दमक, २४ मंसिर ।
झापाको दमक १० सेतुमारीमा मंसिर २७ देखि इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय इन्द्रेणी युवा क्लबको शुक्रबार पत्रकार सम्मेलन गरी क्लबको आयोजनामा मंसिर २७ गतेदेखि पुस ३ गतेसम्म सेतुमारी खेलमैदानमा प्रयोगिता हुने जानकारी गराइएको छ । पर्यटकीयस्थल इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुवास सुवेदीले मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागु औषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
प्रतियोगताका लागि मुख्य प्रायोजकको खोजी भइरहेको उनले जनाउँदै दुई लाख सहयोग गर्ने दाताको नाम प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेको उनले बताए ।
दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै स्थानीय सामाजिक व्यक्तित्व रोहित राई र क्लबका संस्थापक अध्यक्ष नगेन्द्रमणि न्यौपानेले प्रतियोगितामा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
४ लाख ९५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा झापा र मोरङका गरी १२ वटा टीमले सहभागिता जनाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले एक लाख, वडा नम्बर १० कार्यालयले ५० हजार सहयोग गर्ने बताइएको छ । क्लबले देउसीभैलो खेलेर जम्मा गरेको ६० हजार छ सय २२ सहित दुई लाख २० हजार अन्य दाताबाट सहयोग प्राप्त गरिने अनुमान गरिएको छ । स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले प्रतियोगिताको प्रथम पुरस्कार वापतको ५० हजार राशी उपलब्ध गराएका छन् । उनै तिनजना दिवंगतको नाममा रञ्जन राईले १५ हजार राशीको अनुशासित टिमको पुरस्कार उपलब्ध गराउने भएका छन् ।
त्यस्तै, दोस्रो पुरस्कारको लागि पुरुषोत्तम भट्टराईले ३० हजार उपलब्ध गराएका छन् । स्थानीय प्रेम बास्तोलाले ट्रफी र मेडलतर्फ ६५ हजार बराबरको सौजन्य गरेका छन् ।
व्यक्तिगततर्फ प्रतियोतिाका सर्वोत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्स र अधिक गोलकर्तालाई समेत पुरस्कार स्वरुप ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनमा स्थानीय राजनीतिक दल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल आयोजना गरिने क्लबले जनाएको छ ।