दमक, २५ असोज –
झापाको कमल गाउँपालिका वडा नं २ ले वडाबासीहरुको निधनमा काजकिरियामा सहयोग वापत नगद १० हजार रुपैयाँ उपलब्ध गराउने नवीन तथा मानवीय संवेदनासँग जोडिएको कार्यक्रम थालेको छ ।
आर्थिक बर्ष २०८०/ ०८१ मा वडाले विनियोजन गरेको आर्थिक सहयोग वापतको त्यस्तो सहयोग गर्ने क्रम शुरु गरेको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष अशोक सुब्बाले वडाबासीहरुको दुखमा सहानुभति प्रकट गर्दै समवेदनासहित मृतकको घरमै पुगेर त्यस्तो सहयोग हस्तान्तरण गरिने कार्य शुरु गरिएको बताए । दुई दिन अघि वडाका एक जना दिवंगत परिवारलाई राहतसहित समवेदनापत्र दिएर कार्यक्रम शुरुवात गरिएको उनले सुनाए ।
उनले नागरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा स्थानीय सरकार भएको र उनीहरुको सबैभन्दा नजिकको जनप्रतिनिधि वडा तहमा हुने भएकाले नागरिकहरुलाई प्रत्यक्ष राहत, सहयोग अनुभूति हुने गरि गाउँपालिकामै पहिलो पटक सो कार्यक्रम ल्याइएको जानकारी दिए ।
यसअघि नै सो वडाले वडा कार्यालयमा आउने सेवाग्राहीहरुलाई फोटोकपी, कागजात प्रिन्ट, आवश्यक अनुसूची भर्ने, निवेदन लेख्ने जस्ता काम निःशुल्क गरिदिने निणर्य गरिसकेको छ । त्यस्तै सो वडाले वडा भित्रका विद्यालयहरुमा शैक्षिक सरोकार राख्ने बाहेक कुनै पनि किसिमका सभा, समारोह, राजनीतिक गतिविधि, संघ संगठनका कार्यक्रमहरु गर्न रोक लगाउने निणर्य गरिसकेको छ ।