काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गर्नुभएको छ । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो ।
शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । उक्त भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ ।
प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ । संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ ।