दमक/ झापाको दमक नगरपालिका र प्रदेश १ सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बिच नगरपालिका भित्र निर्माण हुने भवनको मापदण्ड निर्धारण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रिय भवन संहिता कार्यान्वयनमा सहकार्यका लागि सो सम्झौता भएको दमक नगरपालिकाका सहायक ईन्जिनियर ओम राईले जानकारी दिए ।
सम्झौतामा प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका तर्पmबाट मन्त्रालयका सचिव अशोक कुमार शाह र दमक नगरपालिकाका तर्पmबाट नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले हस्ताक्षर गरे । यसअघि पनि दमक नगरपालिकाले भवन निर्माण संहिता लागू गरी यसलाई आन्तरिक रुपमा कार्यान्वयनमा ल्याएको भए पनि मन्त्रालयका कार्यक्रम अन्तर्गत सम्झौता गरिएको उपप्रमुख भट्टराईले बताइन् । मन्त्रालयसंग सम्झौतापत्रमा हस्ताक्षर गर्दै उपप्रमुख भट्टराईले दमक नगरपालिकाले यस अघिनै कार्यान्वयनमा ल्याइसकेको संहितालाई सम्झौता अनुसार अझ कडाईका साथ पालना गर्ने बताइन् । नेपाल भूकम्पीय जोखिममा रहेको देश भएकाले बिभिन्न प्राकृतिक विपत्तिहरु आइरहने हुँदा संरचना निर्माण गर्दा संहिता अनुसारको हुनै पर्नेमा उनले जोड दिइन् । कार्यक्रममा मन्त्रालयका सचिव शाहले उक्त सम्झौता कुनै समय सीमा तोकेर भन्दा पनि सँधैका लागि गरिएको भन्दै मन्त्रालयले सम्झौता अनुसार कार्यान्वयन भए नभएको अनुगमन समेत गर्ने प्रष्ट पारे ।