शाहवंशीय राजालाई गद्दीबाट हटाउने कार्यलाई मात्र गणतन्त्रको ठूलो उपलब्धी ठान्दैछन्, यसबेला प्रमुख राजनीतिक दलका नेताहरु । गणतन्त्र घोषणा पछिका राजनीतिक दलका नेतृत्व वर्गका गतिविधिलाई नियाल्ने हो भने यहाँ धेरै जनता ज्ञानेन्द्र शाहहरुको अभ्यूदय भइसकेको छ । गणतन्त्रको खोक्रो नारा दिएर तमाम नेपाली समाजका आशा र भरोसामा फेरी पनि तुषारापात हुने अवस्थाको राजनीतिक वातावरण बन्यो भने हिजोको संसदीय अभ्यास र अहिलेको संक्रमणकालीन गणतान्त्रिक राजनीतिक व्यवस्थामा फरकपनको अनुभूति र आभाष हुनै सक्दैन । यस्तो अनुभूति आम नागरिक समुदायले गर्न पाएनन् भने जनयुद्ध र जनआन्दोलनको उपलब्धी शुन्यमा परिणत हुन जानेछ । हजारौं निर्दाेष सिधा साधा व्यक्तिहरुलाई राजनीतिको मिठो सपना देखाएर बलीको बोका बनाई आफ्नो अभिष्ट पूरा गर्ने नेतृत्व वर्गको कार्य र उनीहरुको गतिविधिलाई सचेत नागरिक वर्गले सूक्ष्म ढंगले नियालीरहेका छन् । संसदीय कालको सरकार र गणतन्त्र घोषणा पछिको सरकारमा खासै फरक नपाइएको गुनासो नागरिकहरुको छ । व्यवस्था फेरिँदैमा सबै राम्रो हुन्छ भन्ने सोचाई थियो तर गलत रहेछ । जबसम्म राजनीति गर्ने राज्य सञ्चालकहरुको सोच र व्यवहारमा परिवर्तन आउँदैन तबसम्म व्यवस्था फरक भएर मात्र केही फरक नपर्ने रहेछ । व्यवस्था आफैमा कुनै पनि खराब हुदैन । व्यवस्था सञ्चालन गर्ने सञ्चालक कस्तो छ । उसको कार्यशैली र सोचमा हुने कुराले प्रभाव पारेको हुन्छ । राजतन्त्रको अन्त्य भई लोकतन्त्रिक राज्य व्यवस्थाको पुर्नवहाली भएको यसबेला सम्ममा राजनीतिक दलहरुको क्रियाकलाप तथा हाम्रा राजनीतिक दलका नेताहरुको अभिव्यक्तिहरु सुनिरहदा आज हाम्रो देशको प्रमुख राजनीतिक दलमा व्यापक राष्ट्रिय सोच एवं दृष्टिकोण राख्ने नेताको सर्वथा अभाव त छैन ? अधिकांश राजनेताहरु आफ्नो व्यक्तिगत स्वार्थ लिप्त हुनगइरहेका देखिन्छ । राष्ट्रिय सोच र दृष्टिकोण कमै रहेको जस्तो आशंका मिल्दछ त्यसैले ति नेताहरु अधिकांश रुपमा पार्टीको बोसको रुपमा स्थापित हुन चाहान्छन् । जस्को ध्येय आफू पार्टीको प्रमुख पदमा रहिरहने र पार्टीमा आफ्नो स्थान सधै मजवुद तुल्याउने मात्र हो । यसका लागि जस्तो सुकै कुकर्म गर्न पनि पछि नहट्ने व्यवहार देखियो । राजनेताहरको सोचाईमा फराकिलोपन राखि विभिन्न भाषा धर्म संस्कृति प्रति उसको धारणा सकारात्मक हुनुपर्दछ । विभिन्न भाषा धर्म संस्कृति प्रति उसकोक धारणा सकारात्मक हुनुपर्दछ । विभिन्न भौगोलिक क्षेत्र बीच सन्तुलन कायम गर्ने सोच हुनु पर्दछ र मुलुकलाई सक्षम, विकसित, सम्पन्न र सु–संस्कृत बनाउन उसमा ठूलो भूमिका हुुन्छ । केही राजनीतिक दलहरुमा सबै कार्यकर्ताहरुलाई एककवद्ध तुल्याउन राष्ट्रिय दृष्टिकोण भएको प्रखर राजनेताको अभाव भएकोले नेतृत्वको संकट समेत देखा पर्ने गर्दछ । हाम्रा प्रमुख राजनीतिक दलहरुबीच महत्वपूर्ण दीर्घकालीन असर हुने विषय र मौलिक विषय वस्तु राष्ट्रिय एवं राजनीतिक सहमति नभएकाले मुलुकको कुनै सर्वस्वीकार्य नीति नै रहेको देखिँदैन पार्टी पार्टी बीच र पार्टी भित्रपनि कार्यकर्ताहरु विच आपसी समझदारी छलफल र मेलमिलापको वातावरण पनि पूर्ण रुपमा सिर्जना हुन सकिरहेको छैन ।
एक आपसमा अविश्वास घात प्रतिघात लुछाचुँडी गर्ने र कसको नजिकको प्रिय पात्र बन्ने भन्ने होडबाजीमा छन् कार्यकर्ताहरु । पार्टी भित्रकै कार्यकर्ताहरु कुनै विषयमा पार्टी भवन भित्र वहस नगरी सञ्चार माध्यममार्फत् कुराकानी गर्नमा व्यस्त भइदिन्छन् । आज हरेक राजनीतक दलहरुका भ्रातृ संगठनहरु आर्थिक संकलन गरिरहेका छन् तर त्यसको हिसाब किताबको पारदर्शीता के कस्तो होला त्यो भने भन्न सकिन्न । उनीहरुको आयको स्रोत र व्ययको विवरण प्रकाशित नगरिने प्रायः हुँदा भित्र भित्रै आर्थिक अनियमितता बढेर जाने सम्भावाना रहन सक्दछ । दलहरु भित्र पारदर्शीताको अभावका कारणले यस क्षेत्रमा अन्यौल र शंकाको वातावरण सिर्जना भएको देखिँदैछ । यसले उत्तरदायित्व सुशासन जस्ता कुरालाई पनि चोट पु¥याएको देखिन्छ । दल भित्र विद्यमान अप्रजातान्त्रिक पद्धति र संस्कारका कारणले लोकतान्त्रिक व्यवस्थामा गम्भीर चुनौती देखिन्छ । दलभित्रका गुट गुट बीचको मत मतान्तर बहुमत अल्पमतको विवाद नेतृत्व बीचको शंकाले प्रायः सबै पार्टी कमजोर बन्न पुगेका छन् । एकताका हिसाबले प्रायः सबै पार्टीमा कमजोर बनाउन भाइरस रुपी रोग देखिन थालेको छ । राजनीतिक विचारधाराको क्षयीकरणका कारणले कतिपय राजनीतिक दलहरु अलि कमजोर बन्न पुगेका छन् । विभिन्न राजनीतिक विचारधारा भएका दलहरु बीच कार्यक्रम र नीतिमा मौलिक भिन्नता नदेखिएकाले लोकतान्त्रिक र अलोकतान्त्रिक साम्यवादी र गैर साम्यवादी दल बीच कुनै भेद गर्न नसकिने स्थिति सिर्जना भएको पार्टी भित्र स्वयम्मा नै प्रजातान्त्रिक पद्धति नहुँदा यस क्षेत्रमा विद्यमान अर्काे गम्भीर चुनौती पनि खडा भएको छ । पार्टीहरु बीच सामान्य दैनिक प्रशासन र शासन संचालनमा विभिन्न मुलभूत विषयमा न्यूनतम सहमति नभएकै कारणले विगतका सरकारहरु असफल भएका थिए । राजनीतिक सहमति विकास गर्न नसकेको र कमजोर नेतृत्व भएका विगतका सरकारको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न खडा भएका थिए । अतः वर्तमान संक्रमणकालीन गणतन्त्र नेपालको वर्तमान सरकारले विगतका राजनीतिक कुसंस्कार र कुकर्मलाई हेरी राजनीतिक सहमतिका आधारमा अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ । समाजवादी समाजको परिकल्पना बोकेर अघि बढेको सरकार आफ्नै आन्तरिक कलहका कारण लक्ष्य विमुख हुनेतर्फ अग्रसर हुन पुग्यो । लामो समयसम्म सामन्ती वर्गद्वारा हेपिएको ठालुवादको अन्त्य गरी निमुखा नेपाली समाजको चौतर्फी विकास गर्ने अवसर र समय वास्तवमा आएकै हो, तर यो सुनौलो अवसरलाई व्यवहारमा कार्यान्वयन गर्न राजनीतिक दल र तिनको नेतृत्व वर्गले गर्न सकिरहेको छैन । अब उप्रान्त यस्तो परिस्थितिको अवसर नेपाली समाजले प्राप्त सरकारद्वारा जनताका पक्षमा ठूलै निर्णयहरु हुने छन् भन्ने सोचाई र आशा बोकेर बसेका निमुखा सर्वसाधारणले खासै आशलाग्दा कामहरु गर्न नसकेको स्थिति विद्यमान छ । तर राजनीतिक दल त्यसमा पनि सरकारको नेतृत्व गर्नेका लागि अवसर प्राप्त भएको छ । तर यस्तो अवसरको सदुपयोग हुन सकेको पाइएन । भएपनि त्यो आंशिक रुपमा मात्र छ । तर जनताको अभिमतलाई आफूतर्फ आकर्षित गर्ने अवसरको सदुपयोग गर्ने समय अझै पनि छ । त्यसैल फगत भाषणबाजी गरेर हिँड्नुभन्दा आफूले गरेका वाचाहरुलाई देश विकास र जनताको हितमा लगाउने अहिलेको सुनौलो अवसरलाई गुम्न नदिनुमा नै सत्तारुढ दल र अन्य घटकहरुका लागि बढी फाइदाको विषय बन्न सक्छ । यही जेठ १५ गते आर्थिक वर्ष २०७८÷०७९ को बजेट पेश गर्ने कार्यक्रम पनि छ । यसका लागि अहिले बजेट निर्माणको काम धमाधम भइरहेको छ । बजेट निर्माणकै क्रममा हो, देश र जनताका हितमा बजेट छुट्याएर कार्यक्रम बनाउने । त्यसैले यस्तो सुनौलो अवसरको सदुपयोग गर्न सत्तारुढ दल हिच्किचाउनु हुँदैन भने प्रतिपक्षीहरुले पनि विकास निर्माण र सामाजिक हितका कार्यक्रम ल्याउन पछि नपर्नु उचित हु्न्छ । यसबाट जनतामा सरकार र राजनीतिक दलहरुप्रतिको आशा एवं विश्वास बढ्न जान्छ । तर समाजवादी चिन्चन बोकेका दलहरुले आफ्नो आदर्श, दर्शन र विचारलाई सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउनु पर्छ । त्यसो भएमा मात्र दलहरुप्रतिको विश्वास र भरोषा बढ्न जान्छ ।