जेबी खड्का
गौरादह / तिहारमा नेपाली दिदीबहिनीले दाजूभाईलाई टीका लगाइदिएर मुख्य रुपमा सयपत्री फूलको माला गलाईदिने दिनको प्रतिक्षा गरिरहेका छन् । तर तिहार आउन अझै १५ दिन बाँकी रहँदा गाउँबस्तीमा भनें सयपत्री फूल ढकमक्क फुलिसकेको छ ।
तिहार पर्वलाई हिन्दु सहितका नेपालीले हर्ष उल्लास र मनोरञ्जनात्मक रुपमा मनाउँदा तिहारका हरेक कार्यमा सयपत्री फुलको नाम जोडिन्छ । तिहार आउनु अगावै सयपत्री फूल फुल्दा तिहारको बेला भनें यसको माला बनाउन नपाउने सम्भावना बढेको छ । भाइटीकाका दिन चेलीबेटीले माइतीलाई टीका लगाई सयपत्री फुलको माला लगाई दिने चलन छ । जब सयपत्री फूल ढकमक्क फुल्छ, तब तिहार आएको झल्को आउँछ । तिहार पर्वमा माला उनेर लगाइने सयपत्री फूल तिहार आउनु अगाडि नै फुलेपछि तिहारमा पूजापाठका लागि समेत अन्य फुल प्रयोग गर्नुपर्ने परिस्थिति सृजना हुने सम्भावना बढेको गौरादह -८ का टेकराज दाहाल बताउँछन् ।
कार्तिक महिनामा सयपत्री फूल फुल्ने र सोही समयमा तिहार पर्व पर्दा सयपत्री फुल र तिहारको सम्बन्ध जोडिदै आएको छ । असोज महिनामा दशैं र कार्तिक महिनामा तिहार पर्व पर्न जाँदा सयपत्री फूल ढकमम्क फुल्दा तिहार पर्व आएको झल्को आउथ्यो । यस बर्ष कार्तिक महिनाको अन्तिममा तिहार रहेकाले कार्तिक लाग्दै सयपत्री फूल फुलेर तिहारमा चाँही अभर पर्नसक्ने दाहालले दर्शाए । तिहारमा दिदी वहिनीहरुले दाजुभाइलाई टीका लगाएर सयपत्री फूलबाट तयार गरिएको माला लगाइदिने गर्दछन् । तिहार आएको संकेत गर्ने सयपत्री फुललाई देउसी भैलोदेखि पुजापाठसम्म प्रयोग गरिन्छ । कार्तिक महिना लागेपछि सयपत्री फूल आँगनमा फुल्दा घर आँगन नै उज्यालो हुने गर्दछ ।
बढी मात्रामा तिहारमा प्रयोग गरिने सयपत्री फूल दशैं लाग्दै फुलेपछि तिहारमा सयपत्री फुल नपाइने सम्भावना भएको गौरादह – ७ का शंकर अधिकारी बताउँछन् । यस बर्ष दशैं र तिहार दुवै पर्व कार्तिक महिनामा पर्नजाँदा सयपत्री फूल दशैं लाग्दै फुलेको छ । कार्तिक महिनाको सुरुमा दशै र अन्तिममा तिहार पर्व परेको छ । यो बर्षको तिहारको भाइटीका कार्तिक २९ गते परेको छ । तसर्थ, कार्तिक लाग्दै फुलेको सयपत्री फूल भाईटीकासम्म नरहन सक्ने सम्भावना पनि बढेको छ । गत बर्ष कार्तिक १० मा भाइटीका परेको थियो ।
तिहार पर्वमा सयपत्री फूलको बिशेष महत्व रहेको छ । यमपञ्चकका रुपमा पाँच दिन रमाइलोसँग तिहार मनाउने गरिन्छ । पाँचै दिन सयपत्री फूलको काम आउँछ । काग तिहार देखि भाइटीकासम्म पाँच दिन सम्मका पुजा पाठमा सयपत्री फूल चढाउने गरिन्छ । लक्ष्मी पुजा गरिसकेपछि साँझमा चेलिबेटीहरुले खेल्ने भैलो र गोवर्धन पुजाको दिन पुरुषहरुले खेल्ने देउसीमा पनि सयपत्री फुल जोडिन्छ । झापाको पश्चिमदक्षिण क्षेत्रमा फुलको व्यवसायीक खेती कसैले पनि नगरेको र आफुलाई चाहिने मात्र लगाउने गरेकाले सयपत्री फुल तिहार अगाडि फुल्दा तिहारमा फुलको अभाव हुन सक्ने गौरादह – ३ का इन्द्रबहादुर कटुवाल बताउँछन् ।
यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । पात्रो हेरेर फूल नरोप्नेहरु समस्यामा परेका छन् । सामान्यतः असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ । फूल चाँही अरु बर्ष जस्तै छिटै रोपेको अवस्थामा यसपालिको भाइटीका अघिल्लो बर्ष भन्दा ढिला भएकाले अगाडि नै सयपत्री फुलिसकेको देखिएको छ ।
यस विषयमा कृषि ज्ञान केन्द्र ललितपुरकि सूचना अधिकारी कृषि अर्थ विज्ञ क्रान्ति राईले जात अनुसार सयपत्री चाँडो र ढिलो फुल्ने समेत हुने जनाइन् । ४५ दिनदेखि ९० दिनसम्ममा फुल्नेखाले सयपत्री फूल पाइने गरेको बताइन् । उनले तिहार ढिलो परेको हुँदा अलि ढिलो फूल रोप्नुपर्ने भनाइ राखिन् । उनले जलवायू परिवर्तनको असरले छिटो फुलेको भन्ने चाँही हालसम्म सयपत्रीमा पुष्टि भइनसकेको बताइन् । तर पहिले स्थानीय जातको सयपत्री ९० दिनको हाराहारीमा फुल्ने गरेको भएपनि हाल हाइव्रिड जातका सयपत्रीको विउ परे ४५ दिनतिरै फुल्ने अवस्था हुँदा विउको जात र समय ख्याल गरेर रोप्नुपर्ने सुझाव समेत दिइन् ।
फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले भनें स्थानीय जातको बीउ हालेको ७५ दिनमा सयपत्री फुल्न थाल्ने बताउँछन् । सयपत्री फूल नेपालको रैथाने नभई आयातित फूल भएको केसी बताउँछन् । सयपत्रीलाई ट्यागेटेस पनि भनिन्छ । यसलाई अंग्रेजीमा मेरिगोल्ड भनिन्छ । ट्यागेटेसको व्याख्या कार्ल लिनायुसले सन् १७५३ मा गरेको पाइन्छ । यो सूर्यमुखी परिवारअन्तर्गतको फूलमा पर्छ । यो फूल धेरै प्रजातीको हुन्छ । नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतराद्र्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा उल्लेख छ ।