दमक । झापासहित देशभर एकाएक चिसो र तुषारो बढेको छ । बुधबार विहानैदेखि चिसो बढेपछि आम सर्वसाधारणको जनजीविन प्रभावित तुल्याएको छ । बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरु बढी प्रभावित बनेका छन् ।
अन्तराष्ट्रिय नव वर्षको कारणले बजार, हाटहरुमा रौनकता देखिएपनि विभिन्न ठाउँहरूमा बालबालिका, वृद्धवृद्धाहरू आगो तापिरहेका छन् । चिसो बढे पनि अस्पतालमा भने बिरामीको चाप कम देखिएको छ ।
चिसो बढे पनि नववर्षको कारणले आज बुधबार बिरामीको चाप कम देखिएको हुन सक्ने बताउनुहुँदै चिसोमा न्यानो भएर घरमा नै बस्न सबैलाई आग्रह गरे ।
चिसो मौसममा रुधाखोकी, निमोनिया लगायतका रोगहरू लाग्ने र सोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरू प्रभावित हुने भएकोले उनीहरूलाई न्यानो लुगा लगाइदिने, झोलिलो खानेकुराहरू चिकित्सकको भनाई छ ।
चिसोबाट प्रभावित हुने समुदाय, व्यक्तिहरूको पहिचान गरी वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण तथा न्यानोको लागि उनीहरूलाई सिरक, कम्बल लगायतका वितरणहरू गर्न आवश्यक रहेको पनि औंल्याइएको छ ।
विगतमा पनि पालिकाहरूले सिरक, कम्बलहरू वितरण गर्नुका साथसाथै दाउरा समेत वितरण गरेको बताउँदै एक्कासी चिसो बढेकाले पालिकाहरूले वितरण गरेको वा प्रभावित भएकोबारे जनकारीसहित निरन्तरता दिन आवश्यक रहेको छ ।
पश्चिमी चिसो हावाका कारणले तापक्रम तल झर्दै गएको देखिएको छ । चिसोको कारणले बजारमा चहलपहलमा कमी देखिएको छ भने कार्यालयहरूमा सेवाका लागि आउने सेवाग्राहीको उपस्थिती पनि पहिलेभन्दा न्युन देखिने गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार ‘तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ’, मौसमविद् अधिकारीले भने । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए ।
कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, बुधबार सबभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ ।
सर्तकता अपनाउन विभागको आग्रह
चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
विभागले देशका केही भूभागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो ।
अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु–कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।