य रहेपनि त्यो कार्यक्रम भने हटाइएको छ । र अब एयरपोर्टबार्ट सिधै सितल निवास पुर्याउने कार्यक्रम तय भएको राप्रपाका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् । शाहीका अनुसार उक्त दिन राजाको स्वागतको लागि काठमाडौँ एअरपोर्टमा लाखौं जनता सडकमा आउने देखेपछि तीनओटै दलका शीर्ष नेताहरू एवम् स्वयं प्रधानमन्त्री महोत्तरी पुगेर विभिन्न आरोपहरु लगाउन थालेको बताए । शाहीले भने – यही हो राजाको असली गुण जनता खुसी हुने भ्रष्टाचारी र देशद्रोही डराउनुपर्ने भनेर टिप्पणी गरेका छन् । उनले अब पनि विदेशीको हरियो डलर खाएर जात–जातिका नाममा दाजुभाइ लडाएर आफ्नो राजनीतिको रोटी सेक्ने धर्म संस्कार संस्कृति मास्ने र राष्ट्रको हित विरुद्ध कदम चाल्ने सोच मात्रै राख्नु भएको छ भने त्यसको फैसला अदालतमा होइन जनताले सडकमा गर्ने चेतावनी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन् । उनले नेता मोटाउदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको
अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको जिकिर थियो । “यस्तो अवस्थामा अब अभिभावकीय संस्थाका रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न आवश्यक रहेको दावी लिङ्देनको छ ।
राप्रपा निर्देशन समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्रका दृष्टिमा देश समस्यामा रहेको रहेको बताए ।
यता शुक्रबार झापामा आएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफुले राजा नै भन्ने गरेको बताएका छन । उनले विश्वमा पूर्व राजा भन्ने कहिँ पनि नहुने हुँदा राजा नै भन्ने गरेको स्पष्ट पारे ।
झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । राजाका पक्षमा बनेको माहोलका सन्दर्भमा उनले भने राजा फर्काउनु पर्छ भन्ने मत संसारको जुनसुकै देशमा हुने गरेको छ । ‘राजाको शासन सकिएको सयौं बर्ष बितिसक्दा पनि ती देशहरूमा राजा ल्याउनुपर्छ भन्ने मत आज पनि छ ।’ उनले राजाका गतिविधिको विरोध भन्दा जनतालाई कतिको खुशी बनाउन सकिएको छ त्यो महत्वपूर्ण भएको बताए । ‘हामीले जनतालाई कतिको सेवासुविधा दिएर खुशी पारेका छौं, त्यो महत्वपूर्ण कुरा रहेको उल्लेख गरे । राजा फर्काउने मुद्दा बोकेर हिँडिरहेका पार्टी वा समूहबारे काँग्रेस नेता कोइरालाले उनीहरूले कोशिश गरेका तर संभव नहुने उनको भनाइ थियो । जनताको असन्तुष्टिलाई सरकारले राम्रा काम गरेर सन्तुष्ट बनाउनुपर्ने उनले बताए । उनले भने, ‘राजावादीहरूको कुरालाई प्रतिवाद गरेर होइन जनतामुखी काम गरेर मन जित्नुपर्छ।’ पूर्वराजा तथा राजावादीहरूको गतिविधि नियन्त्रण गर्ने भन्ने विषय आफूले सुनेको तर उनीहरूका गतिविधिहरूलाई प्रतिवाद गरे त्यो मुर्खता हुने उनले बताए ।
यसैगरी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अधिकार कुनै शासक र राजा महाराजाले दिएको नभई जनताले आफ्नै बलमा खोसेर लिएकाले त्यसको रक्षा, प्रयोग र विकास गर्न माओवादीलाई बलियो बनाउनुपर्ने उनको तर्क छ । पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधन र राजावादीहरुको गतिविधिप्रति इंकित गर्दै उनले आन्दोलनको बलमा गलहत्याइए जनताकै बलबाट समाप्त पार्ने चेतावनी पनि दिए ।
यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेताहरुको गाउँ–गाउँबाट लखेट्न आफ्ना समर्थकलाई अपिल गरेका छन् । २५ गतेको कार्यक्रमका बारेमा पत्रकार सम्मेलन गर्दै राजतन्त्रको झिल्को बलिसकेको जिकिर गरे । ‘दुर्गा प्रसाईले थालेको अभियानमा अहिले झिल्को मात्र बलेको हो, आगो बल्न बाँकी नै छ’, उनले भने, कतिपयले पूर्व राजालाई एयपोर्टबाट सिधै नारायणहिटी लगिने भनी गरिएको प्रचार खण्डन गर्दै प्रसाईंले तत्काल लागि उक्त योजना स्थगित भएको बताए । ‘अहिले नारायणहिटी हैन, एयरपोर्टबाट निर्मल निवास पुर्याउने हो । तर, राजतन्त्र फर्काउन हामीलाई कसैले रोक्न सक्दैन’, उनले भने ।
यसैगरी प्रसाईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारले नजरबन्दमा राख्ने तयारी गरिरहेको दाबी गरेका छन् । उनले राजतन्त्र पुनःस्थापनाको पक्षमा देशव्यापी माहोल बनेपछि सरकार अत्तालिएर पूर्व राजालाई नजरबन्दमा राख्ने प्रपन्च गरेको बताएका हुन् । सूत्रको हवाला दिँदै प्रसाईले आफूलाई झूठा मुद्दा लगाएर समात्ने तयारी भइरहेको जिकिरसमेत गरे ।
