पालिका गतिविधि

पालिकाका नमुना कामको परिचर्चा

२७ असार, दमक । झापाका सबै स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षहरुबीच असल अभ्यास आदानप्रदान तथा जिल्लास्तरीय बैठक दमकमा सम्पन्न भएको छ ।

दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा दमक फनपार्क परिसरमा सम्पन्न कार्यक्रममा झापा जिल्लाका अधिकांश गाउँ÷नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरुले आआफ्नो पालिकामा भइरहेका नमुना किसिमका काम कार्यक्रमहरुबारे एकापसमा चर्चा परिचर्चा गरेका थिए ।

संवाद समूह झापाको सहजीकरणमा बनेको उपप्रमुख÷उपाध्यक्ष सञ्जाल झापाको आयोजना र दमक नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा दमक नगरका केही महत्वपूर्ण कार्यक्रमहरुका बारेमा उपप्रमुख भट्टराईले जानकारी गराउँदै दमकबाट अरु पालिकाले पनि सिक्न सक्ने र दमकले अरु पालिकाहरुबाट पनि सिक्न सक्ने अभ्यासहरु भएको चर्चा गरिन् ।

यस खाले अन्तरक्रियात्मक छलफलका माध्यमबाट उपप्रमुख तथा उपाध्यक्षहरुलाई आफ्नो अधिकार क्षेत्र र कर्तव्यका बिषयमा थप ज्ञान आर्जन भई स्थानीय सरकार सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा दमक नगरपालिकाका न्यायिक समिति सदस्य कमलकुमार श्रेष्ठले पालिकाका केही राम्रा कार्यक्रमहरुका बारेमा जानकारीमुलक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सो पालिकामा भए गरेका गतिबिधिहरुबारे जानकारी गराउँदै पालिका अध्यक्षबाट कतिपय कार्यक्रमहरु सञ्चालनमा ढिलासुस्ती हुने गरेको गुनासो गरे ।

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रमहरुको जस पालिका प्रमुख÷अध्यक्षहरुलाई जाने भएकाले कुनै पनि कार्यक्रमहरुको सफल कार्यान्वयनका लागि टिमका सवैको उत्तिकै योगदान हुने कुरा बुझाउन सक्नुपर्ने बताइन् । आफ्नो पालिकामा सञ्चालित केही कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै योजनाहरुको अनुगमन लगायतका कतिपय अधिकार क्षेत्रका उपयोगबारे आफ्नो धारणा राखिन् । उनले चालू आर्थिक बर्षमा पालिकाले चालू र पुँजीगत खर्च सन्तोषजनक रुपमा गर्न सकेको तथ्याङक प्रस्तुत गर्दै बाल मैत्री घोषणाका कारण कमल गाउँपालिकालाई लिजाको रिपोर्टमा अंक बढेको सुनाइन् ।

गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले सो नगरपालिकामा महिला, बालबालिका तथा आदिवासी समुदायको उत्थानमा केन्द्रित कार्यक्रमहरुका बारेमा जानकारी गराइन् । उनले गौरादह नगरमा आदिवासीहरुको साँस्कृतिक संग्राहालय निर्माणको नयाँ योजना ल्याइएको जानकारी गराइन् ।

गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले कोशी प्रदेशमा नै महिला अध्यक्ष र उपाध्यक्ष पाएको आफ्नो गाउँपालिका भएको जनाउँदै महिला तथा बालबालिका लक्षित धेरै कार्यक्रमहरु ल्याउन सकेको उल्लेख गरिन् । उनले यो वर्ष गाउँपालिकाका सबै माविमा स्काउट सञ्चालनमा आएको र आगामी वर्षदेखि आधारभूत तहका विद्यालयमा पनि यो कार्यक्रम सुरु गरिन लागेको बताइन् ।

उनले उपाध्यक्षसँग युवा उद्यमी व्यवसायी विशेष कार्यक्रम, सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम ल्याइएको र यस अन्तर्गत सुत्केरीलाई दिइँदै आएको सहयोगलाई बढाइएको, गाउँपालिका भरीनै दुखको साथी भरोसा राखौंं गौरीगञ्ज गाउँपालिकामाथि भन्ने कार्यक्रमबारे पनि जानकारी गराइन् ।

कार्यक्रममा शिवसताक्षी नगर उपप्रमुख नरमाया कार्की, भद्रपुर नगर उपप्रमुख राधा कार्की सहित बुद्धशान्ति, विर्तामोड, बाह्रदशी, मेचीनगर, हल्दिबारी, झापा गाउँपालिका लगायतका पालिकाका पनि उपप्रमुख÷उपाध्यक्षहरुले आआफ्ना अनुभवहरु सुनाएका थिए । उपप्रमुख÷उपाध्यक्ष सञ्जाल झापाको संयोजकमा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने सर्वसम्मत चयन भएकी छिन् । कार्यक्रम÷बैठकको अध्यक्षता गरेकी सञ्जालकी झापा जिल्ला संयोजक रेगिना भट्टराई प्रसाईंले आगामी कार्यकालका लागि जिल्ला संयोजकमा न्यौपानेको नाम प्रस्ताव गरेकी थिइन भने सहभागीहरुले सो प्रस्तावमा समर्थन जनाएका थिए ।

सो बैठकले भदौ अन्तिम साता अर्को बैठक बस्ने, हरेक पालिकामा उपहरुलाई पर्ने समस्याहरुको निराकरणका लागि एकताबद्ध भएर समाधान खोज्ने, यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने लगायतका निर्णय भएको कार्यक्रम संयोजक प्रसाईंले जनाइन् ।

Author

You may also like