दमक – याक्थुङ लिम्बू समुदायको मौलिक सांगीतिक परम्परा ‘साम्लो’लाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ (सिजन) ३’ को ग्राण्ड फिनाले यही शनिबार, ५ अप्रिल २०२५ मा दमक–५ स्थित रोयल पार्टी प्यालेसमा सम्पन्न हुँदैछ।

आयोजक संस्था याक्थुङ फक्ताङलुङ साँस्कृतिक मञ्चका अध्यक्ष पुर्ण कुमार सेर्माले यो प्रतियोगिता याक्थुङ समुदायको सांगीतिक सम्पदाको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानको हिस्सा भएको बताए। “साम्लो हाम्रो मौलिक पहिचान हो, यसलाई संरक्षण र प्रवर्द्धन गर्नु आजको आवश्यकता हो,” सेर्माले भने।

महासचिव कञ्चन थलङ्गका अनुसार प्रतियोगितामा छनोट भएका १० उत्कृष्ट प्रतियोगीहरूले फिनालेमा प्रतिष्पर्धा गर्नेछन्। निर्णायक मण्डलमा प्रथम लिम्बू गायक भगत सुव्वा, मुन्धुमविद यासेली योडहाड र चर्चित गायिका मननेम्बाङ रहेका छन्।

फिनालेमा भाग लिन तयार रहेका उत्कृष्ट १० प्रतियोगीहरूमा बिजय फागो वनेम, गगन प्रकाश लावती, मनु योड्हाड, अशल तम्रोक, दर्पण शेर्मा (याम्धान), सुनिता लावति, अर्जुन नाल्बों, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन र राजेन्द्र सेमा रहेका छन्।

संघीय सदस्य दिलिप फुरम्वोले प्रतियोगिता केवल एक सांगीतिक प्रतिस्पर्धा नभई सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अभियानसमेत भएको बताए। “हामी प्रतिभाको खोजी मात्र गर्दै छैनौं, सांस्कृतिक आत्मगौरवलाई पनि जीवन्त राख्दैछौं,” उनले स्पष्ट पारे।

कार्यक्रम निर्देशक बिक्रम वनेङ्गवोका अनुसार विजेताका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले ५ लाख रुपैयाँ नगद, अडियो/भिडियो एल्बम, विदेश भ्रमण, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोश्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः २ लाख ५० हजार र १ लाख २५ हजार रुपैयाँसहित विविध सांगीतिक अवसरहरू प्राप्त गर्नेछन्। सान्त्वना पुरस्कारसहित उत्कृष्ट १० प्रतियोगीहरूलाई पनि विशेष सम्मान गरिनेछ।

आयोजकहरूका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका तुत्त तुम्याङ, याक्लागेन सुहाङमा, बुद्धिजीवी, मुन्धुम अनुरागी र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। सार्वजनिक निमन्त्रणा गरिसकेको यस कार्यक्रमलाई भव्य बनाउने सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

Author

You may also like