दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा देशका विभिन्न भागमा विरोध प्रदर्शन भएका छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरी लगायत देशका विभिन्न भागमा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दै राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्रिएको आरोप पनि लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई डाम्नका लागि राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको बताएका छन् । शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत इगो साँध्न लामिछानेलाई पक्राउ गरिएको बताएका हुन् । दुई दिन भएपनि जेल कोचेर छाड्छु भनेर रवि लामिछानेसँग वर्तमान सरकारले इगो साँधेको उनको आरोप छ ।
‘हामीलाई भरोसा छ, न्यायलय कार्यपालिकाका यी बदमास नेताहरुको प्रभावमा पर्नेछैन, दवाबमा पर्ने छैन । भेदभाव गर्नेछैन भन्ने आशा अन्तिम भरोसा हामीलाई छ । अनुसन्धानका लागि, केही दिनका लागि रविजीलाई हिरासतमा राखिएको आशा पनि उनले बाँडे ।
यसैगरी रास्वपाका उपसभापति डिपी अर्यालले सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको सोही कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन । पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उनले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताए । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड दिए ।
पार्टीका नेता तथा सांसद मनिष झाले रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकामा कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् । पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद भनेका हुन् । रवि लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनले बताए ।
लामिछानेको गिरफ्तारीप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बाबुराम भट्टराईको भनाई
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गिरफ्तारीप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बताएका छन् । आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्दोष कसैलाई पनि फसाइन नहुने बताए । उनले लोकतन्त्रमा विधिको शासन र पारदर्शिता हुनुपर्ने उनको भनाइ छ ।
‘जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभएपनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नु भएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ । हाम्रो पार्टीको धारणा चाहीँ के हो भने, लोकतन्त्र भनेको विधिको शासन हो । पारदर्शिता हुनुपर्छ । विधिको शासनमा चल्नुपर्छ । जो–कोही भएपनि कसैलाई पनि अन्याय गर्न मिल्दैन । कोही निर्दोष छ भने कसैलाई पनि फसाइनु हुँदैन,’– उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरु काठमाडौंमा पनि प्रदर्शनमा उत्रिएका छन् । आफ्नो पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै सो दलका नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
लामिछानेलाई काठमाडौंको पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरी सिआईबीको टोलीले शुक्रबार राति पोखरा लगेको थियो । पोखरामा प्रदर्शन सुरु भएसँगै यता काठमाडौंमा पनि प्रदर्शन गरिएको हो । रविका कार्यकर्ताहरुले सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । काठमाडौंमा भने रविका समर्थकहरु माइतीघर मण्डलामा भेला भएका थिए । रास्वपाका मुख्य नेताहरु भने हिजै राति पोखरा पुगेका हुन् । उनीहरु आज पोखरामा आयोजित विरोध प्रदर्शनपछिको कोणसभामा सम्बोधन गरिरहेका थिए ।
यसैगरी सुनसरीको इटहरीमा पनि ऐक्यबद्धता ¥याली निकालीको कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले बताएका छन् । उनका अनुसार इटहरीको दुर्गा पार्टी प्यालेसमा भेला भई इटहरी चोकमा आएर विरोध कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न गरेको बताएका छन् ।
यसैगरी सभापति लामिछाने पक्राउ परेको विरोधमा वीरगञ्जमा शनिबारै ¥याली निकालिएको छ । रास्वपा पर्साले वीरगञ्जको घण्टाघरबाट निकालेको ¥याली माईस्थान, आदर्शनगर, गीता मन्दिर हुँदै पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो । रास्वपा पर्साका सभापति हरि पन्तले शब्दको जालमा खेलेर घुमाउरो बाटोले लामिछानेलाई पक्राउ गरिएको बताए।
लामिछाने पक्राउको पत्र सभामुखलाई
सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।
नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।
एमाले नेता बाँस्कोटको टिप्पणी
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचन हुने टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा निर्वाचन हुने बताएका हुन् ।
कांग्रेसका गुरुङ र एमाले सांसद पोखरेललाई पक्राउ गर्न पुनको माग
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।
पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी
(रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए ।
पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाई थियो ।
‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछाने माथि जे गरिएको छ , धनराजलाई पनि त्यही होस् । प्रधानमन्त्रको पार्टीका सांसद् पोेखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’