दमक, – झपाको दमकमा क्लब हिमालयन टाइगर र बी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालबीच विशेष स्वास्थ्य सेवा सहकार्य अन्तर्गत “स्वास्थ्य साथी” कार्यक्रमका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौतामा क्लब हिमालयन टाइगरका अध्यक्ष रेवत राज भण्डारी र बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक अञ्जली कार्की प्रशाईले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार क्लब हिमालयन टाइगरका सदस्यहरू तथा तिनका परिवारहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण, उपचार तथा जनचेतनामूलक कार्यक्रमहरूमा विशेष सुविधा प्रदान गरिनेछ। “स्वास्थ्य साथी” कार्यक्रमअन्तर्गत मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य, तनाव व्यवस्थापनजस्ता विषयमा जनचेतना कार्यक्रम, उच्च रक्तचाप, मधुमेह, दृष्टि तथा दन्त परीक्षणजस्ता निशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछन्।
यसका साथै, बी एण्ड सी अस्पतालमा उपचारका क्रममा क्लबका सदस्यहरू र तिनका परिवारजनले विशेष छुट पाउनेछन्। कार्यक्रमलाई प्रभावकारी बनाउन क्लबका नेताहरूलाई संयोजन भूमिकामा राखिनेछ भने स्वास्थ्य सेवाको पहुँच बढाउन मोबाइल मेडिकल टोलीमार्फत परीक्षण गरिने योजना पनि रहेको छ।
क्लबका सदस्यहरूलाई स्वास्थ्य दूतको रूपमा तालिम दिइनेछ जसले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न सहयोग पुर्याउनेछ।
सहकार्यमा आधारित यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गतको एक अनुकरणीय पहलका रूपमा स्थापित हुने विश्वास लिइएको छ, जसले समुदायको समग्र स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बी एण्ड सी अस्पतालका प्रतिनिधिहरू सन्जय थापा, गोविन्द खनाल, सुरज कार्की, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, पहिले पाइला नेपाल दमक शाखाका उपाध्यक्ष लवराज खड्का, पहिले पाइला नेपाल दमक शाखाका अध्यक्ष , जीवन चक्र समाज दमकका सचिव गडेश प्रदानलगायत क्लब हिमालयन टाइगरका सदस्यहरूको उपस्थिति रहेको थियो।