मुख्य स्वास्थ्य

चुँडिएको खुट्टा जोडिँदाको खुसी

भूपेन्द्रराज तिम्सिना-

दमक, ०४ फागुन। दुर्घटना भएपछि झट्ट उनको दिमागमा सवभन्दा पहिले विवाहको प्रसंगको सम्झना आयो । जव कि आफ्नो एउटा खुट्टा नै काट्नु पर्ने अवस्था भएपछि विवाह गर्न समस्या हुने कुराले पिरोल्यो ।

०८० पुस ५ गते आफ्नो जीवनमा भएको ज्यादै ठूलो दुर्घटनाले मिक्लाजुङ १ सराङडाँडा पाँचथरका २६ वर्षीय शान्तिराम राई खुट्टा काट्नु पर्ने परिस्थितीसम्म पुगेका थिए । दमक २ स्थित आम्दा अस्पतालबाट त्यहाँकी एक कर्मचारीलाई ८२२१ नम्बरको आफ्नो सीटी सफारीमा दमक चोकतर्फ लाँदै गर्दा धनेश्वर चोकमा दुर्घटना आइपर्यो । विपरीत दिशाबाट आएको सीटी सफारीको ठक्करबाट उनी नराम्ररी पछारिनु मात्रै होइन दाहिने खुट्टा नै चुडिएको अवस्थामा पुग्यो । उनलाई लामै दूरीसम्म सफारीले घिसार्यो । हतार हतार आम्दा अस्पताल ल्याएर हेर्दा त्यहाँ उपचार गर्न समस्या हुने बुझेर अस्पतालले अन्तै रेफर गर्ने तयारी गर्दै गर्दा त्यहाँका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. डिल्ली रिजालले खुट्टा आफ्नैमा जोड्न सकिने निक्र्याेल गरेर उपचार थाले । उनले डा. अरुणकुमार शाह सहितको टिम तयार गरेर लगातारको ६ घण्टाको अप्रेशनपछि खुट्टाको नशा जोडियो । अनि मरिसकेको अवस्थाको खुट्टामा तातो अवस्था सिर्जना हुँदैगयो ।

‘हामीले निकै साहस गरेर अप्रेशन थाल्यौं । विस्तारै खुट्टामा रक्तसञ्चार हुन थालेपछि हामीलाई उत्साह जगायो । अनि तेस्रो दिनमा दोस्रो अप्रेशन गरेर हड्डी भित्र र बाहिर स्टील हाल्ने सहितको काम गर्यौं । ठाउँ ठाउँको छाला काटेर लगेर खुट्टामा टँसाईको प्लाष्टिक सर्जरी गर्ने सहित जम्मा ६ वटा अप्रेसन गर्यौं ।’– डा. रिजालले त्यो बेलाको अवस्था दर्शाए । च्वाट्टै छिनेको हात खुट्टा बरु जोड्न सहज हुने तर दुर्घटनामा थिल्थिलो बनेर चुडिएको जोड्नु भनेको विश्वमै जटिल हुने उनले सुनाए । भन्छन् ‘आर्थिक अवस्था कमजोर भएको मजदुरले यसखाले अप्रेशनको आर्थिक भार व्यहोर्न नसक्ने र यसखाले उपचार सम्भव गर्नु पनि ठूलो योगदान हुने बुझेर निःशुल्क अप्रेशन गर्यौं । विवाह नभएको मान्छेको खुट्टा काट्नु पर्ने चिन्ता हटेर अहिले उनको सुधारात्मक अवस्था देख्दा ज्यादै खुसी लाग्छ ।’ ६ अप्रेशनको सालाखाला १० लाखको खर्च आउने अनुमान छ । डा. रिजाल विगत १५ वर्षदेखि झापामा हाडजोर्नी तथा प्याष्टिक सर्जरी सम्बन्धीका अनुभवी डाक्टरका रुपमा परिचित छन् ।

हड्डी रहेको अंग छिनेको बढीमा ४ घण्टासम्म मात्र जिवीत रहने भएको उल्लेख गर्दै उपचार अभियानका अर्का डा. अरुणकुमार शाहले उनले मर्नेक्रममा पुग्दै गरेको खुट्टालाई ‘फ्लाप रिकन्ट्रक्सन’ विधि अपनाएर प्लाष्टिक सर्जरी समेत गरी पूर्वकै दुर्लभ उपचार सफल पारेको जनाए ।

अस्पतालमा लगातार २ महिना उपचारमा रहेका घाइते राईको अवस्थामा निकै सुधार भएको छ । उनको खुट्टाका औंला चल्न थालेका छन् । उनको सुधारको अवस्थालाई हेरेर बाँकी कति समय उपचार गर्नुपर्छ भन्ने टुंगो लाग्ने शाहले उल्लेख गरे । ‘विवाह नभएको मान्छे, खुट्टा काट्नुपर्ने भयो भने जीवन डुब्छ भन्ने ज्यादै चिन्ता थियो । यसरी खुट्टा जोडिएर यो अवस्थामा आउनुले मैले डाक्टरलाई भगवान नै मानेको छु ।’ उनले थपे ‘अव मलाई एउटै कुराको चिन्ता छ कि यहाँको औषधि र बेड खर्च अनि पछिसम्म खानुपर्ने औषधि खर्च कसरी जुटाउनु भन्ने ।’ आर्थिक अवस्था कमजोर भएका उनी दमक २ मा बसेर सीटी सफारी चलाउँदै जेनतेन गुजारा गर्दै आएका थिए ।

सो अस्पतालमा यसअघि पनि डाक्टरको सोही टोलीले छिनेको हातको पनि सफल उपचार गरेर यसप्रकारको चुनौतीपूर्ण उपचारमा आयाम थपेको थियो ।

Author

You may also like