दमक/ आइतबार राती झापाको हल्दिबारी गाउँपालिका–३, बाघ डाँडामा ३ वटा जंगली हात्ती गाउँमा पसेपछि स्थानीय बासिन्दाको नीद हराम भयो । सबै त्राही त्राही भए । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार राति साढे १२ जंगली हात्ती वस्तीमा पसेको थियो । हात्ती समूहमा गाउँमा पस्दा निमाई बाँनियाको टिनको छाना र घेराबेरा भएको घर, खरको छाना, टिनको घेराबेरा भएको भान्सा घर भत्काएको छ । सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटी बेरा भएको भान्सा घर समेत भत्किएको छ ।
रातभर वितन्डा मच्चाएर बिहान राति ३ बजेतिर हल्दिबारी गाउँपालिका वडा नं. २ भेलागुडी सिमसारमा समेत जंगली हात्ती छिरेको थियो । त्यसक्रममा स्थानीय खेम गौतमको टिनको छाना र बाँसको टाटिबेरा भएको घर पनि भत्काएको छ ।
स्थानीय ४८ वर्षीय नरेश खड्काको इट्टा, सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको समेत पूर्वपट्टीको पर्खाल भत्काएको छ । घटनामा उनकी श्रीमती ४२ वर्षीय अम्बिका खड्काको दाहिने हातको पाखुरा र कुम्ममा चोट लागेको छ । प्रहरी र स्थानीयवासीले बिहान हात्तीलाई जंगलतिर खेदेका थिए । यो घटना त झापाबासीकालागि प्रतिनिधी घटना मात्र हो ।
पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएका छन् । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेका छन् । झापा जिल्लामा मात्रै २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । सोही अवधिमा छवटा हात्ती पनि मारिएका छन् ।
हात्ती आक्रमणका घटना अध्ययन गर्दा बिहानी पैदलयात्रा (मर्निङ वाक) गर्ने, जङ्गल छेउछाउ घाँसदाउरा काट्ने र जङ्गलभित्र निगुरो र च्याउ टिप्न जाने मानिस निशानामा परेको देखिन्छन् । कचनकबल–७ का ८२ वर्षीय वृखबहादुर राईको एक वर्षअघि हात्तीको आक्रमणमा दिनदहाडै मृत्यु भएको थियो। दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न जाँदा उनलाई हात्तीले आक्रमण गरेको थियो ।
गत असारमा भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई बिहानको ४ बजेतिर देउनिया खोलाको बगरमा हात्तीले खेदाएर मा¥यो । उनी हल्दिबारीको चिया बगानमा जङ्गली च्याउ खोज्न जाँदा हात्तीको आक्रमणमा परे । झापाको दमकको माथिल्लो क्षेत्रपनि हात्ती त्रसित क्षेत्र भनेर चिनिन्छ । बेलडाँगी आसपासको बाटोमा हात्ती निस्कने र स्थानीयलाई दुःख दिने गरिरहेको दमक वडा नं ३ का वडाध्यक्ष नविन बराल बताउँछन् । यस क्षेत्रमा पनि विगत ३ वर्षमा ५ जनाले हात्तीका कारण ज्यान गुमाउनु परेको छ ।
जिल्लाको उत्तरी चुरे भागबाट दक्षिणको जलथल प्राकृतिक वन क्षेत्र हात्तीको पुरानो विचरण क्षेत्र पर्दछ । यहाँ भारतको आसामबाट हात्तीको बथान बर्सेनि आउने गर्छन् भने डेढ दर्जनभन्दा बढीको संयामा रहेका रैथाने हात्तीको बासस्थान नै यहीका जङ्गल भएको छ ।
हात्तीसम्बन्धी अध्येता झापा, सुनसरी र मोरङको धेरै भूभाग कैयन पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको मान्छन् । हात्तीको पुरानो बासस्थान भनिएको उहिलेको जङ्गली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ । बितेको ६० वर्षमा जङ्गल मासिएर मान्छेको बस्तीले ढाकिसकेको अवस्था छ । तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शंकर लुइँटेल बताउँछन् ।
हल्दिबारी–२ वडा कार्यालयका कर्मचारी पताल राजवंशीको यही गत पुसको पहिलो साता मर्निङ वाकमा हिँडेका बेला हात्तीको आक्रमणमा परेर मृत्यु भयो । हात्तीले एकान्तस्थलमा मारेपछि स्याउला र पत्करले छोपेर हिँडेको पाइएको थियो । शिवसताक्षी–११ का ४५ वर्षीय मेघराज राईको यही पुस १३ गते राति हात्तीले घरछेउमै आक्रमण गर्दा मृत्यु भयो । हात्ती घर भत्काउन थालेपछि ज्यान जोगाउन बाहिर निस्कँदा राई हात्तीको निशानामा परेका थिए ।
हात्तीको क्षति न्यूनीकरणका लागि मानव–हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की बताउँछन् ।
जिल्लामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो । बर्सेनी बाहुनडाँगीमा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो । त्यहीकारण बाहुनडाँगी हात्तीपीडित क्षेत्रका रूपमा चिनिन्छ ।
झापा र मोरङ र सुनसरीमा हात्तीका कारण जनधनको क्षति हुनुमा मानव–हात्तीबीच अस्तित्वका लागि हुने द्वन्द्व मुख्य कारण रहेको छ ।