समाचार

भद्रपुरमा जंगली हात्ती मृत फेला

भद्रपुर, २५ असोज-
झापाको भद्रपुरमा बुधवार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ ।
भद्रपुर नगरपालिका- २ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालयनजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । त्यहाँ स्थानीयले मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हात्ती मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी रिजाल घटनास्थल पुगेका थिए । ‘वयस्क हात्ती चौडाइ कम भएको गहिरो नालीमा फसेको देखियो,’ डीएसपी रिजालले भने, ‘नालीबाट निस्किन हात्तीले निक्कै प्रयास गरेको देखिन्छ, अगाडिको खुट्टा हिलोपानीमा दबेकोले निस्किन सकेन र त्यहाँ नै मृत्यु भएको हुने देखिन्छ ।’
घटनास्थलमा प्रहरी र डिभिजन वन कार्यालय झापाको टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकको टोलीलाई खबर गरेको थियो । डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले चिकित्सकको टोलीले पोस्टमार्टम गरेपछि आउने रिपोर्टबाट हात्ती मर्नुको यकिन कारण खुल्ने बताइन् । झापामा अहिलेसम्म १८ वटा हात्तीको मृत्यु भइसकेको उल्लेख छ ।

You may also like