नेपाली समाज कतिपय अवस्थामा परम्परागत अन्धविश्वासी धारणाबाट अझै मुक्त हुन सकेको छैन । बोक्सी प्रथा, छाउपडी प्रथा तथा कुरितीहरुले अझै समाजलाई दुःख दिइराखेको भेटिन्छ । समाजले समाजलाई नै अपहेलना गर्ने प्रकारका कुसंस्कारको सन्दर्भमा कुष्ठ रोग, हात्तीपाइले रोगप्रति पनि हेर्ने दृष्टिकोण त्यस्तै नै रहेको पाइन्छ ।

ठाउँ र मौसम अनुसार बढी प्रभावित बनाउने रोगहरुको पहिचान गरी त्यसको निदानका उपायका सन्दर्भमा दमक नगरपालिकाले राखेको स्वास्थ्यकर्मीहरुको अभिमुखिकरण कार्यक्रममा पनि अपहेलनाको शिकार हुनेखाले रोगको बारेमा चर्चा भयो । उष्ण प्रादेशिक स्वास्थ्य समस्या (एनटीडी) समयमै पहिचान गरी रोकथामका लागि सक्रिय रहनु पर्ने स्वास्थ्यकर्मीहरु एकमत भए ।

३ दिने तालिममा हपहेलनाको वर्गमा राखिएका कुष्ठ रोग, हात्तीपाइले, डेंगु सहितका एनटीडी रोगको समस्या अनि समाजले हेर्ने दृष्टिकोणकाबीच रोग निदान गराउने काम चुनौतिपूर्ण रहेको कुरामा अन्तरक्रिया भयो । रोगको चाँडो पहिचान हुँदा यसखाले रोगबाट अंगभंगको अवस्था नभई विरामी पूर्ण स्वस्थ हुने कुरामा ध्यान दिँदै स्वास्थ्यकर्मीले सोही अनुसार उपचार गर्नुपर्नेमा तालिममा जोड दिइयो । पूर्वजन्मको पापको फलले कुष्ठरोग, हात्तीपाइले रोग हुने भन्ने धारणाले त्यस्ता रोग लाग्नेहरुलाई हेयको दृष्टिले हेर्ने हुँदा रोगबाट ग्रसित भई ज्यादै ठूलो पीडाबोध गरेकाहरु अहिले पनि भेटिने गरेका छन् । क्षयरोग लाग्नेहरुप्रति पनि छिछि र दुरदुरको भावना अझै छ । यी खाले रोगलाई सरकारले पनि ‘अपहेलनाको रोग’को सूचिमा राखेको छ । कुष्ठ, क्षय, हात्तीपाइले, डेंगु, चिकेनगुनिया, कलाजार, जूका, ट्रयाकोमा, सर्पदंश सहितका १० खाले स्वास्थ्य समस्यालाई उष्ण प्रादेशिक स्वास्थ्य समस्याका रुपमा लिइएको छ ।

समाजले हेय दृष्टिले हेर्ने त्यसखाले स्वास्थ्य समस्या बेलैमा पहिचान हुन नसकेकोले पनि त्यसबाट बढी समस्या हुने गरेको देखिन्छ । पहिचान भइहालेमा पनि समाजले हेयको दृष्टिले हेर्दा रोगीहरु झनै रोगी भएर थप समस्यामा पर्दै गएको पाइन्छ । सामाजिक बहिष्करणमा पर्ने डरले कुष्ठ लगायतका अपेलनाका रोगको उपचारको दायरामा आउन नै समस्या हुँदा संक्रमण दर बढ्दै जाने गरेको समस्या अभिमुखिकरणमा चिरफार भयो । कुष्ठरोगको समस्या बढेर हात खुट्टाका औंला झरेकाहरु, हात्तीपाइलेले खुट्टा र अण्डकोण सुन्निएकाहरुलाई सहज हिसावले हेर्ने र बुझ्ने दृष्टिकोण अझै विकास भइनसक्नु विडम्बना मान्नुपर्छ । जस्लाई जतिखेर पनि रोग लाग्न सक्छ । रोगले धनी, गरीव तथा शिक्षित अशिक्षित केही पनि भन्दैन । रोग लाग्ने कारण बरु आफ्नो हेलचेक्र्याइ हुनसक्ला । तर पूर्वजन्मसँगको अन्यौलग्रस्त कुरा जोडेर अपहेलना गर्नु समाजका एकले अर्काेलाई अन्याय गर्नु बाहेक अरु केही होइन । खानपान, पर्यावरण सहितले रोग लाग्ने कारण केलाएर त्यसलाई सजकता अपनाएर निर्मूल पार्ने कुरामा लाग्नु आवश्यक छ । स्वास्थ्यकर्मी सहितका सरोकारवालाहरुले पनि यी खाले रोगलाई हेर्ने समाजको दृष्टिकोणलाई बदल्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु र रोगको बेलैमा पहिचान गर्ने प्रकारको संयन्त्र तयार गर्नुपर्ने देखिन्छ । अस्पतालमा एनटीडी रोगको उपचार सेवा समेत व्यवस्थित रुपले सुरु गर्नुपर्छ । नत्र, ‘अपहेलनाको रोग’ को सूचिमा रोग छुट्याएर मात्र झन अपहेलना बढ्न सक्ला । यसमा स्थानीय सरकारको अहम् भूमिकामा रहने पालिकाहरुको अहम् जिम्मेबारी हो । त्यो जिम्मेबारी पूरा गर्नतर्फ अघि बढिहालौं ।

Author

You may also like