लेख विचार/वहस

विदेशिन लालायित युवाहरु

वर्तमान स्थितिमा युवाहरूको मनमा एउटै कुरा खेलिरहेको छ कसरी विदेशिनु ? विदेशी रहनसहनदेखि लिएर विदेशी चालचलनप्रति पनि नेपाली यूवाहरुको आकर्षण बढ्दो देखिन्छ । गहिरिएर यहि कुरालाई अध्ययन गर्ने हो भने युवाहरू मात्रै नभई आमाबाबुहरुको पनि आफ्नो छोराछोरी गइदिए हुन्थ्यो भन्ने महत्वकांक्षा राखेको पाइन्छ । किनकि आफन्तका छोराछोरी, छिमेकिका छोराछोरी गएको र त्योसँग सम्बन्धित पनि आकर्षित छन् । पढ्ने बहानामा स्टुडेन्ट भिसामा होस् वा रोजगारकालागि होस् प्रतिदिन नेपाली युवाहरू विदेशिने र उतै पलायन हुने क्रम बढ्दो छ । यो प्रवृत्तिले देशलाई दीर्घकालीन रूपमा प्रभावपार्ने देखिन्छ । अहिले ८ जनाको समूहमा के गर्दै हुनुन्छ भनेर सोधियो भने ४ जनाले बाहिर जाने प्रक्रियामा छु भन्ने र ३ जना डिभी भरेर बसेका छन् ।

आखिर युवाहरू किन यसरी विदेश जान लालायित छन ? नेपालमा गुणस्तरीय शिक्षा र अवसर उपलब्ध हुन नसकेको हो वा विदेशी जीवनशैलीप्रतिको आकर्षणको कारण हो ? अहिले युवाहरूको जमातमा तनाव बढि हुन्छ +२ पछि के गर्ने ? नेपालमै उच्च शिक्षा प्राप्त गर्ने कि बाहिरिने ? जस्ता विभिन्न कुराको आन्तरिक द्वन्द्वबीच उनीहरू शिक्षा प्राप्त गर्नका लागि विदेशीन्छन र उतै पलायन हुन्छन् ।

उच्ज शिक्षा प्राप्त गर्ने वा उच्च शिक्षा सक्ने बितिक्कै विदेश जान परिवारले प्रोत्साहन गर्ने चलन विकास भएको छ । बाहिरफेर निस्केर हेर्ने हो भने एउटा सानो सहरमा पनि दर्जनौं कन्सल्टेन्सीहरु विदेश पठाउन प्रोत्साहन गर्नकालागि अनेकौं किसिमले विज्ञापन (एड्भर्टाइज गर्ने) , स्कुल कलेज धाउने, ठाउँ ठाउँमा ब्यानर टाँस्ने गरेको देख्न सकिन्छ ।

सरकारले शिक्षा जस्तो क्षेत्रलाई गहन रूपमा नलिनु, व्यवहारिक शिक्षालाई व्यवस्थापन समुचित तवरले नरहेको जस्ता अरु थुप्रै कारणहरु युवाहरुले बताइरहेका छन् । अहिले अवस्था हेर्ने हो भने पहाडी अवस्था भयावह देखिन्छ । घरहरु मात्र हैन गाउँ गाउँनै रित्तिएका छन् । यता शहरहरूमा पनि हिजो कोठा भेट्न धौधौ पर्ने ठाउँमा आज फ्ल्याट भाँडामा, कोठा भाँडामा लेखिएका विज्ञापनहरु प्रशस्तै देख्न पाइन्छन् । एयरपोर्टमा लामबद्ध युवाहरू हेर्दा देश नै रित्तियो कि जस्तो लाग्छ। असम्भव झै लाग्ने तर अब सम्भव बनाएर देखाउनु पर्ने विदेशिने युवाहरूलाई रोकेर उद्यमशील र स्वरोजगार बनाएर राख्नुपर्ने बाध्यता नेपाल सरकारलाई आएको छ । यि तमाम समस्याकाबीच नेपालमै केही गर्छु भन्ने यूवाहरु मात्र पनि नभएका होइनन् । तर काम सँगसँगै समस्या आइदिन्छ र पारिवारिक समस्या समाधान गर्नका निमित्त विदेशीने गरेका युवाहरु थुप्रै भेटिन्छन् । युवा जनशक्ति रोक्नका निमित्त तीनै तहका सरकारहरु उत्तरदायी हुनुपर्ने देखिन्छ ।

नेपालमा उत्पादित जनशक्तिको सीप र क्षमता एक किसिमको तर नेपाली बजारको माग अर्को किसिमको र पढाइ एकातिर, बजारको माग अर्को तिर रहेको पाइन्छ । यति मात्र नभएर भ्रष्टाचारको अवस्था हेर्ने हो भने एकदमै मौलाउँदो छ । युवाहरू नयाँ प्रयास या केही गर्ने कोशिश गर्दा गर्दै बुढा भइसक्छन् । नेपालमा भएको स्रोत, साधन र उत्पादनलाई बजारीकरण गर्न नसक्नु अथवा स्रोत साधनको सहि प्रयोग भएको देखिदैन । यसै गतिले तीव्र रुप लिने हो भने जुनदिनसम्म बुवाआमा जिवित रहने छन् नेपाल आउँदै गर्ने र केही रकम पठाउने । अनि जब आमाबाबुको निधन हुन्छ तब, काजक्रिया सम्पन्न गरेर उतै पलायन हुनेछन् । कति अवस्थामा यस्तो पनि देखिएको छ कि काजक्रिया समेत मान्छे लगाएर गर्ने चलन सुरु भइसकेको र यसले पारिवारिक विखण्डनलाई वढावा दिन्छ । जसको न्यूनिकरणको निमित्त पनि स्थानीय रुपमा वा स्वदेशमै सीपमूलक र प्राविधिक शिक्षाको व्यवस्थापन गरी युवाहरूलाई स्वरोजगार बनाउनु पर्ने देखिन्छ ।

Author

You may also like