देश–समाज राष्ट्रिय लेख स्थानीय

अमेरिका र भारत बीच चर्किदो व्यापार युद्धको सवाल

अमेरिका र भारत बीच उत्पन्न भएको कर र अतिरिक्त कर सम्बन्धी विवाद र बहस अहिले विश्व व्यापी मुद्दा बन्न लागेको स्पष्ट परिलक्षित हुँदै छ।अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ताको बागडोर सम्हाले लगत्तै कडा रुपमा प्रस्तुत हुने र अमेरिकालाई पहिला कै जस्तो शक्तिशाली र गौरवशाली राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। अमेरिकालाई पुनः शक्तिशाली बनाउने हिसाबले व्हाइट हाउसले रणनितीक रूपमा नै कडा भन्दा कडा कदम उठाएर विश्वको अर्थ तन्त्र र राजनीतिमा आफ्नो दबदबा बढाउन अनेकौं किसिमबाट सरकारी निर्णयहरूमा हेरफेर गराउँदै लागेको पनि देखिन्छ। सन् २०२५ मा ट्रम्प सरकारले लिएका अधिकांश निर्णयहरुबाट वैश्विक रूपमा नयाँ किसिमको तनाव र खैला बैला मच्चिने संकेतहरु देखिन लागेको छ। भारत र अमेरिकाले व्यापारिक साझेदारी गरेर द्विपक्षिय व्यापार गरेर एक अर्कालार्ई सघाई रहेको अवस्थामा यस्तो कुन कुराले दुवै देश बीच चिसोपना बढदै गएको हो भन्ने कुरामा विश्व भरिका राजनीतिक ,कुटनैतिक र आर्थिक तथा सामरिक विश्लेषकहरुलार्ई चासो बढेर गएको छ।अमेरिका र भारतबीचको विवादको पृष्ठभूमिमा धैरै कारणहरू हुन सक्दछन ।तर सतहमा देखिएको कारण हरु मध्ये एउटा प्रमुख कारण चाहिँ भारत र पाकिस्तान बीच चलेको युद्ध ,सिन्दुरको, सर्जिकल स्ट्राइक हो । ट्रम्पले भारत र पाकिस्तान बीचको युद्धलाई अमेरिकाले मध्यस्थता गरेपछि युद्धविराम भएको हो भन्ने कुरालाई बारम्बार मिडियामा उचालिरहँदा भारतले त्यसलाई ठाडै इन्कार गरेका थिए। भारतले सर्जिकल स्ट्राइक अमेरिकाको सल्लाहले होइन पाकिस्तानकै सेना प्रमुख ले गरेको अनुरोधबाट रोकिएको हो भनेर बारम्बार मिडियामा आई रहेको छ। हालसालै भारतको संसदमा पनि युद्ध कसले रोक्न लगाएको हो भन्ने सवालमा भारतीय प्रतिपक्षी पार्टीका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि प्रश्नहरू तेस्र्याएका थिए। राहुल गान्धीले २६ पटक सम्म ट्रम्पले युद्ध मैले नै रोकाएको हुँ भनेर बारम्बार दावा गरिरहँदा प्रधानमन्त्री किन सत्य कुरा बोल्नुहुन्न भन्ने प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युद्ध भारतले कसैको दबाबमा आएर होइन आतंकवादका अयालार्ई ध्वस्त पारेर लक्ष्य पूरा भएको हुनाले युद्ध रोकिएको हो भनेर स्पष्टीकरण दिएका थिए। त्यस लगत्तै ट्रम्प भारतमाथि चिढईएर अत्याधिक मात्रामा आयात शुल्क लगाएर भारतलाई दबाबमा पार्न खोजेको कुराहरू प्रकाशमा आइरहेको छ। भारतलाई दबाब दिएर अमेरिकाले आफ्नो सर्तमा भारतलाई हो मा हो मिलाउनको लागि गरेको सबै प्रयास निष्फल भएपछि अमेरिकाले भारतमाथि निहुँ खोजेको हो भन्ने कुरा पनि भारतीय मिडियाहरूमा आइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको भारतलाई नयाँ भारत भनेर भन्न थालेका छन, र यो नयाँ भारत अब कसैको पछि लाग्दैन आत्मनिर्भर भारत को लक्ष्यलार्ई पूरा गरेरै छोड्छ। सन् २०४७ सम्म भारतलाई विश्वको नम्बर १ शक्तिराष्ट्रमा र आर्थिक महाशक्तिमा ¥याउने लक्ष्य र रणनीति अनुसार मोदीले काम गरिरहेको बुझिएको छ। अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सपथ ग्रहण गरे लगत्तै अमेरिकाको गौरव फिर्ता गर्ने र अमेरिकालाई पहिलाकै अवस्थामा शक्तिशाली बनाउने भन्ने लक्ष्यका साथ विश्वका अगाडि आफूलाई उभ्याउन लागेको देखिएको छ। रूस र युक्रेनबीच चलेको युद्धलार्ई रोकाउनको लागि डोनाल्ड ट्रम्पले धेरै प्रयास गरिरहेका छन्। युद्ध रोक्नको लागि रुसमाथि दबाब दिनको लागि अमेरिकाले रुसको व्यापार माथि पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् र त्यसको लागि कार्यान्वयनको लागि पहलहरू पनि गरिरहेका छन् तर अमेरिकाले रुसको व्यापार माथि प्रतिबन्ध लगाउन खोज्दा पनि भारतले अमेरिकी निर्णयको कुनै वास्ता नगरी रुसबाट अत्यधिक मात्रामा पेट्रोलियम पदार्थहरु खरिद गरेको हुनाले ट्रम्पको निशानामा भारत परेको हो हो। भारतले रुसबाट इन्धन खरिद गरेर अप्रत्यक्ष रुपमा रुसलाई सहयोग गरिरहेको हो भन्ने आरोप ट्रम्प प्रशासनले भारतमाथि लगाइराखेको परिप्रेक्षमा नै अमेरिकाले भारतीय आयात माथि अत्याधिक शुल्क ५०% सम्म लाग्ने गरी कर निर्धारण गर्दाखेरि भारतीय व्यापार मा ठूलो धक्का पुग्न सक्ने अवस्था देखिन थालिएको छ। भारतले खासगरी अमेरिकामा सुती कपडा, छालाका सामग्रीहरू, आइटी सेवाहरू, औषधिहरू, मेसिनरी पार्ट पुर्जाहरू ठूलो मात्रामा निर्यात गर्दछ जसमाथि ट्रम्प प्रशासनले २५% देखि ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरिसकेका छन् । त्यसको विकल्पको रुपमा भारतले पनि बहुपक्षीय रुपमा विभिन्न तरिकाबाट आफ्नो व्यापार घाटालाई नियन्त्रण गर्ने प्रयासहरु गर्न थालेका छन् । तर सबैभन्दा महत्वपूर्ण पक्ष के रहेको छ भने एकातिर अमेरिकाले आफूलाई विश्वको महाशक्ति बनाउने र विश्वमा आफ्नो दादागिरी देखाउने काम गरिराखेको छ भने भारतले पनि आगामी दिनहरुमा भारत विश्वगुरु भन्ने र भारत आत्मनिर्भर मात्र होइन पूर्ण आत्मनिर्भर देश बन्ने तथा सैन्य सञ्चालन को क्षेत्रमा पनि विश्वको अजेय राष्ट्र बन्ने संकल्पका साथ अगाडि बढिरहेको अवस्थामा भारत र अमेरिकाबीच देखिएको तनाव विश्वको लागि आश्चर्य लाग्दो र चित्त नबुझ्दो कुरा भइरहेको छ।
अत्याधिक मात्रामा भारतीय वस्तु हरू तथा उत्पादनहरूमाथि अमेरिकाले लगाउने डोनाल्ड ट्रम्पको प्रस्ताव र निर्णयले गर्दा भारतीय राजनीतिमा ठूलो भूकम्प र तरङ्ग पैदा भएको जस्तो अवस्था देखिन थालिएको छ भारतीय प्रधानमन्त्री र अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्प पुरानो मित्रका रूपमा विश्वको अगाडि मानिँदै आइरहेका छन् तर यी दुवैजना बीच देखिएको र उत्पन्न भएको असमझदारीले गर्दा दुवै बीच रहेको प्रगाढ सम्बन्धमा पनि कमी आइसकेको अनुभव गर्न सकिन्छ । अमेरिका अन्तर्राष्ट्रिय व्यापारमा संरक्षणवादी नीतिको समर्थक रहेको हुनाले आफूलाई फाइदा हुने कुरामा अन्तर्राष्ट्रिय व्यापार गर्ने र आफूलाई फाइदा नहुने कुरामा विदेश व्यापारलाई विभिन्न बहानाहरु देखाएर बन्देज लगाउने कार्य धेरै अगाडिदेखि नै गर्दै आइरहेको छ। अमेरिकामा भारतीय उत्पादनसँग अमेरिकी बजारमा कुनै प्रतिस्पर्धा गर्न नसक्दा भारतीय बजारलाई निस्तेज पार्नको लागि अमेरिकाले संरक्षण नीति अनुरूप २५ देखि ५० प्रतिशतसम्म कर लगाउन सक्ने कुरा घोषणा गरेका छन् ।यो नीति भारतीय उत्पादनमा मात्र होइन ,चीनको उत्पादनमा शतप्रतिशत कर लगाउने र अन्य देशहरूको पनि उत्पादनमा कर लगाएर अमेरिकाको बजारमा विदेशी उत्पादनहरूलाई निस्तेज पार्ने लक्ष्य अनुरुप उक्त कार्यहरू गर्न लागिएको हो। भारतले अमेरिकासँग व्यापारिक साझेदारी बढाउनको लागि निरन्तर प्रयास गरिरहँदा पनि दुवै देशबीचको व्यापारमा भारतलाई धेरै नै बचत नाफा भइरहेको बेला तथा अमेरिकामा भारतीय उत्पादनहरूको लगातार माग बढिरहेको बेलामा अकस्मात ट्रम्प प्रशासनले हतार हतारमा गरेको हचुवा किसिमको निर्णयले दुई देश बीचको व्यापारिक अवरोधहरू को विश्वव्यापी असर हरू हुन सक्छ खास गरेर भारतमा अमेरिकाले गरेको यस्तो निर्णयबाट भारतको विकास दरमा केही कमी आउन सक्ने अड्कल पनि गर्न थालिएको छ। अमेरिका र भारतबीचको व्यापार गतिरोधले वैश्विक रुपमै विभिन्न देशहरूसँग भइरहेको व्यापार सम्बन्धहरूमा टाढापन आउन सक्ने सम्भावनाहरू पनि केलाउन थालिएको छ।
अमेरिकाले रुस र युक्रेनबीच चलेको लामो युद्धलाई रोक्न को लागि धेरैचोटि प्रयास गरिरहँदा पनि सफलता नपाएपछि रुसमाथि चौतर्फी व्यापारिक प्रतिबन्धहरू लगाउने निर्णय गरेको थियो तर उक्त निर्णयहरू पनि कार्यान्वयन हुन नसक्दा ट्रम्पलाई असाध्यै रिस उठेको देखिन्छ ।रुस प्राकृतिक तेल भण्डारको ठूलो स्रोत रहेकोले भारतले सस्तो मूल्य दरमा रूसबाट पेट्रोलियम पदार्थहरूको खरिद गर्ने कार्यलाई सधैंझैं निरन्तरता दिइ नै रहेको थियो जुन कारणले गर्दा अमेरिकाली राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चिढिएको हो भन्ने कुरा विश्लेषकहरुले अनुमान लगाइरहेका छन् । अमेरिकाले भारतमाथि रूसको तेल खरिद गरेर युक्रेन र रुस बीचको युद्धमा रुसलाई सघाइरहेको आरोप लगाउन थालेका छन् जुन कारणले गर्दा भारतमाथि अत्याधिक अतिरिक्त शुल्क र कर लगाउन अमेरिका अघि सरेको हो।
अमेरिकाले भारतीय उत्पादनमाथि आफ्नो देशमा २५ देखि ५० प्रतिशतसम्म कर बढाउन सक्ने निर्णय गरेपछि भारतीय वस्तुहरूको मूल्य अमेरिकी बजारमा बढदै जाने र मूल्य बढ्दा भारतीय वस्तुहरूको माग घट्दै जाने अवस्थाबारे विचार गर्दा भारतलाई ठूलो व्यापार घाटा पर्न सक्ने बुझाई अमेरिकी प्रशासनको रहेको छ। भारत र अमेरिकाबीच व्यापारमा असमझदारी बढ्दै गएपछि भारतीय मुद्राको मूल्यमा पनि असाधारण गिरावट आउन सक्छ सेयर मूल्यहरूमा पनि कमी आउन सक्छ भारतको निर्यात पनि घट्न सक्छ। त्यस्तै अमेरिकामा पनि अमेरिकी उपभोक्ताहरूलाई भारतीय वस्तुहरू महंगो मूल्यमा खरिद गर्नुपर्दा अत्याधिक मूल्यवृद्धिको चपेटा मा पर्न सक्छ ।
रणनीतिक रूपमा र कूटनीतिक रूपमा पनि भारत र अमेरिकाबीच को सम्बन्ध चिसिन सक्छ। अमेरिका भारत जापान र अस्ट्रेलिया क्वाड संगठनका सदस्य को रूपमा रहेका छन् ती देशहरूबीच पनि डिफेन्स सहयोगहरूमा कमी आउन सक्छ तथा अविश्वास पैदा हुन सक्छ। ग्लोबल रुपमा पनि भारत र अमेरिका बीचको व्यापार गतिरोधले धेरै देशहरूको दुईपक्षीय र बहुपक्षीय व्यापार सम्बन्धहरू मा गतिरोध आउन सक्छ । वल्र्ड ट्रेड अर्गनाइजेसन डब्लुटीओका बहुपक्षीय व्यापार सम्झौताको नीति वैश्विक रुपमै खतरामा पर्न सक्छ। आइएमएफले अमेरिकालाई यस्तो नीतिबारे पुनर्विचार गर्ने आग्रह गरेका छन्। भारत र अमेरिका बीचको व्यापारमा देखिएको तनावले भारतको लागि एउटा नयाँ अवसरको पनि ढोका खुल्ला गरिदिएको छ खास गरेर भारतलाई औषधि, टेक्सटाइल्स, आइटी सेवा, लेदर प्रोडक्ट्स आदि क्षेत्रहरुमा विश्वका अन्य अन्य देशहरुमा व्यापार बढाउने ठूलो अवसरहरु प्राप्त हुन सक्छ।

Author

You may also like