लेख

व्यंग्य: घरमूलीको पत्रकार सम्मेलन

आदरणीय घरका तमाम सदस्यहरु एवं पत्रकार ज्यूहरु ।

आज हाम्रो घरको बारेमा विशेष खुलासा गर्नुपर्ने भएकोले गर्दा हामीले यो पत्रकार सम्मेलनको आयोजना गरेका हौं ।

हाम्रो घर एउटा प्राचीन घर हो । पुरातात्विक घर हो । तर यसलाई युगगुगसम्म जस्ताको तस्तै राखिरहनु बुद्धिमानी काम होइन ! परिवर्तन अनिवार्य कुरा हो । संसारले कति फड्को मारिसक्यो विकास र संबृद्धिले ! हामी भनें जहाँको तहीं छौं । किनभने हामीमा सामन्ती सोच छ । सडेगलेका कुरामा मात्रै हाम्रो मोह छ । त्यसैले यो घरलाई पुनर्संरचना गरेर बिदेशीहरुको जस्तै आधुनिक बनायौं । अहिले घर किन यस्तो बनाको भनेर मेरै छोरालबुहारी बाउँठिराखेका छन् । तर केही फरक पर्दैन । संबृद्धिको यात्रामा घर अघि बढ्यो बढ्यो !

यसका प्रत्येक इँटामा उहिलेका मान्छेहरुको रगत र पसिना सिँचेको छ । त्यसैले यसमा त्यो रगत र पसिना नराम्रोसँगले ह्वास्स गनाएको थाहा पायौं हामीले ! उनीहरुले यो घर बनाउँदा गाउँका मान्छेलाई काम लगाए । ढुङ्गा बोकाए । काठ बोकाए । माटो बोकाए । पानी बोकाए । अनि तिनैलाई घर बनाउन लगाए । नटेर्नेहरुका नाककान काटे । यसको निर्माणमा छिमेकीहरुको योगदान थियो, तर देखिएन, देखाइएन । तिनको नाम पनि आएन । त्यहीभएर हामीले यो घरलाई भत्कायौं । त्यो कालो इतिहास मेट्नका लागि भत्कायौं । अग्रगमनकालागि भत्कायौं । स्वाभीमानकालागि भत्कायौं । नयाँ घर निर्माणकोलागि भत्कायौं । नयाँ सोचको विकास गर्न भत्कायौं । छिमेकीहरुले दिएको नूनपानीका बलले भत्कायौं । सुनपानीका ऊर्जाले भत्कायौं ।

घरका प्रत्येक कुनामा इतिहासको बिरासत झल्किने अवयवहरु थिए । उसबेलाका कला थिए । बुट्टा हानेका भित्ता र दलिनहरु थिए । ढोका र भ्mयालहरु थिए । तर ती सबै उसबेलाका राजामहाराजाहरुको बिम्ब झल्किने थिए । सामन्तहरुको जीवनशैली झल्किनेहरु थिए । तिनले बोकेका खुकुरीका चित्रहरु थिए । तिनले चढेका महसुर घोडाहरु थिए । तिनले लडेर जितेका जंगली जनावरका बिम्बहरु थिए । हामीले धेरै सोच्यौं, यस्ता कुराले घरको संबृद्धिमा के योगदान दिन्छ ? ती कलाकृति एक्सपायर भइसके । अब तिनको कुनै पनि काम देखिएन । न त ती कसैले सिक्छन्, न त ती सिकेर कसैलाई केही फाइदा हुन्छ । बरु ती नष्ट गरिदियो भने नूनपानी र सुनपानी आउँथ्यो । त्यसकोलागि छिमेकीहरुले राम्रै कनेक्सन मिलाइ दिए । डोनेसन मिलाइ दिए । हामीलाई निकै राम्रो आयआर्जन भयो । हाम्रा ढिकुटी भरिए । हाम्रा बालबच्चाले उनीहरुका घरमा गएर पढ्न पाए । बढ्न पाए ।

यो घर प्राचीन बास्तुकलाको एउटा उत्कृष्ट नमूना थियो । हामीलाई छिमेकीहरु आएर भने, यो घर भत्काएर हाम्रो मोडलमा बनाऊ । हामी तिमीहरुको जीवनमा खुसी ल्याइदिन्छौं । तिम्रा पेटका सारा कुनाहरु भरिदिन्छौं । मनका कुनाहरु रंगाइदिन्छौं । हामीले नि सोच्यौं, आखिरी यो आधुनिकन देखिने घरमा बसेर आधुनिक हुन नि नसकिने, पैसो पनि कतैबाट नआउने भएकाले हामीले यसलाई भत्काएका हौं ।

यो भत्काएपछि हाम्रा घरमा संबृद्धि नै संबृद्धि आएको छ । छोराछोरी पृथ्वीलोकका कुनाकुनामा गए आफनो क्षमता अनुसारको काम गर्न । पढ्न गए । बस्नगए । पैसा कमाउन गए । घरजम गर्न गए । छोराछोरी जन्माउन गए । तर गए । अनि ती अहिले पैसो कमाइरहेका छन् । तिनले पैसो पठाउँछन् । हामी बसीबसी खान्छौं । तिनले पैसो पठाउँछन्, हामी खर्च गर्छौं । हाम्रा खेत र बारीहरु बञ्जर भएका छन् । हामी तिनमा खेती नि लाउँदैनौं । कामगर्ने मान्छे छैनन्, पाइदैनन् पनि । ती सबै सबै अहिले बाँभैm छन् । बाँदरघारी भएका छन् । दुम्सीघारी भएका छन् । स्यालघारी भएका छन् । जंगलामुलुक भएका छन् । हरेक दश वर्षमा लाखौंका रुख बेच्नेगरी बढेर आउँछन् । हरियो वन, हाम्रो धन भएको छ । हामी यही जंगललाई स्पर्श गरेर बाँच्छौं ।

यो घरका प्रत्येक कोठामा पहिलेका मान्छेहरुले युद्ध जितेर आउँदा लगाएका माला र पदकहरु यत्रतत्र झुण्डिएका थिए । ती दुःख र क्रुर समयलाई सम्झिरहनु हुँदैन भन्ने हाम्रो निश्कर्ष रह्यो । हाम्रा भावी सन्ततीहरुलाई पनि यी देखाउनु हुँदैन भन्ने रह्यो । यिनले अग्रगमन सोच्न दिँदैनन् भन्ने रह्यो । यी कुराहरु मनमा गमिरहनु भनेको प्रतिगामी हुनु हो भन्ने रह्यो । तिनले आजको विश्वमा उदाइरहेका अत्याधुनिक प्रविधि जान्नु पर्नेमा यी फाल्तु कुरा जानेर बेकार समयको नाशमात्रै हुन्छ भन्ने हामीलाई लाग्यो । अब यी सबै सामान संग्राहालयमा राखेर बिदेशीहरुलाई देखाउनु पर्छ भन्ने लाग्यो । अनि त्यसबाट बिदेशी डलर कमाउनु पर्छ भन्ने लाग्यो । र हामीले त्यसो गर्न एउटा सहमति बनायौं लाखौं खर्च गरेर ।

घरमा विशाल पुस्तकालय थियो । सनातन ज्ञान र भण्डारका किताब थिए । विज्ञान र प्रविधिका किताव थिए । इतिहास, धर्म र संस्कृतिका किताब थिए । गीता, महाभारत, रामायण, चार बेद र पूराणका किताब थिए । भाषा, साहित्य र संस्कृतिका किताब थिए । हामीलाई लाग्यो, यस्ता फाल्तु किताव पढेर समयको नाश हो भन्ने लाग्यो । यस्ता पढेर एउटा सामन्तमात्रै जन्मिन्छ भन्ने लाग्यो । डिजिटलको युगमा थोत्रे किताब पढ्नु भनेको समयको जिजिबिषा नबुभ्mन हो भन्ने लाग्यो । यस्ता वाइयातकिताब पढाएर हाम्रा सन्ततीलाई प्रतिगामी बनाउनु हो भन्ने लाग्यो । अनि हामीले ती सबै पुस्तकहरु बाहिर निकालेर जलायौं । खरानी बनायौं । अनि नारा लगायौं । उत्सव मनायौं, पुरातनवादी सोच निर्माण गर्ने कारखाना समाप्त पा¥यौं ।

यो घरमा उसबेला जन्मिएका मान्छेहरुका फोटा पनि मिल्कायौं । किनभने तिनीहरुलाई सम्झेर हाम्रा छोरा नाति नअल्मलिउन् भन्ने सोच्यौं । युरोपेली महान विचारकहरुका फोटा थमाएर तिनको आदर्श पढ्न लगाउनु थियो हाम्रा सन्ततीहरुलाई ।

समग्रमा त्यस्ता स्मारक जस्ता घरहरुले बजारको सुन्दरतालाई खलल पु¥याउने भएकाले तिनलाई डोजर लगाएर भत्कायौं । र, उनीहरुको मोडलको घर बनायौं । यो नयाँ छ । अग्रगामी छ । यसो गर्ने यो हाम्रो साहसिक निर्णय थियो । आज यो घरमा डलर मात्रै भित्रिएको छैन, विदेशी धर्म, संस्कृति र जीवनशैली पनि भित्रिएको छ । भूमण्डलीकरणको जीवन्त अभ्यास पनि भित्रिएको छ । खानपानमा भातको साटो बर्गर भित्रिएको छ । दौरा सुरुवाल र सारीको साटो हट पैंट र टी सर्ट भित्रिएको छ । अनि सबैभन्दा महान कुरा, पश्चिमाहरुको दिमाग भित्रिएको छ । उनीहरुको भाषा र धर्म भित्रिएको छ । र, हाम्रा डेट एक्सपायर भएका सारा अवयवहरु नाश गरेका छौं । हामी अब हामी जस्ता किन हुने ? असभ्य र दुखी किन हुने ? युरोपियन र अमेरिकी जस्तो हुनु हाम्रो महान उपलब्धी हो । यसलाई नकार्न एकखाले प्रतिगामीहरु हत धोएर लागेका छन् । तर यो घरको अधिपति हामी हौं, हाम्रो अधिकार चल्छ । एक दुई जनाले पाखुरा सुर्किएर केही हुँदैन ।

जे हामीले उपलब्धी गरेका छौं यो घरलाई परिवर्तनको आँधिबेहरी ल्याएर, त्यसको रक्षा गर्न हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौं ।

जय घर !

पत्रकार मित्रहरु, यहाँहरुका केही प्रश्नहरु भए अर्को सोमबार सोध्नु होला ।

You may also like