समाचार

महारानीझोडा सहकारीको झण्डै ११ करोडको कारोबार

गौरादह/झापाको महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा १० करोड ९६ लाख १ हजार १ सय ९२ बराबरको कारोबार गरेको छ ।
संस्थाको २२ औं साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष मित्रदेब काफ्लेले संस्थाले गरेको कारोबारका बारेमा सेयर सदस्यहरुलाई जानकारी गराउँदै संस्थाको कुल शेयर पुँजी १ करोड २९ लाख ९३ हजार १ सय रहेको र संस्थाले यस आर्थिक वर्षमा ३४ लाख ६ हजार ३ सय ४७ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।
कोरोना भाइरस संक्रमणका कारण कार्यक्रमलाई छिटो छरितो बनाउन अध्यक्ष काफ्लेले संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन छोटकरीमा प्रस्तुत गरेका थिए । कोरोनाका कारण भीडभाडका साथ साधारणसभा गर्न नसकिने अवस्था सृजना भएकाले शनिबार सुरु गरिएको साधारणसभा २९ गते सम्म रहने अध्यक्ष काफ्लेले जानकारी गराए । १ हजार २ सय ७६ जना सेयर सदस्य रहेको संस्थामा सबै जना एकैसाथ जम्मा हुँदा भीडभाड हुने भएकाले साधारणसभाको अवधि ४ दिन राखिएको अध्यक्ष काफ्लेले बताए ।
संस्थाको आफ्नै हलमा संचालन गरिएको साधारणसभामा वडा नं–५ का वडाध्यक्ष तथा साधारणसभाका प्रमुख अतिथि छत्रपति सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । साधारणसभाको समापनका अवसरमा आगमी असोज ५ गते पुरस्कार तथा सम्मानको कार्यक्रम राखिएको संस्थाका कोषाध्यक्ष युवराज बाँस्कोटाले जानकारी गराए । साधारणसभाको उद्घाटनको अवसरमा संस्थाका संस्थापक अध्यक्ष रमेश खरेल, संस्थाका संस्थापक उपाध्यक्ष कपिलमणी काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका उपाध्यक्ष जगनाथ खनालले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब बेदु भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

You may also like