स्थानीय

जसले फेरिदियो ऋषीदेव परिवारको जीवन

दमक, १५ माघ । शुष्मा ऋषीदेव आफ्ना तीन सन्तान लिएर काम खोज्दै मोरङको बिराटनगरबाट झापा आइन् । यता आएपछि के कसो गर्ने कुनै भेउ थिएन ।

दोधारकै अवस्थाबीच झापास्थित कमल गाउँपालिका वडा नम्बर ३ केराधापमा देवी (डेभिड) आचार्यको घरमा पुगिन् उनी । त्यो बेला दशैको समय थियो । आचार्यको परिवार दशैमा पारिवारिक जमघटमा भएकाले काम सघाउने मान्छेको अवाश्यकता पनि थियो । त्यो बेला ऋषिदेवले तीन दिन त्यहीँ काम गरिन् । त्यहाँ काम गरुञ्जेल खान र बस्नको समस्या भएन । कार्जे सकिएपछि केही दाम हाजिरा पनि आयो । तर अव कहाँ जाने भन्ने समस्या उनमा कायमै थियो ।

त्यहाँ बसुञ्जेल आचार्यको घरमा काम गरेपछि परिवारका सदस्यहरुसग केही बातचित पनि भयो । आचार्य परिवारका .जेठो छोरा देवीले शुष्माको अवस्था बुझे । बास बस्नै समस्या भएको मान्छेलाई घरबाट कहाँ जा… भन्नु ? भनेर आचार्य परिवार पनि धर्मसंकटमा पर्यो । निस्केर जानु भन्न पनि मानवीयताले दिएन । यी दुवैको दुविधा र संकटको समाधान आचार्य परिवारले नै निकाले । घरदेखि पूर्वपट्टि रहेको आचार्य परिवारको खेतमा एउटा कटेरो बनाएर ऋषीदेव बस्दै गर्ने । बस्नकालागि आवश्यक पर्ने आधारभूत आवश्यकता आचार्य परिवारले नै पूर्ति गर्ने कुरा भयो । त्यही अनुरुप अहिले ऋषिदेवले बस्ने बास पाएपनि कामको प्रवन्धको अर्काे समस्या थियो ।

उनीहरुलाई दिगो आम्दानीको श्रोतसँग जोड्न पनि पर्यो । र पो उनीहरु पनि सहजै जीउन सक्छन् । आफ्ना छोराछोरी पढाउन सक्छन् । जसकालागि आचार्यले नै दुई माउ बाख्रा खरिद गरिदिए । गाउँमा चरनको समस्या नहुने र यसले अन्य पाठा पाठी जन्माएपछि त्यसको बिक्रिबाट परिवारले जिविकाको माध्यम बनाउन सक्छ भन्ने भएर बाख्रा खरिद गरिदिइएको देवीले बताए ।

यतिमात्र नभएर ऋषिदेवका ३ जना छोराछोरीलाई नै कक्षा १२ सम्म अध्ययन गर्न लाग्ने सबै खर्चको व्यवस्था पनि आचार्य परिवारले नै गरिदिएका छन् । आवश्यक पर्ने शैक्षिक सामाग्री, पोशाक सहितको शुल्कको व्यवस्था गरिएको छ ।

देवी अमेरिका बस्छन् । उनी त्यहाँ रहेको एचडीएनपी इन्टरनेशनल सस्थामा आवद्ध छन् । ऋषीदेव परिवारलाई बस्ने बासको व्यवस्था गर्नेदेखि दिगो आम्दानीको श्रोत जुटाउन र छोराछोरी पढाइदिनेसम्मको आर्थिक स्रोत चाहीं आचार्यले एचडीएनपी इन्टरनेशनल मार्फत नै गराएका हुन् । देवीले ऋषिदेव परिवारसँग निरन्तर कुरा गर्न, समस्या बुझ्न, आवश्यकता बारेमा थाह पाउन ‘स्मार्ट फोन’को पनि प्रवन्ध गरिदिइएका छन् । यी सबैको व्यवस्था गराउन भन्दै आचार्यको परिवार सहित एचडीएनपी इन्टरनेशनलका नेपाल नेपाल संयोजक मीलन आचार्य सहितको टोली ऋषिदेव कहाँ आइपुग्यो । अहिले कठ्याङग्रीदो जाँडो भएकोले तीन जना छोराछोरीलाई न्यानो कपडा पनि दियो ।

यी सबै सहयोग पाएपछि अहिले ऋषीदेव परिवार खुसी छ । यी सहयोगबाट ऋषिदेव परिवारको व्यवस्थापन भएको विश्वास सस्थाको छ । ‘हामीले पीडामा परेको परिवारलाई यत्तिको सहयोग पुर्याउन सक्दा अनि परिवार जिविकोपार्जनको क्रम बढ्दा निकै खुसी लागेको छ ।’– मीलनले भने । शुष्माका श्रीमान अर्जुन ऋषिदेवले पनि ट्रयाक्टर चालकको काम पाएपछि परिवार चलाउन अलि सजिलो भएको छ । सो संस्था यस्तै दीनदुखीहरुको साहरा बनेर दक्षिण एशिया, यूरोप, अमेरिका र अफ्रिकाका देशहरुमा काम गरिरहेको छ ।
तस्वीर ः भूमिराज पराजुली

You may also like