बीए प्रथम वर्षमा शेक्सपियरको एउटा कविता ‘ह्वेन माइ लभ स्वेर्स द्याट सी इज मेड अफ ट्रुथ’ ( जव मेरी प्रेमीकाले आपूm सत्यको प्रतिमूर्ति हुँ भनेर कसम खान्छिन् ) पढाउँदाको एउटा प्रशंगबाट यो विषयको उठान गर्ने जमर्को गरिरहेको छु ।
विषय पनि गज्जवको ! प्रेमी र प्रेमिकाका अकल्पनीय आयामिक सम्बन्धहरू । त्यो कवितामा एउटा युवा प्रेमी बोल्छ । ऊ आप्mनी प्रेमीकासँग उमेर ढाँटेकोमा ढुक्क र आनन्दित हुन्छ । उसले ढाँट बोलेकोमा कुनै पश्चाताप मान्दैन । ग्लानी मान्दैन । हीनताबोध मान्दैन । अप्ठेरो मान्दैन । अनैतिक मान्दैन । अमर्यादित मान्दैन । असभ्य मान्दैन । अमानवीय पनि ठान्दैन ।
बरू त्यो प्रेमी गौरव गर्छ झुट बोलेकोमा । अनि ढुक्क छ — उसकी प्रेमिकाले पनि उसरी नै झुट बोलेकी छे । उसले पनि जीवनका अनेक आयामहरूमा झुट बोलेकी छे । ढाँठेकी छे । उमेर र संम्बन्धका अनेक आयामहरूमा ढाँट बोलेकी छे । सायद यसलाई पनि हेक्का होला, उसको प्रेमीले पनि ढाँटेको छ । साँच्चै हेक्का छ, प्रेमीले झुट बोलेको छ । तर पनि ऊ केही बोल्दिन । प्रेमीले झुट बोलेकोमा कुनै गुनासो छैन । कुनै पश्चात्ताप छैन । कुनै हीनताबोध छैन । कुनै अपसोच छैन । कुनै खिन्नता छैन ।
बरू उल्टै आनन्दछ । गर्व छ । महानताको अनुभूति छ । मानवीयता छ । नैतिकता छ । महानता छ । अर्थात्, दुवैजना एक अर्कालाई केही कुरा छुपाउँछन् । आजीवन छुपाउँछन् । अर्थात् ढाँट्छन् । एक अर्कालाई मज्जाले ढाँट्छन् । उमेर ढाँट्छन् । आपूm जवान भएको प्रमाणित गर्छन् । आपूmलाई त्यो झुटको सहाराले प्रेममा सफल बनाइरहेको ठान्छन् । तिनको सम्बन्ध अनन्त, दीगो र अमर रहेको ठान्छन् । तिनको जीवनका खुसीका आयामहरू यही ढाँटको राजमार्ग गुडेर तिनका जीवनको सामिप्यमा आइरहेछन् । यस्तै लाग्छ तिनीहरूलाई ।
अर्थात् ढाँट्नु भनेको प्रेमलाई अमर बनाउनु हो । प्रेमलाई पवित्र बनाउनु हो । जीवनका खुसीहरू प्राप्त गर्नु हो । जीवनका पलहरूलाई प्रदिप्त बनाउनु हो । सारा असमझदारीहरू नामेट पार्नु हो । ज्विनका सारा कोल्टे पाटाहरू सोभ्mयाउनु हो । जीवनका सारा खाल्डाखुल्डीहरू पुर्नु हो । जीवनका सारा अध्याराहरू जगमग पार्नु हो । अमर प्रेमगाथा लेख्नु हो ।
दुवैलाई थाहा छ, दुवैले एकअर्कालाई ढाटिरहेका छन् । ऊ सोच्छ, मलाई मेरी प्रेमीका ढाँटिरहेकी छे । प्रेमीका ठान्छे, मेरो प्रेमी मलाई ढाँटिरहेको छ । तर त्यो कुरा आप्mनो मुखराविन्दबाट कहिल्यै ओकल्दैनन् ।
दुवै तैंचूप । दुवै मै चूप ।
ऊ पनि चूप । म पनि चूप ।
तिनीहरू पनि चूप । उनीहरू पनि चूप ।
यत्रतत्र सन्नाटा ! यत्रतत्र शान्ति !
यत्रतत्र रामराज्य !
न कसैलाई धोखा पाउने पीर । न कसैले धोखादिने पीर ।
न कुनै कुरा गुम्ने चिन्ता । न कुनै कुरा बिग्रिने फिक्री ।
न घर भाँडिने त्राश । न सम्बन्ध भत्किने चिन्ता !
स्वतन्त्रताको चरम उपयोग । मानव जीवनको चरम सम्मान । मानवजातिको चरम सम्मान । मेरो जीवनको अधिकार मेरो । मैलै बाँच्न चाहेको जीवन बाँच्न पाउने अधिकार मेरो । मलाई उचित लागेको कुरा मैले गर्न पाउनु मेरो अधिकारको कुरा हो ।
जिन्दगीहोस त यस्तो !
शेक्सपियरलाई यही भन्न मन लाग्यो । र यो कविता लेखे । तर यसभित्रको आदर्श भनेको समझदारी हो । नैतिकता हो । इमान्दारिता हो । प्रतिबद्धता हो । झुटो बोलेर पनि आदर्श जिन्दगी जिउन सक्ने एउटा अब्बल जीवनको नमूना हो । ढाँटेर पनि यस्तो जीवन जिउने, कसैलाई असर नपर्ने, बरू उल्टै फाइदा हुने ढाँटलाई ‘ह्वाइट लाइज’ (सेता ढाँट) भनिन्छ । यस्ता ढाँटले बेफाइदा गर्दैन । बरू फाइदा गर्छ । जीवन रक्षा हुन्छ । भलो हुन्छ ।
एउटा हातनचल्ने, अनि अर्को हातका पनि तीन वटा औंला नभएको एउटा मान्छे होटलमा आयो । उसले एउटा जाम मगायो । अनि खोल्न खोज्यो जामको बट्टा । त्यो टिनको बट्टालाई यता हल्लायो, उता हल्लायो । चारैतिर फर्कायो । तान्यो । ठ्याकठ्याक पा¥यो । हिर्कायो । नङ्ले तानि हे¥यो । चिथोरि हे¥यो । तर खुलेन । ऊ निरास भयो । त्यसपछि ऊ ट्वाइलेटतिर गयो । समस्या निकै भयो क्यार ! त्यो सबै हेरेर छेउमा बसिरहेको एउटा युवकले त्यो मान्छे ट्वाइलेटबाट फर्किएर आउनु अघि नै त्यो जामको बिर्को खोलिदिन्छ र बिस्तारो लुज बनाएर राखिदिन्छ । जव त्यो मान्छे आएर आप्mनो ठाउँमा बस्छ र त्यो जाम पुनः खोल्न खोज्दा सजिलै खुल्छ । ऊ खुसी हुन्छ । अनि त्यो छेउको युवालाई धन्यवाद भन्छ ।
तर त्यो युवाले मैले खोलेको होइन भन्छ । र ढाँट्छ । युवाको त्यो ढँटाइले त्यो मान्छेको आप्mनो शरीरप्रतिको नकारात्मक भाव दूर भयो । उसलाई म अपाङ्ग भएर पनि आम मान्छेले गर्न सक्ने काम मैले गरें भनेर उसमा आप्mनो शरीरप्रति माया, श्रद्धा र सम्मान जागेर आयो । अब उसलाई आप्mनो शरीरप्रति गर्व लाग्न थाल्यो ।
यस्तै, अर्को घटनामा एउटा सैनिक अधिकारीले गोली लाग्दापनि आप्mनी श्रीमतिलाई ‘मलाई पटक्कै केही भएको छैन’ भनेर फोनमा बोल्यो । नलाग्नु गोली त लागि गयो, अब सत्य भनेर पनि केही फाइदा थिएन । बरू यसले श्रीमतीको पीडालाई न्यून गरिदियो । उसको परिवारमा आतंक छाउन पाएन । यसले त्यो सैनिक परिवारको रक्षा भयो । ढाँटले पनि परिवारको रक्षा भयो । पछि निको भएर आउँदामात्र परिवारले गम्भीर घाउका खतहरू देखे । एकछिन रोए, अनि शान्त भए । मान्छेको स्वभाव यस्तो पनि हुँदोरहेछ; झुट बोल्न बाध्य हुनुपर्ने । अनि त्यही झुटले तिनको रक्षागर्ने । अथवा भनौं, झुटको सहारा लिएर बाँच्न मन पराउनु पर्ने बाध्यता । तर झुटको अर्को खतरनाक पाटो त्यसै छ । त्यो हो ‘काला झुटहरू’(ब्ल्याक लाइज) ।
हाम्रो समाजमा आज देखिएका झुटहरू सेता झुट होइनन् । ती त काला झुट हुन । ती झुट जानीजानी बोलिन्छ र सबैलाई बर्वाद पारिन्छ । ती झुटले आजको हाम्रो कथित सभ्य भनिएको समाजका अगुवाहरूलाई दिनसम्म दिएको छ । भर्नसम्म भरेको छ । यी झुटहरूले तिनका दिन दाहिना भएका छन् । यिनै काला झुटको खेतीले यिनको पेट अघाएको छ । यिनका बालबच्चा अमेरिका र युरोपमा पढ्न पाएका छन् । यिनका नातागोता र आफन्तले माल आउने व्यापार र राजनैतिक पद पाएका छन् । न्यायालय र न्यायाधीस पाएका छन् । पुलिस प्रशासन पाएका छन् । टाँगा लगाएका घोडा जस्ता कार्यकर्ता पाएका छन् । विद्यालय, विश्व विद्यालय र सामाजिक संस्थाहरूकब्जा गर्ने हुल पाएका छन् । आन्दोलन गर्ने र तिनका भजन गाउने जुलुश पाएका छन् । अथावा भनौं, देशको साँचो पाएका छन् । देशलाई जता घुमाए पनि देश केही बोल्दैन । जता लगे पनि देशले केही गर्दैन । त्यसैले ती जहाँ पनि छन् । जेमा पनि छन् । जे पनि पाउँछन् । जे पनि लिन्छन् । अनि जहिले पनि सिंहसानमा बस्ने सौभाग्य पाउँछन् । तिनले बिहानदेखि बेलुकासम्म ढाँट्छन् । त्यो पनि कालो ढाँट (ब्ल्याकलाइज) गर्छन् । ती यो देशमा भ्रष्टाचार छैन भन्छन् । यो देशमा आएको ÷ ल्याइएको ÷ दिएको परिवर्तनले यो देशमा कायापलट भएको छ, संबृद्धितिर गएको छ, समाजवाद उन्मुख भएको छ पनि भन्न भ्याउँछन् । सुशासन छ पनि भन्छन् । स्वतन्त्र पत्रकारिता छ पनि भन्छन् । न्यायपालिका निश्पक्ष छ पनि भन्न भ्याउँछन् ।
तर यी कुनै पनि छैनन् यथार्थमा । यी सबै उल्टो छन् । यिनले कालो ढाँट गरेका हुन् । तर यिनले समाजको दलीयकरण गरेर त्यो कालो झुटोलाई साँचो मानिरहेका छन् । भ्रमलाई सत्य ठानिरहेका छन् । लोकतन्त्र र गणतन्त्र एउटै हो भनेर बालकपन देखाइरहन्छन् । प्लेटोको गुफाका मान्छे जस्तै । गुफाका ती मान्छेले सूर्यका किरणको छायाँलाई सूर्यका किरणको प्रकाश भनिरहन्छन् जीवनभरी । भ्रममा बाँच्छन् जीवनभरी । किनभने तिनलाई ढाँट कुरा मात्रै सत्य लाग्छ । भ्रममात्रै सत्य लाग्छ । झुटो कुरा मात्रै सत्य लाग्छ । माथि शेक्सपियरको कविताको प्रेमीप्रेमीका जस्तै । तर तिनको झुटमा पवित्र प्रेम थियो ।
यिनको झुटमा स्वार्थ छ । भ्रष्टाचार छ । बेइमानी छ । छल छ । आतंक छ । लुट छ । सत्ताकब्जा छ । समाजमाथिको नियन्त्रण छ । मान्छेका टाउकाहरूमाथिको नियन्त्रण छ । मान्छेका विचारहरूमाथिको नियन्त्रण छ । त्यसैले त बेलाबेलामा सडकभरी कराउनेहरूको घुईंचो लाग्छ ।