देश–समाज समाचार स्थानीय

दमकमा बहुउद्देश्यीय पार्क बनाउने गृहकार्य

:– पंकज दाहाल –:
दमक/ देशमा चुनाव लागेको छ । दलहरु आफ्नो उम्मेदवार लिएर मत माग्न व्यस्त छन् । कोही धेरै काम ग¥यौं भन्दैछन् त कोही पुरानाले भ्रष्टाचार धेरै गरे भन्दैछन् । तर्क आ–आफ्नै छन् । कोही राजनीति कसैको विर्ता र वपौती होइन भन्दैछन्, त कोही नयाँले कुनै खालो सार्दैनन् भन्दैछन् । तर जे होस् देशले परिवर्तन खोजेको छ । नयाँ नयाँ संभावनाहरु खोजेको छ । विकास, निर्माण र समृद्धि आजको आवश्यकता हो भनेको छ । भन्न त पुरानाहरु पनि त्यही भन्छन्, तर आफ्नो, दलको अनि कतिपय आसेपासेको जीवनस्तर उकासिएको देखिन्छ । देखिँदैन सुशासन र भ्रष्टाचारको समूल नष्ट भएको, नयाँ पुस्तालाई पालो दिएको । दशकौं एउटै र उही अनुहार, पुरानो सोच र विचार, आचरण, संस्कार र व्यवहार, आरोप प्रत्यारोप, अनि रुखो बोलीले देश र जनताको जीवनमा कुनै तात्विक भिन्नता ल्याउने कुनै गुञ्जायस छैन । यस्तो अवस्थामा झापाको दमक नगरपालिका भने पर्यटनको संभावना खोज्दै नगरलाई उज्यालो र आकर्षक गन्तव्यका रुपमा विकास गर्ने वृहत् गुरुयोजना तयार गर्न लागीपरेको छ ।
५० विगाहमा बहुउद्देश्यीय पार्क
कुरा दमकको उत्तरी क्षेत्र अर्थात् वडा नं. २ मा रहेको राष्ट्रिय वनभित्रको हो । त्यहाँको एक भागमा ७ विगाहको क्षेत्रफलमा हाल शहीद वन वाटिका रहेको छ । त्यसमा करिव ३ करोड खर्च भइसकेको तथ्यांक छ । एउटा पोखरी छ, तर लगभग सुख्खा । चारैतिर कम्पाउण्ड वाल छ । तर भित्र खास केही छैन । भूतपूर्व व्रिटिश गोर्खा सैनिकहरुलाई केही जग्गा दिइएको छ । तर उनीहरु सन्तुष्ट छैनन् । यस्तो अवस्थामा नगरपालिकाले वृहत र गौरवको योजना अघि सार्ने चेष्टा गरिरहेको दमक नगर प्रमुख राम कुमार थापा बताउँछन् ।
के हो त्यो योजना ? नगर प्रमुख थापा भन्छन्– हामीलाई वन विभागले ५० विगाह जग्गा दिनुप¥यो । हामी त्यहाँ बहुउद्देश्यीय र रहरलाग्दो अनि देश विदेशका पर्यटक लोभ्याउने पार्क बनाउँछौं ।’ त्यो कसरी हुन्छ, उनी भन्छन्– त्यस ठाउँमा वृहत बाल उद्यान बनाउँछौं । जुन वृद्धवृद्धाका लागि पनि रमाउने ठाउँ बन्छ । अहिले भएको पोखरीलाई बढाएर आकर्षक र डुंगा चलाउने बनाइनेछ । मानिसहरु त्यसमा पैसा तिरेर जलपोखरीको मजा लिन्छन् । डुंगा चलाउँदाको फोटो खिच्छन्, सेल्फी हान्छन् । अनि नजिकैको क्यान्टिनमा कफी, कुल्फी र मःमको स्वाद चाख्छन् ।’
पार्कभित्रका उद्योग के के ?
बहुउद्देश्यीय पार्क घुम्नुको मजानै बैग्लै हुनेछ । आनन्द अर्कै आउनेछ । त्यहाँ पिकनिक (वनभोज) स्थलहरु हुनेछन् । मानिसहरु नाचगान र रमाइलो गरेर वनभोज खान्छन् । बेलुका घर फर्किन्छन् । सँगै एक भव्य सभा÷सेमिनार हल बन्नेछ । व्यायामशालाको निर्माण गरिनेछ । भूटानी मूलका नेपाली भाषीहरुको सम्झनामा शरणार्थी संग्राहलय बनाइनेछ । साथै अर्को जातीय संग्रहालय पनि हुनेछ, जसले पूर्वी नेपालका आदिवासी जनजाति लगायतको भेषभूषा, संस्कार, संस्कृति, कला कौशल, परम्परागत प्रविधिको झल्को दिनेछ । मिनी चिडियाखाना पनि स्थापना गरिनेछ । कृषि उद्यम र जैविक उत्पादनमा पनि जोड दिनुपर्ने माग स्थानीयको रहेको छ । त्यहाँ मिनी रेल पनि चलाइनेछ । खेलकुदको लागि खेलमैदान हुनेछ । तर यो एउटा कल्पना हो, सपना हो, जसमा आधारित भएर दमक नगरपालिका ५० विगाह जग्गा वन तथा वातावरण मन्त्रालय सँग भोगाधिकारका लागि सिफारिस माग गर्ने तरखरमा रहेको सव–ईन्जिनियर कमल दाहालले जानकारी गराए ।
सरोकारवालाहरुको
समर्थन र प्रतिवद्धता
यस्तो गुरुयोजना तयार गर्न आन्तरिक छलफल भइरहेको छ भने दमकवासी र स्थानीय प्रभावित बासिन्दाको साथ समर्थन र सहयोग जुटाउन साथै आइडिया जुटाउन सरोकारवालाहरुको बैठक बसाइएको छ । नगरपालिकामा विहीबार भएको छलफल तथा बैठकमा सहभागी सबैले यस्तो गुरुयोजनामा साथ सहयोग र समर्थन गर्ने बताए  भूतपूर्व व्रिटिश गोर्खा सैनिकहरुले पनि ‘गोर्खा भिसी पार्क’ बनाउन जग्गा छुट्याए आफूहरुले सहयोग जुटाउने र त्यसका लागि लागीपर्ने प्रतिवद्धता व्यक्त
गरे  । हाल भएको शहीद वन वाटिकालाई बहुउद्देश्यीय पार्कमा रुपान्तरित गर्न ५० करोडको वृहत गुरुयोजना तयार पार्ने नगरपालिकाले गृहकार्य गरिरहेको छ । नगर उप–प्रमुख भट्टराईले पनि यस्तो योजना बनाउने कुरामा सरोकारवाला सबैको साथ सहयोग र समर्थन आवश्यक रहेको बताउँछिन् ।
वन मन्त्रालयले माग्यो विवरण
यसका लागि वन तथा वातावरण मन्त्रालयले दमक नगरपालिका सँग वृहत परियोजना माग गरेको छ । मन्त्रालयले एक पत्र लेख्दै यस्तो माग गरेको हो । नगरपालिका पनि अहिले जुर्मुराएर लागेको छ । गएको साउनमा नगर प्रमुख रामकुमार थापा र उप–प्रमुख रेगिना भट्टराई प्रसाईले राजधानी काठमाडौंमा तत्कालिन वन मन्त्री र नगर विकास कोषका पदाधिकारीहरुसँग छलफल गरेका थिए । कोषले अनुदान र ऋण सहयोग दुवै गर्न सकिने तथा मन्त्रालयले संघ, प्रदेश र पालिका सरकारको संयुक्त आयोजनाका रुपमा विस्तृत परियोजना प्रतिवेदन र ईन्जिनियरिङ डिजाइन सहित पेश गर्न भनेपछि अहिले आएर यो तत्परता देखाइएको हो । गत भदौमानै यो काम हुने भएतापनि जेनजी आन्दोलनका कारण पछि सरेको नगर प्रमुख थापाको भनाई थियो ।
उनले मन्त्रालयले मागेको विवरण र परियोजना प्रतिवेदन संभव भएसम्म अबको दुई साताभित्रै तयार गरेर बुझाइने तयारीमा नगरपालिका रहेको बताए । चुनाव भएपनि यो काम रोकिँदैन । यो विकास र समृद्धिको योजना भएकाले निरन्तरको कार्य हो।
शहीद वन वाटिकाको अवस्था
हाल शहीद वनवाटिकामा प्रवेशद्वार, सामुदायिक भवन, ३ वटा टहरा, पोखरी, शौचालय, बाटोमा लकिङ टायल र वरिपरि कम्पाउण्ड वाल लगायतका संरचना रहेका छन् । यसमा स्तरोन्नति र विकास गरेर ७ विगाहबाट बढाएर ५० विगाह क्षेत्रफलमा बहुउद्देश्यीय पार्क निर्माण गर्ने योजना बनिरहेको छ । तर यो गुरुयोजना तयार गर्दा हाल नगरपालिका क्षेत्रमा भएका ठूला योजनाहरु कतिको व्यवस्थित र फलदायी भएर कार्यान्वयनमा छन् तिनको पनि लेखाजोखा गर्नुपर्ने कतिपय सरोकारवालाको तर्क छ । ठूलो र वृहत परियोजना बनाउँदा त्यसबाट हुने प्रतिफल र दिगोपनामा ध्यान दिन पनि कतिपयको सुझाव छ ।

Author

You may also like