मुख्य स्थानीय

सात करोड बढी बक्यौता तिर्न बाँकी

बिष्णु सुब्बा

दमक,२० माघ। नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले दमक नगरपालिकाको सडकवत्तीको करिव ७ करोडको बक्यौता देखाएको छ । बक्यौता रकम विगतका वर्षदेखिको महसुल भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पत्रअनुसार दमकमा गएको असार मसान्तसम्ममा सडकबत्तीको बक्यौता रकम ६ करोड ९३ लाख ६१ हजार ३ सय ७६ रुपैयाँ रहेको उल्लेख छ । समयमा बक्यौता नबुझाएवापत लाग्ने २५ प्रतिशत जरीवाना मात्र १ करोड ३८ लाख ७२ हजार २ सय ७५ रुपैया भएको उल्लेख छ । असारसम्मको बक्यौता जरिवाना बाहेकको भने कुल ५ करोड ५४ लाख ८९ हजार १ सय रुपैया रहेको प्राधिकरणको वक्यौता पत्रमा जनाइएको छ ।

प्राधिकरणले केन्द्रको परिपत्र अनुसार सडकबत्तीको लामो समयदेखि बक्यौता उठाउन दमक नगरपालिकासहित देशभरका स्थानीय तहलाई ताकेता गर्दै आएको थियो । दमक वितरण केन्द्रका प्रमुख परितोष कुमार चौधरीले केन्द्रको परिपत्र अनुसार बक्यौता उठाउन स्थानीय तहलाई पत्र पठाएको बताउँछन् । माथिल्लो तहबाट त्यसै किसिमको सर्कूलर आएपछि कार्यलयले आफ्ना कार्यक्षेत्रका दमक, कमल, शिवसताक्षी, गौरादह, उर्लावारी लगायतका पालिकामा बक्यौता बुझाउन पत्र पठाएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार, दमकका १० वटा वडामा १७० वटा सडकबत्ती नगरपालिकाको नाममा छ । जसमध्ये सवैभन्दा धेरै वडा न. १ मा र सवैभन्दा कम दमक ७ मा रहेको उल्लेख छ । दमक १ मा २९ वटा ग्राहक नगरपालिकाको नाममा छ । त्यस्तै, दमक ९ मा २७, दमक ४ मा २५, दमक ८ मा २०, दमक ३ मा १८, दमक २ मा १५, दमक ६ मा ९, दमक १० मा ७ र दमक ७ मा ४ वटा ग्राहक नगरपालिकाको नाममा छ । यसवाहेक कतिपय टोल विकास संस्थाहरुले समेत आफनै पहलमा सडकबत्तीको महषुल बुझाउदै आएका छन् । नगरपालिकाको सडकबत्तीको हाराहारीमा स्थानीय टोल विकास संस्थाहरुले समेत आफै सडकबत्ती जडान गरि महषुल बुझाउदै आएका छन् । नगरभित्र कति सडकबत्ती छन् भन्ने आधिकारिक तथ्यांक नगरपालिकासंँग पनि छैन् ।

स्थानीयले गाँउघरका सडकमा बत्ती जडान गरि लामो समय विद्युत महसुल नबुझाउँदा कतिपयको घरबास नै उठीबास हुने अवस्थामा रहेको पाइएको छ ।

कुन वडामा कति बक्यौता ?

बकयौता रहेको मध्य सवैभन्दा धेरै दमक १ मा र सवैभन्दा कम दमक ९ मा देखिएको छ । दमक १ वडाभित्र जडित सडकबत्तीको हालसम्म ४ करोड १९ लाख ५३ हजार २ सय २५ रहेको उल्लेख छ । त्यस्तै सवैभन्दा कम दमक ९ को ४ लाख ८३ हजार ९ सय ४४ रुपैया देखिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, दमक २ को १२ लाख ३७ हजार ६ सय २३ , दमक ३ को ६ लाख ३८ हजार ६ सय २८ रुपैयाँ, वडा नं ४ वडाको १९ लाख १५ हजार ७ सय ११ रुपैयाँ, वडा नं ५ को २९ लाख २४ हजार ९२ रुपैयाँ , ६ को ४४ लाख ७ हजार ९ सय २९ रुपैयाँ, ७ वडाको ६९ लाख ३०हजार ३ सय ४ रुपैयाँ, दमक ८ वडाको ४१ लाख २७ हजार ३ सय २ रुयैयाँ र वडा नं १० को सडकबत्तीको बक्यौता ४ लाख ८३ हजार ९ सय ४४ रुपैया रहेको उल्लेख छ ।

नगरले गर्यो यस्तो निर्णय

प्राधिकरणले पत्र पठाए पनि त्यसउपर पालिकाले कुनै कदम नचाले प्रचलित नियमानुसार सडकवत्तीको लाईन काट्ने सूचित गरि आएको छ ।

त्यसैअनुसार प्राधिकरणले दमकका भित्री सडकका बत्तीहरुको लाइन काट्न थालेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख रामकुमार थापा प्राधिकरणले आफूखुसी सडकबत्ती काट्न नहुने बताउँछन् । यसअघि नगरपालिकाले आफनो नाममा मिटर बक्स जोड्न सिफारिस दिएकाले ति मिटर बक्समा देखिएको बक्यौता नगरपालिकाका नाममा देखाएको हो । टोल टोलमा बत्ती बाल्दा स्थानीय टोलबासी आफैंले त्यसवापतको महसुल तिर्ने व्यवस्था गरिएको भए वा समय समयमा नगरपालिकाले महसुलका बारेमा जानकारी लिएको भए यो अवस्था नआउने दमक नगर प्रमुख थापाले भने ।

बर्षोदेखि सडकबत्तीको महसुल थपिदै अहिले एकमुष्ठ आएपछि स्थानीय तहमा यतिका बक्यौता देखिनाले एक किसिमको आतकंनै भएको उनको भनाई छ ।

सडकबत्तीको समस्या स्थानीय मात्र नभएर देशैभरि समस्या भएपनि नगरले भने अव उप्रान्त यसबाट शिक्षा प्राप्त गरेको नगर प्रमुख थापा सुनाउँछन् । विद्युतको बक्यौता पत्रका विषयमा पछिल्लो दमक नगरपालिकाको वोर्ड बैठकले समन्वयकारी भूमिका निर्वाह गरि समस्या समाधान गर्ने निर्णय भएको उल्लेख छ । नगर प्रमुख थापाले भने, –‘हामीले यो विषयमा गम्भिर भएर प्राधिकरणलाई सडकबत्तीका लाइन नकाट्न तथा महसुल बक्यौता संघीय सरकार तथा विभागीय निकायमा मिलान गरिदिन अनुरोध गर्ने निर्णय गरेका छौं । ’

झिलीमिली बनाउने होडवाजी

स्थानीय तहका जनप्रतिनिधिहरुको एकबेला सडकबत्ती झिलीमिली बनाउने होडनै चलेको थियो । दमकमा पनि त्यही बेथिति देखियो । दमकका १० वटै वडामा वडाले नै विजुली खरिद गरि सडकबत्ती विस्तार गर्ने अभ्यास बाक्लिएको छ । यो चालु वर्षमा मात्र दमकमा ठूलो परिणाममा सडकबत्ती जडानका लागि तयारी गरिएको नगरपालिकाको जिन्सी शाखाले जनाएको छ ।

दमकका मुख्य शहरी क्षेत्रहरु दमक १, २ ,५,६,७ ,८ र ९ वडामा सडकबत्तीको बाक्लो खपत हुदै आएको छ । सडकबत्ती आवश्यक भएपनि त्यसको उपयोग लगायतको पाटोमा विस्तृत अध्ययन विना नै धमाधम उज्यालो बनाउने होडवाजीले सडकबत्तीनै धान्न कठिनाई हुदै आएको सामाजिक अगुवाहरुको बुझाई छ ।

You may also like