सुनसरीको इटहरी उपमहानगरपालिकामा सुनसरी र मोरङका भैँसीबीच प्रतियोगिता सम्पन्न भएको समाचार आयो । वर्षेनी भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ जिल्लाको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा भैँसी प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा सुनसरी र मोरङस्थित सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए । संस्थाले आफ्नो ४२ औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरेर अहिले हामीलाई लागेको फरकखाले काम गर्यो ।
कृषि प्रधान देश नेपालमा यस्तो काम सामान्य लाग्नुपर्ने हो । तर जुन वस्तु प्रधान देश हो, त्यही प्रधान चिजको बेवास्ता भएपछि यसखाले प्रतियोगिता हामीलाई नौलो लाग्न पुगेको हो । कतिले त त्यो समाचार पढेर हाँस्दै खिसीटेउरी समेत गरे । कतिले नाम राख्ने निहुँमा के के गर्न थाले भनेर अर्काे हिसावले पनि बुझे ।
युवाहरु बरु विदेशमा अरुको गुलामीकालागि ५० डिग्री माथिको तापक्रममा १२ घण्टा काम गर्न इच्छुक हुन्छन् तर आफ्नो देशमा प्रचुर सम्भावनाको कृषि क्षेत्रमा काम गर्न पटक्कै मन गर्दैनन् । बरु मरुभूमिमा भेडा चराउँछन्, इजरायल पुगेर यस्तै खेतीमा घोटिन्छन् । तर आफ्ना खेतबारीमा भनें ध्यान जाँदैन । पहिले चामल निर्यात गर्ने नेपाल वर्षेनी चामल आयातमा आफ्नो आयतन बढाइरहेको छ । सवैभन्दा बढी सम्भावना रहेको क्षेत्रमै जल्दो बल्दो पुस्ताको ध्यान छैन । ध्यान नहुनुमा अरु देशको तुलना गरेर त्यहाँको बराबरको आम्दामी खोज्ने देखासिकी, मेहनत नगर्ने र छोटो समयमा धेरै कमाउनु पर्ने अस्थिरपनले यसमा घर गरेको पाइन्छ । यस्तो परिस्थिती सिर्जना गराउने मुख्य दोषी त सरकार नै हो ।
विश्वमा ब्राजिल पछिको पानीको बढी स्रोत भएको नेपाल, अनि त्यस्तै उर्बर भूमि रहेको नेपाल अनि हिमाल, पहाड र तराईको तीनखाले हावापानीमा उत्पादन हुने अनाज उत्पादनको विश्वकै बढी सम्भावना भएको नेपाल यति कमजोर हुनुमा सरकारी योजना, नीति नियम र यसलाई भव्यरुपले व्यवसायिक बनाउनतर्फ नलाने सोचकै कमजोरी हो । भलै, विदेशमा रोजगार पाएर राम्रै कमाई गरी आर्थिक विपन्नको धेरै मात्रामा जीवनस्तर उक्सिएको होला, रेमिटेन्सले देशको विकासमा राम्रै टेवा पुगेको होला । तर त्यो दीर्घकालिन स्रोत भएको देखिदैन ।
युवाहरुलाई कृषि क्षेत्रमा व्यवसायिक बनाउन मात्र होइन युवाको त्यो उर्जा, उसको समय र उसले खर्चिने श्रम, पसिना आफ्नै माटोमा सिंचित गर्न पाउनु भनेको अर्काै अति महत्वको चिज हो । यसर्थ कृषि उपजमा अनुदान र प्रोत्साहन, आधुनिक औजार व्यवस्थापन सहितका कार्यक्रम ल्याएर कृषिलाई सधैं उचाईमा पुर्याएर आत्मनिर्भर मात्र होइन, आम्दामीको प्रमुख स्रोत बनाउनु पर्छ । यसकालागि सरकारले उत्कृष्ठ उत्पादन गर्ने किसानका कृषि उपजका प्रतियोगिता गर्र्दै प्रोत्साहित र पुरस्कृत गर्दै जानु आवश्यक छ । जसले प्रत्येक युवालाई प्रोत्साहन भरेर उसले आफ्नो माटोमा सधैं सुन फलाउन सकोस् ।