दमक/ झण्डै दुई वर्ष अघि धरानमा विमानस्थल बनाउने कि नबनाउने भन्ने बारेमा धरानका मेयर हर्क सम्पाङ् र तत्कालिन पर्यटन मन्त्री सुदन किराती विच जुहारीनै चल्यो । साम्पाङ् जसरी पनि धरानमै बिमानस्थल बनाउन चाहन्थे र तर किराँती सरकारलेनै बनाएको अध्ययन समितिको निश्कर्ष भन्दा बाहिर जाने स्थितिमा थिएनन् । त्यसैले कोशी प्रदेशकै हुनुका कारणले पनि मन्त्री किरातीले बढि खप्की सहनु प¥यो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले धरानमा एयरपोर्ट बनाउन उपयुक्त नभएको निष्कर्ष निकालेको थियो करिब तीन महिना लगाएर अध्ययन समितिले दिएको निष्कर्षमा धरानमा एयरपोर्ट बनाउँदा विद्यमान हवाई निजी २०६३ अनुसार तराई तथा मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलको दुरी कम्तीमा ४० नर्टिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने उल्लेख गरेको छ। धरान र विराटनगर एयरपोर्टको दुरी ४० नर्टिकल माइलभित्र नै पर्छ । यस्तै, आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक स्थितीले गर्दा वान वे एप्रोज मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको पनि निष्कर्ष छ। यसैगरी अन्य विविध टेक्निकल तथा अपरेसन कन्स्ट्रेन्सले गर्दा उक्त ठाउँ विमानस्थल बनाउन फिजिबल नरहेको निष्कर्ष पनि अध्ययन समितिले निकालेको छ । धरानमा बिमान स्थल नबन्ने कुरा मात्रै होईन, बनेका धेरै बिमान स्थलहरु पनि ठप्प छन् । ति बिमान स्थलहरुमा उडान नहुँदा कति गौरणमा परिणत भएका छन्, कतिका संरचना खण्डहर बनि सके ।
के छ अवस्था ?
देशभर रहेका ५५ विमानस्थलमध्ये ३४ विमानस्थल सञ्चालनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक् अनुसार अन्तर्राष्ट्रिय विमानस्थल, हब विमानस्थल र अन्य आन्तरिक विमानस्थलसमेत गरी सो बराबरका एयरपोर्ट सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय विमानस्थलतर्फ त्रिभुवन विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालनमा छन् । त्यसबाहेक विराटनगर र नेपालगञ्जलाई हब एयरपोर्टको रूपमा विकास गरिएका छन् ।
बाँकी ३९ विमानस्थल आन्तरिक विमानस्थलको रूपमा छन् । यसमध्ये कोशी प्रदेशमा १० वटा, मधेस प्रदेशमा ३ वटा, बागमती प्रदेशमा २ वटा, गण्डकी प्रदेशमा एउटा, लुम्बिनी प्रदेशमा २ वटा, कर्णाली प्रदेशमा ६ वटा र सुदूरपश्चिम प्रदेशमा ४ वटा छन् ।
कोशी प्रदेशको अवस्था
कोशी प्रदेशमा विराटनगर हब विमानस्थलको रूपमा रहँदा झापाको चन्द्रगढी, संखुवासभाको तुम्लिङटार, भोजपुर, इलामको फाल्गुनन्द सुकिलुम्बा, सोलुखुम्बुको लुक्ला र फाप्लु, ताप्लेजुङ, खोटाङको तामाखर्क र ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले सञ्चालनरत अवस्थामा छन् । सुकिलुम्बमा पनि नियमित उडान हुन सक्दैन भने सुकेटारमा पनि मौषमी प्रभाव बढि पर्ने गरेको छ ।
कोशी प्रदेशकै सोलुखुम्बुको काँगेलडाँडा, ओखलढुंगाको खिँजी चण्डेश्वरी, खोटाङको लामिडाँडा र सोलुखुम्बुको स्याङ्बोचे विमानस्थल अहिले सञ्चालनमा छैनन् । अवस्था कोशीको मात्रै होईन, अहिले विभिन्न प्रदेशका २१ विमानस्थल बन्द अवस्थामा छन् । कोशीका ४ वटा, बागमतीका ३ वटा, गण्डकीका ४ वटा, लुम्बिनीको एउटा, कर्णालीको ३ वटा र सुदूरपश्चिमको ६ वटा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् ।