अर्थ स्थानीय

कृषिको विकासमा स्थानीयको जोड

दमक, ६ माघ /
दमक ४ स्थित कृष्ण मन्दिर क्षेत्रका बासिन्दाले कृषि क्षेत्रको समुचित विकासमा स्थानीय सरकारले प्राथमिकता राख्नु पर्नेमा जोड दिएका छन् ।
स्थानीय सुन्दर टोल विकास संस्थाले स्थानीय हनुमान कुटी कृषि फर्ममा शुक्रबार आयोजना गरेको स्थानीय निकायमा सवैखाले कृषिजन्य बस्तुको उत्पादन बृद्धिसँग सम्बन्धित अवधारणा कार्यक्रममा बोल्दै स्थानीयले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा स्थानीय सरकारको प्रतिनिधित्व गर्दै ४ नम्बर वडाका कार्यवाहक अध्यक्ष हुकुम बस्नेतले कृषि क्षेत्रको समग्र विकासका लागि वडा र नगरले सहयोग पुर्याउँदै जाने बताए । उनले आफुले आफ्नो वडाको तर्फबाट कृषिको विकासका लागि कार्यक्रमहरु नगरमा पेश गर्ने समेत बताए ।
कार्यक्रमका संयोजक श्रीप्रसाद लिम्बूले आफुले विदेशी भूमिमा सैनिकका रुपमा सेवा गरेर अवकासप्राप्त गरेपछि कृषि क्षेत्रमै फर्किएर आफ्नो जन्मभूमिमा आफु र समुदायका लागि कृषि कर्मलाई व्यवसायिक बनाउन लागिपरेको प्रसंग उल्लेख गर्दै कार्यक्रमको औचित्य प्रष्ट्याए । आफुले हनुमान कुटी कृषि फर्म सञ्चालन गरेर वडामा फरक आयाम थप्न प्रयत्न गरिरहेको समेत जनाए । उनले स्थानीय सरकारले कृषिका हरेक क्षेत्रमा प्रवद्र्धन गर्नु आजको आवश्यकता भएको औंल्याए ।
कार्यक्रममा बोल्दै सुन्दर टोलका सदस्य समेत रहेका शिवप्रसाद मैनालीले टोलको चौतर्फी विकासको एउटा महत्वपूणर् पाटो कृषि रहेकोले वडा र नगरले त्यसमा खासै जोड नदिएको टिप्पणी गरे । उनले टोल विकास संस्था गठन गरेपनि त्यसको प्रवद्र्धनमा स्थानीय निकायले जोड नदिएको समेत टिप्पणी गर्दै यस अवस्थामा टोलबासीको जागरण आवश्यक हुने उल्लेख गरे । समितिका अध्यक्ष हेमप्रसाद ढुंगेलको अध्यक्षताको कार्यक्रममा, जल उपभोक्ता समितिका इसुराज दाहाल, समाजसेवी राजेन्द्र सिटौला, पूर्व वडाध्यक्ष गिरीराज धिमाल, श्रीकुमार साम्सुहाङ, झसराज ढकाल सहितले शुभकामना मन्तव्य व्यक्त गर्दै वडाको कृषि प्रवद्र्धनमा जोड दिए ।
कार्यक्रममा, कृषि क्षेत्रका स्थानीय सरकारका अधिकारीहरुको उपस्थिती हुन नसक्दा भनें कार्यक्रमको केन्द्रीत विषयमा दोहोरो हिसावले त्यति धेरै अन्तरक्रिया हुन भनें सकेन ।

Author

You may also like