लेख विचार/वहस

देश लेख्ने कलमजीवी एकजुट होऔं

देश खोज्ने कलमजीवी नै हुन्
कलमजीवीले देश खोज्नुपर्छ
हराएको देश खोज्ने उनै हुन्
जसले स्पष्ट मार्गचित्र कोर्नुपर्छ
उनै देशका खम्बा हुन्
शान्ति हराएको बेला
अब उनीहरू जाग्नुपर्छ
लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बेला
सम्पूर्ण कलमजीवीहरु एक हुनुपर्छ
जनतालाई दिशावोध गर्नुपर्छ
अब नझुकी देश व्यूँताउनु पर्छ
राजनीतिलाई मागिखाने भाडो बनाउनेहरुलाई
जनखवरदारी गर्नुपर्छ
देश खोज्ने कलमजीवी नै हुन्
अशान्तिभित्र
शान्ति खोज्नुपर्छ ………………………………………!

हो वास्तवमा देश खोज्ने, शान्ति स्थापनाका लागि जनजनमा बिगुल फुक्ने भनेकै कलमजीवीहरु हुन् । साहित्यले कला वृद्धि गर्छ, सन्देशको आयु वृद्धि गर्छ, गुणस्तर वृद्धि गर्छ । संचार प्रक्रियालाई रङगीन बनाउछ । ज्ञान वृद्धि गर्छ । उनीहरु चेतनाका लागि शक्तिशाली बाघ हुन् । जसले आमूल परिवर्तन र देशमा लोकतान्त्रिक गणतन्त्रको लागि बिगुल फुक्यो । त्यसैले कलमको आवाज बुलन्द गर्ने भनेकै साहित्यकार र कलाकारहरु हुन् । जसले सत्य – तथ्य विचारको दिशानिर्देश गर्छ । जहाँ भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, नातावाद , कृपावाद, लुटतन्त्रको खोल ओढेका मानवहरु हुन्छन् । ती कलुष मानवहरुको भण्डाफोर गर्ने काम तमाम सर्जकहरुले मात्र गर्न सक्छन् । अरुको ताकत र ल्याकत नै हुँदैन । सर्जकले देशको वृत्तचित्र कोर्छ, जनतालाई सूसूचित गर्छ, अन्धकारलाई उज्यालोतिर डोहोर्याउछ । आज कलमजीवीहरुले यिनै आवाज मुखरित गरेकै कारणले गर्दा होला देशमा भ्रष्टाचार अलिकति भएपनि नियन्त्रण हुन पुगेको छ ।

हुन सक्ला सर्जकहरुले देखेको तीतो यथार्थलाई केलाउँदा उसले कुनै मानिसबाट स्यावासी पाएको हुन्छ भने कुनैबाट गालीगलौज पाउँछ । यी सबैलाई शब्द र अक्षरबाट सही जवाफ दिने भनेकै सर्जकहरु बाघहरु हुन् । जसले सेता पानामा कालो अक्षरको रङ भरेर साहित्य सिर्जना गर्छन् । उनीहरु उज्यालो दीप सल्काउने धोत्तक हुन् । यसरी भन्नुपर्दा साहित्य जीवनको आलोक हो । दुःख र सुखको ऐना हो जहाँ उज्यालै उज्यालो भरिएको हुन्छ । अन्धकारलाई सदैव हटाइदिन्छ त्यो भनेकै सच्चा साहित्य हो । साहित्यले जनताको अधिकारलाई सूसूचित गर्ने भएकोले शब्द – शव्दभित्र विकृति र विसङ्गतिको भण्डाफोर गर्न साहित्यकार कहिल्यै पनि पछि हट्दैन । साहित्यमा विद्रोहको रचना हुन्छ, त्यही साहित्यका प्रत्येक शब्दहरुमा शान्ति, सुशासन र सहमतिका रेखाहरु परस्पर बाधिएर एकताको साङ्लोमा रुपान्तरित भएर देशमा नौलो आयाम थपिदै जाने सन्देश हुन्छ ।

अर्कोकुरा मानव वस्तुगत संसारमा जन्मिन्छ, हुर्किन्छ, अन्तरक्रिया गर्छ र आफ्नो परिवेशको बोली ठम्याइ संगाल्दै जान्छ । ठम्याइ नै चेतनाको रूपमा उसका मनमस्तिष्क, स्मरण र व्यबहारमा संगाल्दै जान्छ । यी सबै अन्तरवस्तुको चेतनाको बीज उमार्ने ताकत साहित्यमा मात्र पाइन्छ । कुनै वस्तु वा प्रणालीका विभिन्न किसिमका संरचना हुन्छन त ? भन्ने प्रश्नले हामी मानवलाई कौतुहलता जागृत गराउँदछ । यस प्रश्नको उत्तर खोज्ने हो भने संरचना फरक हुँदैन भन्न सकिन्छ र जुनसुकै वस्तु वा प्रणालीको एउटा मात्र संरचना हुने गर्छ । जटिल वस्तु वा प्रणाली वा संरचना जटिल खालको हुन्छ , त्यसलाई पनि सरल बनाइने माध्यम भनेको साहित्य रचना मात्र हो । साच्चैनै भन्नुपर्दा – ‘समाजलाई एउटा प्रणालीको रूपमा हेरियो भने यसलाई स्वतन्त्र, परतन्त्र र समानान्तर रूपमा अथ्र्याउन सकिन्छ । यसभित्र आर्थिक, राजनीतिक, नैतिक र चारित्रिक संरचनाहरुको अस्तित्व कायम भएको हुन्छ । हरेक संरचनाका आफ्नो किसिमका परिधि र क्षेत्रहरु हुन्छन् । ती सबै संरचनाहरुको विस्तृतिकरण गरेर देशमा नौलो विहानी ल्याइदिने ताकत साहित्यमा मात्रै हुन्छ । आज साहित्य विधाका विभिन्न क्षेत्रहरु छन् सबैले मानव जीवनलाई यथार्थ परिवेशमा शब्द चित्रहरु उतारेका हुन्छन् । सुनमा सुगन्ध थपिदिन्छन्, मानव जीवनलाई उज्यालो ज्योति छर्दिन्छन् । निस्सासिएको उजाड जिन्दगीलाई हँसमुख बनाइदिन्छन् । वास्तवमा त्यही भएर जीवनलाई आल्हादित बनाउने एउटा साँचो नै साहित्य दर्पण हो । चैतन्यवादी वा आदर्शवादीहरुले ज्ञानको श्रोत बाहिरी संसार हो भन्ने तथ्यलाई पटक्कै स्वीकार गर्दैनन् । ज्ञानको स्रोत मानवीय चेतना वा संवेदनाहरु हुन् भनेर लिँडेढिपी मात्र गर्दछन् । यसलाई पनि यथार्थ रूपमा वर्णन गर्ने साधन साहित्यकै रचनाहरु हुन् । आज साहित्यका रचना र यथार्थता नबुझेर बम्किनेहरुको सातोपुत्लो साहित्यकारहरुले लिने गरेका छन् ।

साहित्यसँगै सधैं जोडिएर आउने कला पनि समाज संस्कृति निर्माणको मेरुदण्ड हो । यसले जीवन ज्यूँने ढाँचा र सभ्यताको प्रतिपादन गर्दछ । समुन्नत समाज निर्माणका लागि साहित्य राजनीतिको आधारभूमि र हतियार दुवै हो । वर्गीय राजनीतिक लडाइँमा त साहित्य वर्गीय हतियार नै हो । कुनै पनि मुलुकको साहित्य र संस्कृतिलाई भ्रष्ट गरी आफ्नो स्वेच्छाचारी छाडा संस्कृति र साहित्यको माध्यमबाट राष्ट्रको युवाशक्तिलाई भ्रष्ट नपार्न साहित्यिक तथा सांस्कृतिक जगेर्नाको साम्राज्यवाद अहिले पनि फैलिरहेको छ । आफ्नो राष्ट्रको साहित्य र संस्कृतिलाई प्रगतिवादी एवं माक्र्सवादी सौन्दर्य चेत अनुरुप सिर्जित गरी वर्गीय सचेतता प्रदान गर्न सक्नुपर्छ । तर हिजोआज साहित्यमा पनि राजनीति दुर्गन्ध मौलाउँदै जान लागेको छ । साहित्यकारहरु ‘बाद’को पिच्छलग्गु भएको देखिएको छ । साहित्यका विविध विधाभित्र हिजोआज धमिरा लाग्न थालेको छ । यो पार्टी, त्यो पाटीव, उ पार्टीमा बिभक्त देखियो । एक विधामा सशक्त कलम चलाउनेहरु अर्को विधाको साहित्यिक कार्यक्रममा नजाने, रचना नसुनिदिने, होहल्ला गरिदिने विधाकै अपमान गरिदिने बानीको विकास हुँदै जानु राम्रो कुरा भने अवस्यै होइन । यसमा पनि रुपान्तरित हुनु जरुरी छ । मेरो रचना राम्रो अरुको नराम्रो भन्ने ठालुवादको अब अन्त्य हुनैपर्छ । कलमजीवीहरु ऐक्यबद्ध नभएकै कारणले देश सही दिशातर्फ मोडिन अझै सकिरहेको छैन ।

झापा जिल्लामा मात्रै हेरौं कति धेरै साहित्यिक संस्था, कलाकारिता लगायतका बग्रेल्ती संस्थाहरु छन् । तर चलायमान छैनन् । एक सर्जकले अर्को सर्जकको उछित्तो काढ्ने प्रवृत्ति बढदो छ । यहाँ सम्मानित हुन, तक्मा, मेडल पाउन, दज्र्यानी हुनका निम्ति दलकै आसेपासेहरुमात्र हुनुपर्ने बनाइएको छ । न ज्ञान छ, न अध्ययन छ, न सारभूत विषयवस्तु सृजनामा उद्वोधन गरिएको छ, न सटिक सर्वप्रिय हुनसकेको छ । आज तिनै सर्जकले तक्मा र मेडल पाउँछन् उ वर्षमा एका दुका सृजना प्रकाशित गर्छ, उ नै आज वरिष्ठ साहित्यकारमा दर्ज हुनपुगेको छ । आज यही झापा जिल्लाकै धेरै साहित्यकारहरु विद्वान, विदुषीको कर्मभूमि भएको सहरमा पनि साहित्यकारहरु गोलबद्द हुन सकेका छैनन् । कार्यक्रमहरु जुधिरहेका छन्, मनहरु भाँडिएको स्पष्ट देखिन्छ । साहित्यक क्षेत्रमा निषेधाज्ञाको जबसम्म अन्त्य हुदैन तबसम्म साहित्यकारका कलमभित्रका मसीहरु सुक्न बाध्य हुन्छन् । त्यसैले अब सम्पूर्ण कलमजीवी साहित्यकार उठ्नै पर्छ, न्याय, स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्रका निम्ति अब सबै कलमजीवीहरु जाग्नैपर्छ ।

Author

You may also like