गणेश अधिकारी नेपाल सरकारका पूर्वप्रशासक हुन् । सहलेखापालदेखि प्रमुख जिल्ला अधिकारी सम्मको जिम्मेवारी सम्हालेका अधिकारीसंग ३२ वर्षको निजामति सेवामा २१ वर्ष भने विभिन्न कार्यालयहरुको प्रमुख भएर काम गरेको अनुभव छ । सेवानिवृत्त भएपछि उनी हाल नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ झापाको उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । त्यस्तै झापाको दमक नगरपालिका–५ का स्थायी बासिन्दा उनी हाल काँग्रेसको क्षेत्रीय प्रतिनिधिका रुपमा पनि रहेका छन् । नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी इलाम बहुमुखी क्याम्पसमा अध्ययन गर्दा २०४० सालमा नेविसंघको इकाइ सदस्य थिए । निजामति सेवामा रहँदा समेत काँग्रेस निकट नेपाल निजामति कर्मचारी संघ धनकुटाको अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका थिए । उनै अधिकारीले अहिले आएर स्थानीय तहको चुनाव घोषणा भएसंगै नेपाली काँग्रेसको तर्फबाट दमक नगरपालिकाको प्रमुखको आकांक्षीका रुपमा आफूलाई अघि सारिरहेका छन् । प्रस्तुत छ, उनै अधिकारीसंग पूर्वसन्देशका लागि पंकज दाहालले गरेको कुराकानी ः
– तपाई नेपाली काँग्रेसमा लाग्नुको कारण के हो ?
नेपाली काँग्रेस लोकतान्त्रिक र उदार विचार राख्ने पार्टी भएकाले म विद्यार्थी हुँदा देखि नै यो पार्टीमा लागेको हुँ । काँग्रेसको देश र जनताप्रतिको नीति, विचार, सिद्धान्त र कार्यक्रमबाट प्रभावित भएकाले युवा अवस्थादेखि हाल ६१ वर्षको उमेरसम्म पनि निरन्तर रुपमा लागीरहेको छु ।
– कर्मचारी भएर काँग्रेसको राजनीतिमा लाग्दा अप्ठ्यारो महशुस भएन ?
कर्मचारी हुँदा निश्चय पनि राष्ट्रसेवकको भूमिका निर्वाह गर्नुपथ्र्यो, जुन मैले आफ्नो क्षमता र बलबुताले भ्याएसम्म गरेकै हुँ । त्यसक्रममा २०४७ सालदेखि २०४९ सम्म नेपाल निजामति कर्मचारी संघ धनकुटाको संस्थापक सदस्य र त्यसपछि २०५१ सालसम्म अध्यक्ष भएर काम गरें । राष्ट्रसेवक हुँदा काँग्रेस पार्टीको प्रत्यक्ष सदस्यता नलिइ शुभेच्छुक संस्थाको माध्यमबाट मात्र काम गरियो । कर्मचारीकै संगठनमा आवद्ध भएकाले कर्मचारीको हक, हित र नागरिकको सेवाका लागि काम गर्नुपथ्र्यो, त्यो गरियो, त्यसैले खासै अप्ठ्यारो महशुस भएन ।
– विशुद्ध राजनीतिमा समर्पित व्यक्तिहरुनै निकै रहेको अवस्थामा पार्टीले तपाईलाई दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बनाउला त ?
í नगर प्रमुखको उम्मेदवार कोही कसैलाई त्यत्तिकै बनाउने होइन । व्यक्तिको योग्यता, क्षमता, अनुभव, पार्टीप्रतिको निष्ठा, इमानदारिता र त्याग एवं सपर्मणका आधारमा मूल्यांकन गर्ने हो । मैलै दमकमा रहेका विभिन्न कार्यालय जस्तो इलाका प्रशासन कार्यालयको प्रमुख र तत्कालिन अवस्थामा माओवादी लडाकू हेर्ने स्थानीय शिविर व्यवस्थापन कार्यालयको प्रमुख भएर काम गरेँ । त्यसक्रममै मैले मेरो आफ्नो बसोबास भएको क्षेत्र समेत भएकाले दमकलाई कसरी समृद्ध, सफा, सुन्दर र विकसित शहर बनाउन सकिन्छ भनेर परिकल्पना गरेको थिएँ र छु । त्यस आधारमा मलाई पार्टीले नगर प्रमुखको उम्मेदवार दिन्छ भन्ने आशा एवं विश्वास लिएको छु । तर निर्णय भने पार्टीलेनै गर्ने हो, त्यसमा मेरो स्वीकारोक्ति हुनेछ ।
– त्यस्तो परिकल्पना के हो र छ ?
मैले सेवा निवृत्त नहुँदै इलाका प्रशासन कार्यालयको प्रमुख हुँदादेखि सो कार्यालयबाट माईपश्चिमका जनतालाई नागरिकता र राहदानी यहीँबाट दिने कार्य आरम्भ भएको हो । त्यस्तै दमकलाई आधुनिक, समृद्ध र विकसित शहर बनाउन एउटा छुट्टै गुरुयोजना २०६३ सालमा माओवादी लडाकू हेर्ने स्थानीय शिविर व्यवस्थापन कार्यालय दमकको प्रमुखन हुँदा नगरपालिकामा पेश गरेको थिएँ । त्यतिबेला स्थानीय निकायमा अहिलेको जस्तो जनप्रतिनिधिहरु थिएनन् । राजनीतिक संयन्त्रले काम गथ्र्यो । सो संयन्त्रमा पेश गरेको गुरुयोजनामध्ये विशेष गरी पहिला ड्रेन अनि ड्रेन टु ड्रेन पिच भन्ने योजना, ठाउँ ठाउँमा पार्किङ, आधुनिक पार्क, आदि पेश गरेको पहिला ड्रेन अनि ड्रेन टु ड्रेन पिच मात्र लागू भयो अन्य योजना भने लागू भएनन् ।
दमकको सडक डिभिजन कार्यालयभित्र रहेको पाँच विगाहा सरकारी जमिनमा सबै कार्यालयहरु एकीकृत राख्ने र बाँकी रहेको जमिनमा आधुनिक पार्क बनाउने योजना भने नगरपालिकाबाट स्वीकृत भई गृह मन्त्रालयबाट समेत पास भयो तर भौतिक योजना तथा निर्माण मन्त्रालयमा गएर त्यसलाई रोकियो । यस्तो किन भयो मैले बुझ्न सकेको छैन । तर त्यो योजना अनुसार काम गर्दा दमकले विकसित शहरको रुपमा काँचुली नै फेर्छ । सो परिकल्पना र गुरुयोजनाबारे व्यापक छलफल भएकाले यहाँका राजनीतिक दल र नागरिकहरु समेत जानकार रहेका छन् ।
– तपाईलाई काँग्रेसले उम्मेदवार बनायो भने जित्ने आधारहरु के के छन् ?
अहिले दमक नगरपालिकाको जनसंख्या १ लाख ७ हजारको हाराहारीमा छ । त्यसमध्ये ५० हजार जति मतदाता होलान् । मैले १२ वर्षजति दमक र आसपासका विभिन्न कार्यालयमा नै रहेर राष्ट्रसेवकको रुपमा काम गरें । त्यसबेला सर्वसाधारण जनताको हित र निम्न वर्गका जनताहरुको सेवामा विशेष ध्यान दिएर काम गरेको छु । निःस्वार्थ भावले हजारौंलाई सेवा दिएको छु । मलाई पार्टीभन्दा पनि माथि उठेर नगरको विकास र स्थानीयवासीको हितका लागि काम गर्नु छ । मैले अहिले निवृत्तिभरण (पेन्सन) पनि प्राप्त गरिरहेको छु । त्यसैले मलाई कुनै लोभलालच छैन । केवल छ त दमकलाई गौरव गर्न लायक शहर बनाउनु छ । अर्कातर्फ म इलाममा हुर्केबढेकाले त्यस क्षेत्र साथै पाँचथर र ताप्लेजुङबाट बसाईं सरेर आउने मेरा इष्टमित्र तथा साथीभाइहरुको ठूलो जनसंख्या र बसोबास यहाँ भएकाले साथै दमकवासीसंग प्रत्यक्ष सम्पर्क भइ काम गरेकाले मैले उम्मेदवारी पाएमा जित्नेछु भन्ने विश्वास छ ।
ल अहिले देशमा पाँच दलीय गठबन्धनको सरकार छ । आगामी वैशाख ३० गते निर्वाचन हुँदैछ । यस्तो अवस्थामा यो गठबन्धन कायम राख्नुपर्छ कि काँग्रेस एक्लैले चुनाव – लडनुपर्छ , के लाग्छ ?
अहिले देशमा मिलिजुली सरकार छ । तर यो भन्दा एउटै पार्टीको बहुमतको सरकार हुँदा देश र जनताका पक्षमा काम गर्न सहज हुन्छ । धेरै पार्टीहरुको गठबन्धन हुँदा सबैको चित्त बुझाउनुपर्ने भएकाले काम गर्न अलि गाह्रो नै हुन्छ । तर अब हुने स्थानीय तहको चुनावमा सहकार्य गरेर जाने या पार्टीले एक्लै लड्ने भन्ने सन्दर्भमा केन्द्रीय नेतृत्वले जे निर्णय गर्छ, त्यसैलाई मानेर अघि बढ्नु उचित हुन्छ ।
– तर बहुमतको सरकार न त काँग्रेसको टिक्यो त त साविकको नेकपाको ?
हो, दुई ठूला पार्टीहरु नेपाली काँग्रेस र नेकपाले एक्ला एक्लै बहुमत ल्याउँदा पनि पूरा पाँच वर्ष टिक्न सकेनन् । यो यथार्थ हो । यसमा राजनीतिक नेतृत्वबाट कमजोरी भएकै हो । यसो हुनुमा पार्टीको केन्द्रमा रहेका केही व्यक्तिको अहंम्ताले गर्दा हो । तर अहिलेको समय सूचना प्रविधिको समय हो । सामाजिक सञ्जाल र इन्टरनेटको पहुँचका कारण क्षणभरमै जनताले आफ्नो धारणा बनाउन र फेरबदल गर्न सक्छन् । हाम्रो पार्टी लोकतन्त्रलाई सुदृढ पार्न चाहन्छ । बहुमत आए आगामी दिनमा बन्ने सरकार स्थिर हुन्छ ।
– प्रजातन्त्र पुनस्र्थापना पछि लामो समय सत्तामा बस्दा काँग्रेस प्रति जनताको आकर्षण घटेको देखियो नि ?
पार्टीका सीमित व्यक्तिको महत्वाकांक्षा र कसैको, अझ जनताको कुरा नसुन्दा यस्तो भएको हो । राजनीतिमा कि त नेतृत्व ज्ञानी हुनुप¥यो कि त जनताको कुरा सुन्नु प¥यो । यो कुरा अहिलेका युवा मतदाताले बुझेका छन् । १४ औं महाधिवेशनबाट पार्टीमा लगभग ७० प्रतिशत उच्चा विचार र शिक्षा लिएका युवाहरु नेतृत्वमा आएका छन् । उनीहरुले जनतामा नयाँ उर्जा भरिरहेका छन् । यसैले अहिले काँग्रेस प्रतिको आकर्षण बढेको छ । यसपटकको चुनावमा जनताले काँग्रेसलाई साथ दिन्छन् ।
– तपाई दमक नपाको मेयर हुनु्भयो भने के गर्नुहुन्छ ?
म विकास नभएका ठाउँमा विकास पु¥याउँछु । विकास भएको छ भने त्यसको संरक्षण गर्छु । प्रतिवर्ष २० किलोमिटर मात्र सडक बनाउँछु, जुन नबन्दै भत्किने होइन, उच्च गुणस्तरको र फराकिलो हुन्छ । शहरको सौन्दर्यकरण गर्छु । एक वडा एक पार्क, फ्रि इन्टरनेट र वाईफाईको व्यवस्था गर्छु । विकास निर्माणका हरेक काममा जनतालाई नै छनौट गर्न लगाउने र उनीहरुसंगको सहकार्यमा काम गर्छु । अनुगमनको कार्यलाई निरन्तरता दिनेछु । नगरवासीलाई अत्यावश्यकह रहेको यातायात व्यवस्था कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय ६ महिनाभित्र ल्याउने छु । शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ र गुणस्तरीय बनाउने छु । वडा कार्यालयबाटै ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गर्नेछु । सर्पले टोकेका, सुत्केरी व्यथा लागेका र दुर्घटनामा परेकालाई नगरभित्र अस्पतालसम्म ल्याउने र डिस्चार्ज भएपछि घरसम्म पु¥याउने निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने छु । पटके सवारी शुल्कले यातायात व्यवसायी र सर्वसाधारणलाई दिएको झन्झट हटाउने छु । नगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गरेर बाह्य पर्यटक भित्र्याउने छु । नगरवासीलाई विना झन्झट आवश्यक सेवाहरु उपलब्ध गराउने व्यवस्था मिलाउने छु ।