राजनीति समाचार

विपतको बेला आवेगले होइन विवेकले काम गर्नु – प्रवक्ता शर्मा

दमक,४ कार्तिक /   नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा संगै नभएपनि संकटमा संगै रहने नेपालका राजनीतिक दलहरुको संस्कारलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् ।
कोरोनाको संकट आउँदा प्रतिपक्षमा रहेको कांग्रेसले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राहत कोषमा पचास लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गर्दै नेता शर्माले पछिल्लो समय बाढी पहिरोका कारण देशमा परेको संकटमा दलीय एकता वन्न जरुरी भएको औल्याए ।
आज दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाटमा नेता शर्माले यो विपतको बेला आवेगले होइन विवेकले काम गर्नुपर्ने सुझाए । दुई दिन अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले सात दिनमा सरकार ढाल्न सक्छौं भनेर दिएको अभिव्यक्तिलाई उनले अस्वभाविक भनि टिप्पणी समेत गरे । उनले भने, –‘सरकार बनेको एक बर्ष सम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने संबैधानिक व्यवस्थाका बिषयमा समेत पूर्व प्रधानमन्त्री ओली जानकार नहुनु अचम्चित भए । ’
कांग्रेस नेतृत्वको वर्तमान सरकार गठनको सय दिन पूरा भएको प्रसंग समेत जोडदै उनले यो सरकारले पहिलो प्राथमिकता कोरोना विरुद्धको खोपलाई राखेर अघि बढेको र अधिक नेपालीले खोप लगाइसकेको दावी गरे । अझै पनि सरकारको प्राथमिकतामा नै खोप रहेकोले खोप लगाउने प्रकृया पूरा नभए सम्म निरन्तर चल्ने उनले बताए ।
देशभरको तुलनामा प्रदेश एकमा बर्षा र हावाहुरीको प्रभाव धेरै परेको भन्दै नेता शर्माले किसानहरुको धानबालीमा पुगेको क्षतिको विवरण संकलन गरेर सरकारले किसान लक्षित राहतको प्याकेज ल्याउने पनि माग गरे । सरकारले मृतकका परिवार र बाढी विस्थापित परिवारलाई नगद राहतको घोषणा गरिसकेको भन्दै उनले किसानले धानखेतीमा ब्यहोर्नुपरेको नोक्सानीलाई आधार बनाएर राहतको प्याकेज ल्याउनु पर्ने उनले जनाए ।
यूनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेतृ तथा संघीय संसद महेन्द्रकुमारी लिम्बू, कांग्रेस जिल्ला उपसभापति राम कट्टेल, सचिव प्रेम सम्बाहाम्फे, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, कांग्रेस दमकका सभापति प्रकाश प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

You may also like