पालिका गतिविधि

दमकमा २ वर्षभित्र धनीपूर्जा वितरण गरिसक्ने लक्ष्य

पंकज दाहाल

दमक, २९ माघ।

दमक नगरपालिकाले भूमि सम्बन्धी समस्या छिट्टै टुंगोमा पुर्याएर जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने भएको छ । दमक नपाभित्र भूमिहीन सुकुम्बासी, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य संख्या भएको नगरपालिका हो । यहाँ भूमि सम्बन्धी समस्या रहेका यस्ता ६ हजार १६० परिवारको बसोबास छ । जसमध्ये २ हजार ४५६ भूमिहीन सुकुम्बासी, ५५७ भूमिहीन दलित र ३ हजार १३७ अव्यवस्थित बसोबासी रहेको राष्ट्रिय भूमि आयोग दमक सेवा केन्द्रको तथ्यांक रहेको छ । तर भूमि स्वामित्वको समस्या रहेका मध्ये हाल सम्म ३४ परिवारले मात्र चालू आ.व.मा जग्गाको धनीपूर्जा पाएका छन्, बर्तमान गठबन्धन सरकारले बनाएको राष्ट्रिय भूमि आयोगले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिसकेको भएपनि धनीपूर्जा वितरणको काम भने तिव्र गतिमा अघि बढ्न सकेको छैन, सुस्त छ । यही सुस्तताका बावजुद दमक नगरपालिकाले भने आगामी २ वर्षभित्रमा लगभग सबै सुकुम्बासीहरुलाई जग्गा धनीपूर्जा दिइ सक्ने लक्ष्यका साथ काम गरिरहेको दावी गरेको छ ।

नगरपालिकाको वडा नं. १० मा जग्गा धनीपूर्जा वितरण प्रयोजनका लागि कर्मचारी तथा प्राविधिक अर्थात् अमिनहरुबाट जग्गा नापजाँच गर्ने कार्य पूरा भएको छ । वडा नं. ४ मा अन्तिम चरणमा रहेको छ भने वडा नं. १ मा दिनहुँजसो जग्गा नाप जाँचको कार्य भइरहेको छ । राष्ट्रिय भूमि आयोग दमक सेवा केन्द्रका प्रमुख तथा नगरपालिका सामाजिक विकास अधिकृत डम्बर राज बरालका अनुसार अब चाँडैनै वडा नं. ५ र ८ मा जग्गा नाप जाँचको कार्य थालनी गरिनेछ । त्यसका लगि जग्गाको श्रेष्ता, फिल्ड बुक, वार्ड नक्सा र फाइल नक्सा उपलब्ध गराउन नापी कार्यालय दमकका कर्मचारी कर्मेजय ठाकुरलाई भनिसकिएको छ । नापी कर्मचारी ठाकुरले पनि नगरपालिकाले पत्र लेखेर मागगरे बमोजिमको कागजपत्र र नक्साहरु तुरुन्तै उपलब्ध गराइने बताएका छन् । भूमि आयोग दमक सेवा केन्द्रका अमिन चण्डिका भट्टराईले पनि नगरपालिकाले भने बमोजिम जग्गा नाप जाँचको कार्यलाई कति पनि ढिलाइ नगरी अघि बढाइने प्रतिवद्धता जाहेर गरेका छन् । अब, जग्गा नाप जाँचको कार्यलाई पहिलेभन्दा द्रुत गतिमा अघि बढाइने र स्थलगत रुपमा हुने प्राविधिक काम सकेर भूमि आयोग झापामा जग्गा धनीपूर्जा दिन आवश्यक प्रकृयाका लागि कागजात पठाइने दमक नगरपालिका प्रमुख राम कुमार थापाले जानकारी गराए ।

‘हामीले सुकुम्बासीलाई जग्गा धनीपूर्जा दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेका छौं, भूमि आयोगलाई पनि घचघच्याइरहेका छौं, उहाँहरु पनि तयारनै हुनुहुन्छ ।’ दमक नगर प्रमुख थापाले भने– केही समय जग्गा नाप जाँच गर्ने मेशिन बिग्रिएर, केही समय बडादशैं, शुभदिपावली र छैठ पर्वका कारण काममा ढिलासुस्ती भएको हो, तर अब रफ्तारमा काम अघि बढ्छ । २÷ अढाइ वर्षभित्रमा सबै सुकुम्बासीलाई जग्गाको धनीपूर्जा दिने गरी हामी अघि बढ्छौं ।’ अहिले भने विगतको गरेको कामका आधारमा ९१ परिवारलाई चाँडैनै जग्गा धनीपूर्जा दिने तयारी भइरहेको छ, त्यसका लागि भूमि आयोग झापाले जग्गामा कसैको हकदावी भए गर्न भनी सार्वजनिक सूचना समेत प्रकाशन भइसकेको छ भने ४२ परिवारका फाइल भूमि आयोग पठाउने भनेर निर्णय भइसकेको बुझिएको छ । स्थानीय तह स्तरीय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति दमकका संयोजक नगर प्रमुख थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई सहित राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र प्राविधिकहरुले हालैमात्र विगतको कार्यको समीक्षा र आागामी कार्ययोजनाका बारेमा छलफल समेत गरेका थिए ।

हाल सम्म दमक–१ को ४५०, ४ को १८० र १० को ६०० कित्ता जग्गा नाप जाँच भइसकेको भूमि आयोग दमक सेवा केन्द्र प्रमुख बरालले जानकारी गराए भने सहजीकरण समितिका सदस्य तथा नेकपा माओवादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेतले नगरपालिका, स्थानीयवासी, नापी कार्यालय र प्राविधिको सहयोग, सहकार्य र समन्वयमा जग्गा नापजाँचको कार्यलाई अघि बढाइने बताए । वर्षौंदेखि सुकुम्बासीको रुपमा रहेका आफूहरुको जग्गा नाप जाँच हुँदा आफूहरुलाई खुशी लागेको तर नगरपालिकाले जतिसक्दो चाँडो जग्गाको धनीपूर्जा दिने वातावरण नबनाएसम्म आफूहरुको खुशी वास्तविक खुशीमा परिणत नहुने दमक– ४ का नविन श्रेष्ठको भनाई छ । नगरपालिकाले पनि थप १ सय परिवारको फाइल जग्गा धनीपूर्जा बनाउन पेश गर्ने तयारीमा राखेको जनाएको छ । दमक–१० मा गएको आ.व.मा ३४ सुकुम्बासी घर परिवारलाई अहिलेको नगर नेतृत्वले जग्गा धनीपूर्जा वितरण गरेको थियो । दमकमा ५ हजार ९५० परिवारलाई जग्गाको निस्सा भने यसअघिनै वितरण भइसकेको छ ।

You may also like